बालुवाटार बैठकपछि सञ्चारमन्त्रीले भने– ‘अब चुनावको माहोल बन्यो’

‘औपचारिक रुपमा आमनेसामने भएर जेन–जी प्रतिनिधि र राजनीतिक दलबीचमा जुन संवाद हुन सकेको थिएन, त्यो अवस्थामा अन्त्य भएको छ । र, अब मुलुकको बाटो अझै सहज हुने सरकारले महसुस गरेको छ ।’

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

After the Baluwatar meeting, the Minister of Communications said, ”The election atmosphere is now set.”

काठमाडौँ — सञ्चारमन्त्री जगदीश खरेलले सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच भएको पहिलो छलफल उपब्धिमूलक र सौहार्दपूर्ण रहेको बताएका छन् । र, बालुवाटार बैठकपछि अब चुनावको माहोल बनेको प्रतिक्रियासमेत उनले दिएका छन् ।

राजनीतिक दल र जेन–जी प्रतिनिधिमा संवादहीनताको अवस्था रहेकामा बुुधबार सकरात्मक कुराकानी भएको भन्दै उनले भने, ‘औपचारिक रुपमा आमनेसामने भएर जेन–जी प्रतिनिधि र राजनीतिक दलबीचमा जुन संवाद हुन सकेको थिएन, त्यो अवस्थामा अन्त्य भएको छ । र, अब मुलुकको बाटो अझै सहज हुने सरकारले महसुस गरेको छ ।’

नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव गराउन सहयोग गर्ने बताएको उनले भनेका छन् । नेकपा एमालेका प्रतिनिधिले पनि चुनावमा जाँदैनौं भन्ने नभएको भनेको भन्दै उनले भने, ‘तर, उहाँहरुले सुरक्षा र चुनावको वातावरण बनोस्, त्यो बनाउन सरकारले सक्छ कि सक्दैन भनेर प्रश्न गर्नुभएको छ ।’

जेन–जीका सबै प्रतिनिधिले सकरात्मक रुपमा लिएको र अब मुलुक सामान्यकरणतर्फ जाने सरकारले महसुस गरेको उनले बताए । 

छलफलमा सुशासन, भ्रष्टाचार नियन्त्रण र जेनजीले उठाएका विषयमासमेत कुराकानी भएको उनले बताए । जेन–जी प्रतिनिधिले समेत सुशासनको सन्दर्भमा उर्जाशील हिसाबले कुरा राखेको उनले बताए । जेन–जीले पनि राजनीतिक दललाई निषेध गरेको होइन भन्दै चुनावमा आउन आह्वान गरेको खरेलले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully