भदौ २४ : कांग्रेस पार्टी कार्यालयमा भएको आगजनीमा ती साढे ६ घण्टा 

नेपालको नक्सामा लात्तीले हानेको डोबहरु देखिएका छन् । नक्सामाथि भएको त्यो अपमानले राष्ट्रिय चासो बढाएको छ । यद्यपि, क्रियाशील सदस्यताको डेटा सुरक्षित रहनुले महाधिवेशनको तयारीलाई राहत दिएको छ ।

आश्विन २२, २०८२

कुलचन्द्र न्यौपाने

August 24: Those six and a half hours in the fire in the Congress party office

What you should know

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले भदौ २४ गते ललितपुर सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आगजानी र लुपाट गरे । आगजनीबाट कार्यालयको अधिकांश भाग जलेर ध्वस्त भएको छ ।

ऐतिहासिक कागजपत्र, डिजिटल उपकरण र भौतिक संरचनाहरू नष्ट भएका छन् । नेपालको नक्सामा लात्तीले हानेको डोबहरु देखिएका छन् । नक्सामाथि भएको त्यो अपमानले राष्ट्रिय चासो बढाएको छ । यद्यपि, क्रियाशील सदस्यताको डेटा सुरक्षित रहनुले महाधिवेशनको तयारीलाई राहत दिएको छ । 

बिहान ११ बजेतिर प्रदर्शनकारीहरु कांग्रेस केन्द्रीय कार्यालयमा आइपुग्दा पार्टी कार्यालयमा सुरक्षा गार्डद्वय आकाश तामाङ र ध्रुव सेनमात्रै थिए । भुइँतलामा अवस्थित क्यान्टिनका कर्मचारी १० मिनेट अगाडि नै त्यहाँबाट निस्केका थिए । प्रदर्शनकारीहरुले लगाएको आगो राति १ बजेसम्म बलिरहेको थियो ।

‘यो कार्यालयमा मेरो जीवन बितेको छ । हेर्दाहेर्दै यति राम्रो भवन आगोले खरानी भइरहेको टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिएन,’ उनी भन्छन् । उनका अनुसार एकपटक मात्रै होइन, चार पटकसम्म प्रदर्शनकारीहरु आए । अघिल्लो समूहले बाँकी रहेका कोठा तोडफोड गरे र आगजनी गरेर सबै सके । अघिल्लो समूहले प्रवेशद्वार वरीपरी मात्रै आगो लगाएका थिए । त्यसपछि चरणबद्ध आएका समूहले कार्यालयको प्रत्येक तलामा आगो सल्काउँदै गए । पहिलो समूहपछि आएका अरु समूहले आगो मात्रै लगाएनन्, भएका राम्रा सामान र उपकरणहरु लुटपाट पनि गरे । घटनाका प्रत्यक्षदर्शी रहेका तामाङका अनुसार बिहान ११ बजेदेखि रातिसम्म भएको घटनाको विवरण । 

बिहान १०:५० बजे –

कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शनकारीको आगमन । कम्पाउन्डको एक नम्बर गेट (मुख्य प्रवेशद्वार) र दुई नम्बर गेट (कोरिडरतर्फ फर्केको प्रवेशद्वार) । बल्खुबाट जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूको पहिलो समूह लगभग ५०–१०० जना कार्यालयको गेट नजिकै आइपुगे । उनीहरूले हातमा मिनरल वाटर र सिसाका बोतलहरूमा पेट्रोल वा अन्य ज्वलनशील केमिकल भरेर बनाइएको पदार्थ बोकेका थिए । 

August 24: Those six and a half hours in the fire in the Congress party office

कार्यालयको सुरक्षामा सशस्त्र र जनपदका गरी ३०–३५ जना सुरक्षाकर्मी थिए । प्रदर्शनकारी नाराबाजीसहित एक नम्बर गेटमा सुरक्षाकर्मीको घेरा तोड्ने प्रयास गरे । कार्यालयभित्र दुई जना सुरक्षागार्डबाहेक कोही थिएनन् । क्यान्टिनका कर्मचारीहरू खाना खाएर १० मिनेटअघि निस्किसकेका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच एकछिन घम्साघम्सी भयो । 

बिहान ११:०० बजे – 

प्रदर्शनकारीको पहिलो आक्रमण कम्पाउन्डभित्र रहेको एउटा मोटरसाइकलमाथि भयो । त्यतिबेला प्रदर्शनकारीहरुको संख्या पनि बढ्दै गयो । ढुंगामुढा प्रहार गरिरहेका बेला एकजनाले पेट्रोल बमजस्तो हातमा भएको बोत्तल मोटरसाइकलमा फाले । मोटरसाइकल जल्यो । जल्दै गर्दा इन्धन ट्यांकी पड्कियो र आगो दन्दनी बल्न थाल्यो । त्यही बेला प्रहरीले केही टियर ग्यास प्रहार गरेर भीडलाई तितरबितर पार्ने प्रयास गर्‍यो । तर, आन्दोलनकारीहरूले पेट्रोल बम र ढुंगाले हानीरहे । प्रहरीलाई गोली हान्न आदेश थिएन । नसकेपछि प्रहरीले गेटबाट पछि हटे र आन्दोलनकारीहरु एक नम्बर गेटबाट भित्र पसे । 

