बालुवाटार बैठकमा वर्षमान पुनले भनेका थिए - 'जेन-जीको लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको प्रतिबद्धताप्रति पार्टी तर्फबाट उच्च सम्मान छ ।'
What you should know
काठमाडौँ — जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले संसद् विघटन गरी घोषणा गरेको फागुन २१ को चुनावमा जानका लागि सबै पक्ष सकारात्मक बन्नुपर्ने माओवादीले बताएको छ ।
प्रधानमन्त्री कार्कीले राजनीतिक दल, जेन-जी र सरकारबीच बुधबार आयोजना गरेको बैठकमा माओवादीले चुनावमा जान तयार रहेको बताएको हो ।
माओवादी नेता वर्षमान पुन र माधव सापकोटा सहभागी थिए । माओवादीले निर्वाचनमा जानका लागि सबै राजनीतिक दल, जेन-जी र सरकार सकरात्मक हुनुपर्ने धारणा राखेको थियो ।
माओवादीबाट पुनले जेन-जीका मागमा समर्थन रहेको बताएका थिए । 'सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेका वा आवाज उठाएका थियौं । त्यस कारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ । त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो,' पुनले भनेका थिए ।
सरकार निर्वाचनको लागि शान्ति सुरक्षा कायम गरी तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्नुपर्ने धारणा राखेको सापकोटाले जानकारी दिए । 'हामी निर्वाचनमा जान तयार छौं । सरकारले शान्ति सुरक्षा कायम गरी निर्वाचनको वातावरण बानाउनुपर्छ भन्यौं । निर्वाचनका लागि सबै सकरात्मक रूपमा जानुपर्छ भन्यौं । जेनजी र हाम्रा माग मुद्दा समान छन् । यसमा सकरात्मक ढंगले अगाडि बढौं । अहिले औपचारिक संवाद सुरु भयो यसलाई निरन्तर अगाडि बढाउनुपर्छ भन्ने सुझाव पनि दियौं,' सापकोटाले बताए ।
माओवादीले भ्रष्टाचार नियन्त्रण गर्न २०४६ पछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संयन्त्र बनाउने हो भने पार्टीको समर्थन र सहयोग रहने बताएको छ । 'जेनजी आन्दोलनका सम्भव मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ,' पुनले भनेका थिए, 'प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर हामी चुनावमा जान्छौं । हामी जेनजीसँग पनि चुनावी सहकार्य गर्न चाहन्छौं । हाम्रो तर्फबाट पनि जेनजीसँग निरन्तर संवाद जारी रहनेछ । जेनजीको लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको प्रतिबद्धताप्रति पार्टी तर्फबाट उच्च सम्मान छ । हामी जेनजी आन्दोलनको भावनाअनुसार आफूलाई रुपान्तरण गर्न पनि तत्पर छौं ।'
