कतिपय कर्मचारी भित्र काममै थिए, बाहिर हुलदंगा हुन थालेपछि ज्यान जोगाएर निस्किए । गेटमा रहेका सीमित सुरक्षाकर्मीले रोक्नै सकेनन्, एकैछिनमा तोडफोड र आगजनी सुरु भइहाल्यो ।
What you should know
काठमाडौँ — एमालेको विधान अधिवेशन भदौ २२ गते सकिए पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल तत्काल फर्किएनन् । २३ गते उनले प्रदेश र संघ मिलेर गर्नुपर्ने कामबारे संघीय मन्त्रालयहरुमा केही भेटघाट गरे ।
२३ गते साँझ नै फर्किने कार्यक्रम भए पनि जेन-जी आन्दोलनका कारण उनले हवाई टिकट २४ गते बिहानलाई सारे । काठमाडौंबाट फर्किएर मुख्यमन्त्री निवास आएका मुख्यमन्त्री कँडेलले केही समय सचिवालय र सुरक्षा निकायसँग प्रतिकूल अवस्थाबारे जानकारी लिए । ‘उहाँलाई यस्तो भयावह अवस्था आउला भन्ने अनुमानै थिएन,’ मुख्यमन्त्री सचिवालयका एक कर्मचारीले भने, ‘तर हामी र सुरक्षाकर्मीले अवस्था जटिल छ, हजुर सुरक्षित हुनैपर्छ भनेर कर गरेपछि नेपाली सेनाले व्यवस्था गरेको सुरक्षित स्थानतर्फ जान राजी हुनुभयो ।’
उनी एक दिन सेनाको सुरक्षामै बसे भने वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित आगजनी भएको निजी निवास जाँदा बुवा ९० वर्षीय मणिराम कँडेल उनलाई अँगालो हाल्दै धरधरी रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आगजनी हुँदा कँडेलका बुवा घरबाहिर रहेकाले उनी सुरक्षित थिए ।
भदौ २३-२४ को सेरोफेरोमा कर्णाली प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्बर खड्का कैलाश-मानसरोवर तीर्थयात्रामा थिए । वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित निवास २४ गतेको आगजनीका नष्ट भएपछि उनी मर्माहत छन् । गत वर्ष अस्पतालबाट निवृत्त उनले २०८० जेठ १६ गते सडक दुर्घटनामा पत्नी डा. सञ्जु खड्कालाई गुमाएका थिए ।
‘झन्डै ४१ वर्ष कर्णालीवासीको उपचार गरियो, तर त्यो नि:स्वार्थ सेवाको फल सञ्जुका सम्झनाहरु पनि नरहने गरी यत्रो क्षति पुर्याइयो,’ उनले भने, ‘राजनीति गर्नेको परिवारभित्रको मान्छे भनेर अराजक समूहले दाइ, भाइ र मेरो घर नै ध्वस्त बनाए, तर हामी विचलित भएका छैनौं, अझै पनि कर्णालीकै बिरामीको सेवा गर्न मन छ ।’ उनी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका भाइ हुन् । पूर्णबहादुर, डा. डम्बर र उनीहरुका भाइ विष्णुका तीनवटै घर आगजनीमा परेपछि अहिले आफन्तको घरमा बसिरहेका छन् ।
वीरेन्द्रनगरका व्यवसायी चेतन कँडेलका अनुसार अहिलेसम्म भएका विभिन्न आन्दोलनमा भएको सबैभन्दा ठूलो भौतिक क्षति यहीपल्ट भएको छ । २०४६ तथा २०६२/६३ को जनआन्दोलन र ‘अखण्ड मध्यपश्चिम’ आन्दोलनमा सक्रिय भूमिका खेलेका उनले अहिलेको भिड बढी आक्रामक देखिएको सुनाए ।
‘अघिल्लो दिन त हामीले पसल पनि खोलेका थियौं, सानोतिनो भिडले मात्र नाराबाजी गर्यो,’ घण्टाघरलाइनस्थित नवीन पुस्तक पसलका सञ्चालक उनले भने, ‘भोलिपल्ट विभिन्न वडाबाट आएको भिड ११ बजेतिर घण्टाघर लाइनतिर जम्मा भयो, सुरुमै एमाले, कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी भिड मुख्यमन्त्री कार्यालयतर्फ लाग्यो ।’
