अर्को सातादेखि बयान लिने कार्यतालिका, बयान लिनुपर्ने सूचीमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायत छन् ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएका घटनाको विवरण संकलन गर्न जाँचबुझ आयोगका पदाधिकारी देशका विभिन्न भागमा गएका छन् ।
देशभरबाट यो साता नै विवरण संकलन गर्ने तयारीका साथ आयोगका अध्यक्ष र सदस्यहरूको टोली काठमाडौं उपत्यका बाहिर गएको हो । त्यसपछि २३ भदौमा राज्यपक्षबाट बल प्रयोग गर्नेहरूको बयान थाल्ने आयोगको कार्यतालिका छ ।
‘२३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ का अध्यक्ष गौरीबहादुर कार्की बागमती प्रदेशको मकवानपुर र मधेश प्रदेशको पर्सालगायत जिल्लामा भएका घटनाको क्षतिको विवरण संकलनमा गएका छन् । आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भएका क्षतिको विवरण संकलन गर्ने भएका छन् । उनी कास्की, चितवन, रूपन्देही हुँदै बाँकेसम्म पुग्नेछन् ।
आयोगका अर्का सदस्य विशेश्वरप्रसाद भण्डारीको टोलीले कर्णालीको सुर्खेत हुँदै सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा भएका क्षतिको विवरण संकलन गर्नेछ । तीनवटै टोलीमा आयोगका कर्मचारी पनि संलग्न छन् । यी टोलीले सम्बन्धित जिल्ला, प्रदेश र स्थानीय तहमा भएका क्षतिका विवरण संकलन गर्ने, त्यहाँका सरकारी अधिकारीसँग छलफल गर्ने कार्यतालिका छ ।
अध्यक्ष कार्कीले आयोगको कार्यक्षेत्र तोकिएअनुसार नै देशका विभिन्न भागमा भएका क्षतिको विवरण संकलन गर्न पदाधिकारी नै गएको बताए । उनले सबै प्रदेशमा पुग्ने र बाँकी क्षेत्रमा भएको क्षतिको विवरण सरकारी संयन्त्र र सम्बन्धित निकायबाट मगाइएको जानकारी दिए । ‘आयोगलाई देशभरिको क्षतिको विवरण हेर्ने पनि जिम्मेवारी छ । काठमाडौंमा बसेर मात्रै क्षतिको अवस्था थाहा नहुने भएकाले तीन टोली बनाएर देशभर हिँडेका हौं,’ उनले भने ।
आयोगले पत्राचार गरेर माग गरेअनुसार संस्थागत र राज्यका विभिन्न निकायले विवरण पठाइरहेको कार्कीले जानकारी दिए । ‘सर्वोच्च अदालतले आफ्नो र मातहतका क्षति पुगेका अदालतको विवरण पठाउने भएको छ । गृह मन्त्रालय, प्रहरी, प्रदेशका संरचना र स्थानीय तहको पनि क्षतिको विवरण माग गरेका छौं । कतिपयको क्षतिको हिसाबकिताब यकिन भइसकेको छैन । क्षतिको हिसाबकिताब निकाल्न गाह्रो भएको भन्ने कुरा पनि आएका छन् । तर पालिका, प्रदेश र केन्द्रका सबै निकायको क्षतिको विवरण लिन्छौं,’ उनले भने ।
अर्को सातादेखि २३ र २४ भदौका घटनामा संलग्नहरूको बयान थाल्ने कार्यतालिका रहेको उनले जानकारी दिए । ‘काठमाडौंको बानेश्वरदेखि माइतीघर क्षेत्रमा खटिएका प्रहरी कमान्डरबाट बयान सुरु हुन्छ । उनीहरूको बयानमा जो–जो तानिन्छन् उनीहरूको पनि बयान लिन्छौं,’ कार्कीले भने ।
उनका अनुसार काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारीहरू, गृह सचिव, गृहमन्त्री रमेश लेखक हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी आयोगले गरेको छ । ‘काठमाडौं उपत्यका बाहिरका घटनामा जिम्मेवारहरूको पनि बयान लिन्छौं,’ कार्कीले भने ।
२४ भदौमा संसद्, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, होटल, मिडिया हाउस, भाटभटेनीलगायत सरकारी तथा निजी संरचनामा तोडफोड, लुटपाट र आगजनीको जाँचबुझ र संलग्नहरूलाई बयानमा बोलाउनेबारे भने आयोगले विधि बनाइसकेको छैन ।
यसबीच, जाँचबुझ आयोगको प्रशासनिक नेतृत्वमा परिवर्तन गरिएको छ । आयोगको प्रशासनिक नेतृत्वमा रहेका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बारामा प्रमुख जिल्ला अधिकारी रहेका प्रकाश पौडेललाई जाँचबुझ आयोगको नेतृत्वमा ल्याएका हुन् ।
५ असोजमा मन्त्रिपरिषद्ले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । यो आयोगलाई तीन महिनाभित्र प्रतिवेदन तयार पार्ने समयसीमा दिइएको छ । जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर, जेल तोडेर भाग्ने क्रममा, आगजनीमा परेर तथा प्रहरी गरी ७६ जनाको मृत्यु भएको थियो । ठूलो संख्यामा सरकारी, निजी र व्यापारिक संरचनामा लुटपाट र आगजनी भएको थियो ।
