निर्वाचन भनिरहँदा जेन-जीले उठाएका सुशासनका विषय नछुटुन् : थापा

आगामी संसद्ले सुशासनसँग जोडिएका मुद्दामा गर्नुपर्ने कामबारे जेनजी आन्दोलनकारी र राजनीतिक दलबीच बृहत्तर समझदारी बनाउनुपर्ने थापाको प्रस्ताव

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

While talking about elections, the issues of good governance raised by Gen-G should not be left out: Thapa

What you should know

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले आगामी फागुन २१ को निर्वाचनका विषयमा सरकार र राजनीतिक दलले छलफल गरिरहँदा जेन-जी आन्दोलनमा उठेको भ्रष्टाचार अन्त्य र सुशासन कायमको विषय ओझेलमा पार्न नहुने बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको राजनीतिक दल, जेन-जी र सरकारबीचको छलफलमा थापाले उक्त कुरा राखेका हुन् । 

बुधबारको बैठकमा थापाले निर्वाचनमा जानका लागि पार्टी प्रतिबद्ध रहेको पनि दोहोर्‍याएका थिए । उनले शान्ति सुरक्षाको विषय गम्भीर रहे पनि त्यसैलाई बहाना बनाएर निर्वाचनमा नजाने भन्ने कुरा नहुने बताएका थिए । थापाले बैठकमा बोलेका उल्लेख गर्दै भने, 'निर्वाचनमा जानका लागि कांग्रेस प्रतिबद्ध छ । शान्ति सुरक्षाका कुरा छन् तर सरकारलाई त्यो वातावरण बनाउनका लागि पूरा सहयोग गर्छौं ।'

फागुन २१ को निर्वाचनपछि आउने प्रतिनिधिसभाले सुशासन कायम र भ्रष्टाचार अन्त्यका बारेमा गर्नुपर्ने कामबारे राजनीतिक दल, जेन-जी र सरकारबीच केही प्रतिबद्धताको आवश्यक रहेको कुरा आफूले बैठकमा राखेको थापाले बताए । '२०६२/६३ को आन्दोलन अगाडि नयाँ संसद्ले गर्ने विषयवस्तुमा केही प्रतिबद्धता गरेका थियौं र सोहीअनुसार काम भए । यसपटक पनि भोलि आउने संसद्ले सुशासनसँग जोडिएका मुद्दामा जेन-जी आन्दोलनकारी र राजनीतिक दलबीच बृहत्तर समझदारी बनाउँ भन्ने प्रस्ताव राखेँ । जुन आगामी निर्वाचनपछि आउने संसद्ले पूरा गरोस्,' थापाले भने, 'अहिले निर्वाचन भनिरहँदा जेन-जी आन्दोलनमा उठेको सुशासनको विषय नछुटोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ ।'

थापाले निर्वाचनका लागि जेलबाट भागेका कैदी र प्रहरीबाट खोसिएका हतियारले सुरक्षा चुनौती थप्ने कुराप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका थिए । उनले निर्वाचन आयोगको क्षमता र फागुनमा निर्वाचन गर्दा मौसमले ल्याउने चुनौतीका विषय पनि राखेका थिए । 'प्रमुख निर्वाचन आयुक्त खाली छ । निर्वाचन आयोगको क्षमतामा पनि प्रश्न भयो । नेपालमा आजसम्म फागुनमा चुनाव भएको छैन, मौसमको कारणले । यो कुरालाई पनि सरकारले समयमै ख्याल गर्नुपर्छ,' थापाले भने ।

कान्तिपुर

Link copied successfully