मुख्यमन्त्री कार्यालय, अख्तियार र विभिन्न मन्त्रालयमा केन्द्रित भएको प्रर्दशनकारीको भिडलाई उच्च सतर्कता अपनाएर आगजनी गर्नबाट रोकिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठले बताए । ‘उनीहरु त सबै मन्त्रालयहरुमा आगजनी गर्नकै लागि केन्द्रित थिए, तर सबैतिर पर्याप्त सुरक्षाकर्मी परिचालन भएकाले उनीहरुको प्रयास सफल भएन,’ उनले भने, ‘हाम्रो प्रयासले धेरै ठाउँ आगजनीबाट जोगियो, सबैजसो मन्त्रालयमा कर्मचारीहरु भित्रै थिए, आगजनी भएको भए मानवीय क्षति पनि हुन सक्थ्यो ।’
झन्डै ३ घण्टा मुख्यमन्त्री कार्यालय आसपास नाराबाजी गरेको भिडले नजिकैको नापी र प्रदेश कोष नियन्त्रक कार्यालयमा आगजनी गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको कम्पाउन्ड आगजनीबाट सामान्य क्षति भयो । मुख्यमन्त्री कार्यालयमा आगजनी गर्ने प्रयास सफल नभएपछि भिड वीरेन्द्रनगर नगरपालिकातर्फ मोडिएको अर्का स्थानीय व्यवसायी कमल शर्माले बताए । उनका अनुसार त्यहाँ पनि सुरक्षा व्यवस्था कडा पारिएकाले सामान्य तोडफोड मात्रै भएको थियो ।
झन्डै ४ देखि ५ बजेतिर भने प्रदर्शनकारीहरु मुख्यमन्त्री निवास र प्रदेशसभा सचिवालयतर्फ लागे । ‘कतिपय कर्मचारी त भित्र काममै थिए, बाहिर हुलदंगा हुन थालेपछि ज्यान जोगाएर निस्किए,’ प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, ‘गेटमा रहेका सीमित सुरक्षाकर्मीले रोक्नै सकेनन्, एकैछिनमा तोडफोड र आगजनी सुरु भइहाल्यो ।’ त्यहाँ आगजनी भएपछि मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, कांग्रेस उपसभापति खड्कासहित उनका भाइहरुको निवास, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ ढकालको निवासमा आगजनी गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
कार्यालयका अनुसार ६ बजेपछि भने वीरेन्द्रनगरका विभिन्न वडा कार्यालयमा आगजनी भएको थियो । आगजनीबाट भएको क्षतिको यकिन विवरण अझै नआइसकेको डीआईजी श्रेष्ठले बताए । ‘हाम्रो तर्फबाट मुचुल्का उठाउने काम भएको छ, वास्तविक क्षतिबारे प्राविधिक टोलीले मूल्यांकन गर्ला,’ उनले भने, ‘क्षतिग्रस्त स्थानमा थप क्षति हुन नदिन प्रहरी टोलीले निगरानी गरिरहेको छ ।’
२३ गते काठमाडौंमा ठूलो आन्दोलन भएकाले प्रदेश राजधानी वीरेन्द्रनगरका अधिकांश मन्त्रालयहरु तथा सरकारी कार्यालयहरु सुनसान देखिन्थे । सेवाग्राहीको चाप न्यून थियो । सुरक्षा निकायहरुले सम्भावित घटनाबारे ‘अलर्ट’ गराएकाले धेरैजसो मन्त्री र कार्यालय प्रमुख भने अनुपस्थित थिए । ‘२४ गते पनि आन्दोलन हुन्छ केही घटना हुनसक्छ भनेपछि कार्यालय जान नै सकिएन, अत्यावश्यक सेवाप्रवाहका लागि केही कर्मचारी त कार्यालयमै थिए,’ एक कार्यालय प्रमुखले भने, ‘हामी सुरक्षा निकायसँग सम्पर्कमै थियौ, दिउँसोतिर भिड चारैतिर बढ्न थालेपछि सुरक्षित स्थानमा बसियो ।’
अधिवक्ता दुर्गाप्रसाद सापकोटाले अहिलेसम्मकै उत्तेजित र आक्रामक भिड यो आन्दोलनमा देखिएको बताए । ‘सुरक्षाकर्मीले संयमता नअपनाएको भए धेरैजनाको ज्यान जान सक्थ्यो, क्षति पनि योभन्दा कति हो कति,’ उनले भने, ‘दिउँसोतिर सानोसानो झुन्डमा देखिएको प्रर्दशनकारीको समूह एकै ठाउँमा केन्द्रित भएर यसरी तोडफोड र आगजनीमा उत्रियो कि कसैले रोक्न सक्ने अवस्थै भएन ।’ प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनमा वीरेन्द्रनगरमा मात्रै ३८ वटा सार्वजनिक संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको छ ।
