सरकारलाई जेन-जी प्रतिनिधिले भने - चुनाव र भ्रष्टाचारविरुद्धको कारबाही सँगै अगाडि बढ्नुपर्छ

'चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव-चुनाव भनेर मात्र हुँदैन'

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Gen-G representative tells government - Elections and anti-corruption campaign must go hand in hand

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल र जेन-जीका प्रतिनिधिबीचको छलफलमा चुनाव र सुशासनका विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सरकार, राजनीतिक दल र जने-जी प्रतिनिधिबीचको छलफलमा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको हो । फागुन २१ का लागि घोषणा गरिएको निर्वाचन कसरी सम्पन्न गर्ने र जेन-जीले उठाएका मागलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल भएको हो । 

प्रधानमन्त्री कार्की र राजनीतिक दलका प्रतिनिधिहरूलाई जेन-जीका प्रतिनिधिले भने चुनावसँगै सुशासन ल्याउनुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने कार्यलाई पनि अगाडि बढाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेन-जी प्रतिनिधिले भनेका थिए, 'चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव-चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो, यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ ।'

बालुवाटारमा भएको वार्तामा जेन-जीका तर्फबाट रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल, पुरुषोत्तम यादव, मिराज ढुंगाना, अमित खनाल, रिजन रानामगर, सामना घर्ती, मोनिका, उपार्जुन चाम्लिङ, खेम साउँद, भोजविक्रम थापा (सहिद परिवार प्रतिनिधि), अभिषेक श्रेष्ठ (घाइते प्रतिनिधि), विवेक ढकाल, सागर ढकाल सहभागी छन् । 

प्रधानमन्त्री कार्कीले भने सबै पक्षबीच संवादलाई निरन्तरता दिनुपर्ने बताएकी थिइन् । 

कान्तिपुर

Link copied successfully