२३ र २४ भदौको आन्दोलन र प्रदर्शनमा सक्रिय भएका कतिपय संस्थामाथिको अनुदानबारे प्रश्न उठेपछि आयोगले अध्ययनका लागि विवरण माग गरेको अध्यक्ष गौरीबहादुर कार्कीले बताए ।
काठमाडौँ — भदौ २३–२४ को घटना जाँचबुझ आयोगले एक वर्षको वैदेशिक सहायताको विवरण पनि अध्ययन गर्ने उद्देश्यले विवरण माग गरेको छ ।
आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्राप्त गरेको विवरण माग गरेको हो । समाज कल्याण परिषद्बाट यस्तो विवरण उपलब्ध गराउन आयोगले पत्र लेखेको हो ।
२३ र २४ भदौको आन्दोलन र प्रदर्शनमा सक्रिय भएका कतिपय संस्थाहरूमाथिको अनुदानबारे कतिपयले सार्वजनिक रुपमा प्रश्न उठाएपछि आयोगले अध्ययनका लागि विवरण माग गरेको अध्यक्ष गौरीबहादुर कार्कीले बताए । जाँचबुझको लागि परिषद्बाट एक वर्षको अवधिको सहयोगको विवरण मागेका भन्दै उनले यसको अरु प्रयोजन नभएको बताए ।
कुनै निश्चित संस्था वा ठाउँ नभएर समग्र देशभरका संघसंस्थाहरूमा आएको सहायताको विवरण मागिएको कार्कीले बताए । आयोगले वैदेशिक सहायताको दुरुपयोग भएको हो कि हैन भन्ने विश्लेषण गर्न मागिएको जनाएको छ । आयोगले विवरण मागेपनि समाज कल्याण परिषद्मा वैदेशिक सहायताबाट सञ्चालित हुने गैरसरकारी संस्थाहरूको मात्रै विवरण राख्न्ने गरिन्छ । अरु विवरण जिल्ला प्रशासन कार्यालयमा हुने भएकाले त्यहाँबाट पनि माग्ने आयोगको तयारी छ ।