बिहान ११:१५–११:४५ बजे–

प्रहरीसँग झडप र भवनको कम्पाउण्डमा प्रवेश गरेपछि पहिलो समूहले भित्रका सामानहरू (कुर्सी, टेबल, कागजपत्र) बाहिर निकालेर तोडफोड सुरु गर्न थाले । एक नम्बरको मेन ढोकामा पेट्रोल छर्केर आगो लगाए । बाहिर मोटरसाइलमा बलिरहेको आगोमा भित्रबाट सामानहरू ल्याएर फालिदियो । ढोका र आसपासको क्षेत्रमा आगो फैलिँदै गयो । प्रहरीले स्थिति नियन्त्रण गर्न नसकेपछि आफू आएका दुइवटा गाडीमा त्यहाँबाट निस्किए । त्यसपछि भवन पूरै प्रदर्शनकारीहरुको कब्जामा भयो । तल्लो तलाको मेन ढोका र प्रवेश क्षेत्रमा आगोले क्षति पुर्‍यायो । पहिलो टोलीले कम्पाउण्ड बाहिरका गमला र भित्र तोडफोड गर्ने काम बढी गर्‍यो । 

दिउँसो १२:००–१:०० बजे –

प्रदर्शनकारीको पहिलो समूह निस्किएको एक घण्टापछि दुई वटा समूह (प्रत्येक १००/डेढ सयको दरका दुई समूह) आइपुगे । उनीहरू दुई नम्बर गेट (कोरिडरतर्फको) तोडेर भित्र प्रवेश गरे । सेक्युरिटी कोठामा आगो लगाए । ढोका र भित्री सामानहरू (कागजपत्र, फर्निचर) जलाइयो । अत्याधुनिक डिजिटल सभाहलमा आगो सल्काइयो, जसले पूर्ण रूपमा जलेर नष्ट भयो । त्यसपछि कम्प्युटर कक्षमा प्रहार भयो, जहाँ मेन डकुमेन्टहरू राखिएका थिए । केही कम्प्युटरहरू उचालेर लगिए, कतिको हार्डडिस्क बोके । कति जलाइए । अनुशासन समितिको कार्यकक्षमा तोडफोड भयो । करिब ३० प्रतिशत कागजात मात्रै बचे । कोषाध्यक्षको कार्यकक्ष पूर्ण ध्वस्त भयो । सहमहामन्त्रीहरु भीष्म आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ र नेता शेखर कोइरालाको कार्यकक्ष आगजनी गरियो । भवनमा रहेका दुई कर्मचारीले आगो निभाउने प्रयास गरे । तर उनीहरुमाथि हातपात हुने अवस्था भएपछि नजिकै घरको छतमा लुकेर लागिरहेको आगो हेरिरहे । महामन्त्री गगन थापाको कोठामा तोडफोड गरे तर आगो लगाएनन् । पूर्व पदाधिकारीहरुको कोठामा तोडफोड गरे । 

दिउँसो २:००–३:३० बजे –

चौथो समूहको प्रवेश र माथिल्लो तलामा आगजनी तीन वटा समूहले आगजनी र तोडफोड गरेर फर्किसकेपछि पनि कांग्रेस कार्यालयमा अर्को चौथो समूह आएर बाँकी रहेका स्थानमा पुन: आगो झोस्न थाले । माथिको भागमा पूरै आगो सल्किएको थिएन । उनीहरु दोस्रो, तेस्रो र चौथो तलामा प्रवेश गरेर कोठा–कोठाबाट राम्रा फर्निचर बोकेर हिँडे । कम्प्युटर, प्रिन्टर, कम्प्युटरका हार्डडिस्क, कफी मेकर र जग लुटिए । तेस्रो तलामा रहेका महँगा कुर्ची, एयर कन्डिसनर, साउण्ड सिस्टम चोरी गरे । 

निर्वाचन समितिको कोठा आगलागीबाट खरानी भयो, माथिको सिलिङ भत्कियो । चौथो तलाको प्रचार विभागबाट कम्प्युटर, प्रिन्टर, वाटर डिस्पेन्सर र गिलासहरु चोरी गरे । त्यहीं रहेको नेपालको नक्सामा लात्तीलात्तीले हानेर फालियो । त्यो जल्न पाएन । छतसम्म आगो लाग्न भ्याइसकेको थिएन ।  

साँझ ४:३०–५:३० बजे –

त्यतिञ्जेल एकतलामा रहेको लाईब्रेरीमा आगो पुगेको थिएन । त्यसअघि आएको समूहले लाईब्रेरी पस्न भ्याएको थिएन । पाँच बजेतिर मात्रै लाईब्रेरीमा आगो सल्काइयो । सुरुमा आगो हल्काफुल्का बले पनि पछि व्यापक रूपमा फैलियो । विश्वभरका ख्यातिप्राप्त पुस्तक र पार्टीका अभिलेखहरु जलेर खरानी भए ।

साँझ ५:३०–राति १:०० बजे– 

केन्द्रीय कार्यालयमा रहेका दुई कर्मचारी र स्थानीयवासीहरुले आगो निभाउने प्रयास गरे । केही नियन्त्रणमा आए पनि पूर्ण निभ्न सकेन । आगो राति १ बजेसम्म बलिरहृयो । भवनको अधिकांश ध्वस्त बन्यो ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully