यो सरकार चुनाव गराउन सक्दैन, संसद् पुनःस्थापना गर्नुपर्छ : एमाले

प्रतिनिधिसभा असंवैधानिक र अराजनीतिक रूपमा विघटन गरिएकाले पुनःस्थापना गरेर अघि बढ्नुपर्ने आजको बालुवाटारको त्रिपक्षीय बैठकमा एमालेले माग गरेको हो ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

This government cannot hold elections, Parliament must be restored: UML

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार चुनाव गराउन नसक्ने भएकाले प्रतिनिधिसभा पुनःस्थापना गरेर राजनीतिक समस्याको समाधान निकाल्नुपर्ने एमालेले माग गरेको छ । 

प्रधानमन्त्री कार्कीले बालुवाटारमा बुधबार बोलाएको राजनीतिक दल, जेन–जी र सरकारबीचको छलफलमा एमालेका महेश बर्तौलाले उक्त कुरा राखेका हुन् । 

नेता बर्तौला निर्वाचनको कार्यादेश पाएको सरकार चुनाव गराउने तयारीमा नजुटेको बताएका थिए । उनले अहिलेको राजनीतिक संकट समाधानका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताएका थिए । 'निर्वाचनको कार्यादेश लिएर आएको सरकार हो तर आधारभूत तयारीमा जुटेको देखिएन । निर्वाचनका लागि सरकारले सुरक्षालगायतका काम गरेको देखिएन,' बर्तौलाले भनेका थिए, 'अहिले राजनीतिक शून्यता छ । अर्को संकटमा मुलुक गएको देखिन्छ । संविधान घाइते भएको र मुलुक अलोकतान्त्रिक रूपमा गइरहेकाले सबै राजनीतिक मुद्दाको हल संसद् पुनःस्थापनाबाट हुन्छ । भ्रष्टाचार अन्त्य, संविधान संशोधन, सुशासन कायम संसद्बाट गरौं ।'

अहिले संसद् पुनःस्थापना गरेर नयाँ जनादेशका लागि जान सकिने विषय आफूले राखेको बर्तौलाले जानकारी दिए । 'यो सरकारले निर्वाचन गर्न सक्दैन भन्ने लागेकाले नै संसद् पुनःस्थापनाबाट नै राजनीतिक प्रश्नको समाधान दिन सकिन्छ भन्ने कुरा राख्यौं,' बर्तौलले भने ।

प्रतिनिधिसभा असंवैधानिक र अराजनीतिक रूपमा विघटन गरिएकाले पुनःस्थापना गरेर अघि बढ्नुपर्ने बर्तौलाको भनाइ थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully