आइतबार मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको आन्दोलन र प्रदर्शनको घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौँ — सरकारले भाद्र २३ र २४ गतेको जेन-जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनको घटनाको छानबिन गर्न गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले निष्पक्ष रूपमा छानबिन गर्ने बताएका छन् ।
आइतबार मन्त्रिपरिषद् बैठकले ३ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेपछि कान्तिपुरसँग कुराकानी गर्दै उनले दोषी किटान र कारबाही सिफारिस गरिने बताए ।
‘सरकारबाट कार्यादेश पाएपछि के कसरी काम गर्ने अझै स्पष्ट हुन्छ । न्यायिक आयोग भएकाले निष्पक्ष ढंगले काम गर्छौं,' उनले भने, 'कसले के त्रुटि गल्ती गर्यो किटान गरिन्छ । त्यो अनुसार सजाय तोकिन्छ ।’
कार्कीले आयोग सरकारले तोकेको कार्यादेशअनुसार नै अघि बढ्ने बताए । विशेष अदालतको पूर्वअध्यक्ष तथा पूर्व न्यायाधीश कार्की अध्यक्ष रहेको जाँचबुझ आयोग ऐन अन्तर्गत गठित आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विशेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् । आयोगलाई जाँचबुझ गरी प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।
