प्रदर्शनकारीले ट्राफिक प्रहरीमाथि आक्रमण गरे, बर्दी खोल्न लगाए, ब्यारेकदेखि सेवा प्रदान गर्ने भवनसम्म तोडफोड र लुटपाट मच्चाए ।
What you should know
काठमाडौँ — गत भदौ २३ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहानको वातावरण सामान्य नै थियो । कार्यालय समयमा सेवाग्राही नियम उल्लंघनको जरिवाना तिर्न र लाइसेन्स–ब्लुबुकसम्बन्धी कामका लागि कार्यालय आउँदै थिए ।
केही ट्राफिक प्रहरी सडक व्यवस्थापनमा निस्कदै थिए । केही आफ्नो ड्युटी सकेर ब्यारेक फर्कंदै थिए । सडकमा जेन-जी आन्दोलनको तयारी चल्दै गर्दा कार्यलयको ध्यान सडक सहज बनाउनतिर देखिन्थ्यो ।
दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा गोली चलेपछि अवस्था एकाएक बदलियो । २ बजेपछि भने कार्यालयमा असहजता सुरु भयो । यद्यपि सम्भव हुने सेवा भने सञ्चालनमै थियो । भोलिपल्ट भने सम्पूर्ण सेवा बन्द भए । किनभने कर्फ्यु आदेश जारी भइसकेको थियो । परिस्थित थप जटिल बन्दै थियो ।
ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीसँग हातहतियार हुने कुरै भएन । २३ गते गोली चल्नुमा पनि उनीहरूको कुनै भूमिका पनि थिएन । ‘पुलिसिङ’ भन्दा केही टाढा रहने ट्राफिकप्रति प्रदर्शनकारीले आक्रोश नहोला भन्ने यहाँ कार्यरत सबैमा थियो ।
यद्यपि, प्रहरीकै एक हिस्सा ट्राफिक भएकाले सो दिन बिहान ५ बजेदेखि नै फ्रन्टलाइन प्रहरी सुरक्षा कवजसहित फोर्स आवश्यक पर्दा प्रयोग गर्ने गरी तयार पारिएको थियो । देशभर नै त्यो दिन बिहानैदेखि प्रहरीले उच्च सतर्कता अपनाएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरतमध्ये ७ बजेतिर करिब ८० जनालाई जाउलाखेल प्रहरी परिसर ललितपुरमा पठाइयो । यो कार्यालयमा ३ सय ट्राफिक थिए ।
बिहानको समयमा प्रदर्शनकारी कार्यालयअगाडि हुँदै अघि बढे पनि कुनै आक्रमण गरेनन् । भिडमा कोही आक्रामक त थिए, तर सम्झाउँदा मान्थे । बरु, कार्यालयबाटै पानी मागेर पिए । ट्राफिक प्रहरीले बोतल र जारमा पानी बोकेर गेटमै पुगेर उनीहरूलाई खुवायो । किनभने उनीहरु भित्र आउँदा जोखिम हुने डर प्रहरीलाई थियो । ११ बजेदेखि करिब १ बजेसम्म नै यो प्रक्रिया चल्यो ।
तर दिउँसो सिंहदरबार क्षेत्रमा आगो लागेपछि स्थिति बदलियो । नजिकै रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंमाथि पनि आक्रमण सुरु भयो। ‘पानी खुवाउने’ ती ट्राफिक प्रहरीमाथि नै भिडको आक्रोश फर्कियो । सिभिल पोसाकमा समेत कार्यालय वरिपरी प्रहरी थिए । उनीहरु प्रदर्शकारी बनेर सम्झाइरहेका थिए । तर, गेट र पर्खाल तोडेर प्रदर्शनकारी कार्यालयभित्र पसे । गेटभन्दा पहिला उनीहरुले कार्यालयको पर्खाल तोडेका थिए ।
३ बजे सिंह दरबारमा आगो लागेपछि पुगेको भिडले कार्यालयका सवारीसाधनसँगै भवनमा पनि आगो झोस्यो । सुरुमा ५० जनाको समूह कार्यालयभित्र छिर्यो । सुरुमा परिसरमा रहेको सवारीसाधनमा उनीहरुले आगो लगाए । त्यसपछि कोही प्रहरीको कोठामा छिरेर बर्दी लगाउन थाले ।
'म आफै त्यो दिन सिभिल पोसाकमा थिए । उनीहरुलाई सम्झाइबुझाइ गरेर पठाउन खोजेँ तर सकिनँ,' काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर दीपेन्द्रप्रसाद शाहले भने, 'सिंहदरबार जलाएर आएको टोलीले परिसरमा भएका सवारीसाधन जलाए । कोही हाम्रो प्रमुखको कोठामा पुगेर उहाको पोसाक लगाएर उपद्रो गर्न थाले ।' उनी बारम्बर सवारीसाधन, कागज नजलाउन अनुरोध गर्दै थिए । तर प्रदर्शनकारी रोकिएनन् । आगो झोस्न थाले ।
प्रदर्शनकारीले ट्राफिक प्रहरीमाथि आक्रमण गरे, बर्दी खोल्न लगाए, ब्यारेकदेखि सेवा प्रदान गर्ने भवनसम्म तोडफोड र लुटपाट गरे ।
प्रहरीले आफ्नो सुरक्षाका लागि गरेको हरेक प्रयास असफल भयो । अश्रुग्यासले पनि कुनै प्रभाव परेन । ट्राफिक नेतृत्वले पनि आफ्नो सुरक्षा आफै गर्न भनेपछि कोही प्रदर्शनकारीसँग हात जोड्दै कार्यालय नजिकैको खोलाको बाटो भागे । सुरुको समूहले आगो लगायो । पछि आएको अर्को समूहले लुटपाट गर्न थाल्यो । ४ बजेसम्म कार्यालय खण्डहरमा बदलियो ।
सेवाग्राहीका लाइन्सेन्स, ब्लुबुकसहित महत्त्वपूर्ण कागजात नष्ट हुने गरी कार्यालयमा तोडफोड र आगजनी भयो । सँगैको ट्राफिक एफएम पनि जल्यो । प्रदर्शनकारीले यसलाई आफ्नो बहादुरी ठाने । ट्राफिकको पोसाक लगाएर सडकमा हिँड्न थाले ।
सोही दिनको आक्रमणबाट प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीको कुटपिटबाट मारिए । सधैं अरूलाई सुरक्षा दिने प्रहरी त्यो दिन आफैं असुरक्षित भए । देशभरका प्रहरी संरचना र सवारीसाधन ध्वस्त भए । तर ध्वस्त भवन र लुटिएका सामग्रीबीच प्रहरीको सेवा फेरि पुरानै अवस्थातर्फ फर्किंदै छ ।
