प्रधानमन्त्री कार्कीले भनिन्- ‘भारतमा न्यायाधीश मन्त्री भएका छन्, यहाँ असामान्य परिस्थितिमा हुँदा किन प्रश्न ?’

प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता : 'यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुबालाई पनि लगेर खोरमा थुन्न तयार छु । त्यो दृढताका साथ हामी अघि बढेका छौँ ।'

कार्तिक १२, २०८२

जयसिंह महरा

Prime Minister Karki said, ”In India, judges have become ministers. Why question this when the situation is unusual here?”

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश प्रधानमन्त्री तथा मन्त्री हुँदा उठेका प्रश्नप्रति असन्तुष्टि जनाएकी छन् ।

कार्कीले भारतमा पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश मन्त्री र सांसद बनेको उदाहरण उल्लेख गर्दै नेपालमा असामान्य परिस्थितिमा प्रधानमन्त्री र मन्त्री बन्दा किन प्रश्न उठेको भन्दै प्रतिप्रश्न गरेकी छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलका नेता र जेन–जी प्रतिनिधिसँगै आफ्नो मन्त्रिपरिषद्का सदस्यलाई राखेर प्रधानमन्त्री कार्कीले उक्त प्रश्न गरेकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश हुन् भने सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा मन्त्री छन् । सर्वोच्च अदालतमा पनि पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीश प्रधानमन्त्री तथा मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था उल्लेख गर्दै कार्कीमाथि प्रश्न उठेको छ । बुधबारबाटै कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बहस सुरु भएको छ । 

बालुवाटार बैठकमा एमालेले सरकार संविधानको व्यवस्था विरुद्धमा भएको कुरा उठाएको थियो । एमालेका महेश बर्तौलाले असंवैधानिक सरकारले संसद् विघटन गरेको कुरा उठाएका थिए । असंवैधानिक सरकारले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना गरेर वर्तमान राजनीतिक संकट समाधान गर्नुपर्ने बर्तौलाको भनाइ थियो । जवाफमा प्रधानमन्त्री कार्कीले भारतको उदारण दिएको हुन् । नेपालको संविधानले भने पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशलाई प्रधानमन्त्री र मन्त्री लगायतका पदमा जान रोक लगाएको छ । 

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारमाथि संवैधानिक प्रश्न उठेपछि भनेकी थिइन्, 'यहाँ न्यायाधीशका कुरा पनि उठे । संसद् विघटनमा भएका निर्णयका पनि कुरा आए । के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन् । यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न ? अचम्म छ ।'

प्रधानमन्त्री कार्कीको सचिवालयले दिएको जानकारी अनुसार पूर्वन्यायाधीश सिन्हाको प्रसंग पनि उठाएकी थिइन् । 'अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ । उहाँजस्तो इमानदार र बझेको मान्छे हुँदा धेरै काम सहज भएको छ,' उनले भनेकी थिइन् ।

कार्कीले सरकारले राम्रो काम गरिरहेको र आगामी दिनमा पनि त्यस्ता काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् । 'हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ । कति त समातिसकेका छन् । कतिलाई समात्दै छौँ । यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुबालाई पनि लगेर खोरमा थुन्न तयार छु । त्यो दृढताका साथ हामी अघि बढेका छौँ,' कार्कीको भनाइ थियो । 

सरकारमा चुनाव केन्द्रित रहेको पनि कार्कीको भनाइ थियो । 'हामी चुनावमा केन्द्रित छौँ । प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौँ । कामको प्रगति विवरण लिन्छौँ । समस्याहरु फुकाउन लागिपरेका छौँ । अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ,' कार्कीले राजनीतिक दलका नेताहरूलाई भनेकी थिइन्, 'प्रहरीको मनोबल पनि बढ्छ । भागेका कैदीबन्दीहरू पनि समातिन्छन् । ३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु । भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ । किनकि, हामी सपार्ने दिशामा छौँ ।'

सम्बन्धित समाचारहरूः

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully