सरकार, राजनीतिक दल र जेन–जी समूहहरूबीच निरन्तर छलफल हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गरिन् ।

कार्तिक १२, २०८२

रासस

There should be continuous discussions between the government, political parties, and Gen-G groups: Prime Minister

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गरिन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले संवादको सुरुआतमा भनिन्, 'सबै विचारको आदानप्रदान गरौँ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन  । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुआत गरेका छौँ र यसलाई निरन्तरता दिऔँ ।' निर्वाचनको माहोल बनाउन यस प्रकारको पहिलो र महत्त्वपूर्ण छलफल प्रधानमन्त्री कार्कीले राखेकी हुन् । 

छलफलमा सहभागी जेन–जी समूहका प्रतिनिधिले चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र नहुने तर्क गर्दै आन्दोलनको मुख्य माग सुशासन भएकाले भ्रष्टाचारविरुद्धको कारबाहीको काममा सरकारले उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिएका थिए । छलफल उठेका विषयवस्तु र निचोडबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रेस ब्रिफिङ गरेका छन् ।

बैठकमा सरकारकोतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा। महावीर पुन र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल, दलका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत र जेनजीको तर्फबाट मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन रानामगरको सहभागिता रहेको थियो ।

रासस

Link copied successfully