भदौ २४ : दोस्रो प्रयासमा गेटभित्र छिरे प्रदर्शनकारी, अनि खण्डहर भयो सर्वोच्च न्यायालय

त्यतिखेरसम्म प्रधानन्यायाधीश राउतलाई अदालतमा आगजनी हुन सक्छ ? तोडफोड हुन सक्छ ? त्यहाँ अरु किसिमको विपद् मच्चाइन्छ भन्ने कल्पना नै थिएन । ३ बजेतिर अदालतका सुरक्षार्मीहरुले श्रीमान् अब अलिकति सुरक्षित हुनुपर्छ कि भनेर सुनाएपछि उनी चिन्तित भए  ।

आश्विन १७, २०८२

दुर्गा दुलाल

August 24: In the second attempt, protesters entered the gate, and the Supreme Court was destroyed

What you should know

काठमाडौँ — २४ भदौमा देशभरको माहोल स्तब्ध थियो । अघिल्लो दिन जेन–जीको विरोध प्रर्दशनमा सरकारले बल प्रयोग गरेपछि कलिला युवाहरुले ज्यान गुमाएका थिए । देश एक प्रकारले शोकको अवस्थामा थियो । अदालत पनि शान्त थियो । बिहान १० बजे प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत बालुवाटार निवासबाट सर्वोच्च जाने तयारी गर्दै थिए ।

उनले आन्दोलनको माहोललाई ख्याल गर्दै महंगा गाडी निवासमै थन्क्याउने विचार गरे अनि सस्तो गाडी लिएर कम सुरक्षाकर्मीसहित सर्वोच्च पुगे ।

उनी सर्वोच्च पुग्दा १०:३० भइसकेको थियो । अदालतका कर्मचारीहरु पुगिसेका थिए भने न्यायाधीशहरु आउने क्रम जारी थियो । सदा झै गोलाको प्रक्रिया सुरु भयो । अघिल्लो दिनको आन्दोलनमा भएको बल प्रयोग भएको थियो । अवस्था सामान्य बनाउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेको थियो । तर जनताहरु भने बिहानै देखि सडकमा निस्किरहे अनि जम्मा हुन थालिसकेका थिए । 

चोक–चोकमा मानिसहरु भेला हुन थालेकाले आन्दोलन झनै चर्कने आशंका सहजै गर्न सकिने अवस्था थियो । अदालत उपस्थित हुन सक्ने न्यायाधीशहरु भेला भएपछि बन्दीप्रत्यक्षीकरण र रिट तथा निवेदनहरु मात्र सुनुवाइ गर्ने विषयमा छलफल भयो । प्रधानन्यायाधीश राउतले सबै न्यायाधीशसँग सामान्य छलफल गरेपछि न्यायाधीश मनोज शर्मा र टेकप्रसाद ढुङगानाको दुई वटा सिङ्गल(एकल) इजलास गठन भयो । 

शर्माको इजलासमा सामाजिक सञ्जालमा रोक लगाउने सरकारको निर्णय विरुद्धको दरपिठ निवेदन पेसी तोकियो भने ढुङगानाको इजलासमा बन्दीप्रत्यक्षीकरणका निवेदन पेसी तोकियो । अन्य इजलास गठन परिस्थितिको मूल्यांकन गरेर गर्ने भनी दुई वटा इजलास गठन गरिएको थियो ।

करिब २ बजेसम्म सुनुवाइ चल्यो । न्यायाधीश शर्माको इजलासले सामाजिक सञ्जाल सम्बन्धी रिट दरपिठ गर्ने आदेश बदर गर्दै दर्ता गर्न आदेश गर्‍यो । इजलासमा बहस सकिएपछि सबै न्यायाधीश प्रधानन्यायाधीशको चेम्बरमा जम्मा भए । 

सर्वोच्च अदालतमा बहस गरेर ओर्लिँदै गर्दा आन्दोलनकारीको भिड बढिरहेको थियो । अधिवक्ता मोहना अन्सारी सर्वोच्चमा बहस गरेर ओर्लिँदै थिइन् । उनको स्कुटर सर्वोच्च अदालतको गेट छेउमै थियो । उनी चिया खान सर्वोच्च अदालतको क्यान्टीनमा पुगेकी थिइन् तर माइतीघर मण्डलाबाट प्रर्दशनकारीको हुल सर्वोच्चको गेटमा आउने अनि जाने क्रम सुरु भएपछि भने डराइन् । 

यही बीचमा उनले संसद भवन, सिंहदबार, नेताहरुको घर जलाएको सामाजिक सञ्जालबाट जानकारी लिइरहेकी थिइन् । ‘साढे २ बजेसम्म हामी अदालत परिसरमै थियौ । भिडहरु आउने जाने क्रम चलिरहेको थियो । आन्दोलनकारीहरु पटक पटक अदालत प्रवेश गर्न खोज्ने अनि फर्कने क्रम चलिरहेको थियो’ अन्सारीले उक्त दिनको सम्झना गरिन्, ‘करिब ३ बजेतिर एउटा हुल आयो । गेटमा रहेका सुरक्षाकर्मीहरु अलि सर्तक त थिए तर उनीहरुले थेग्न सकेनन् अनि भिड अदालतमा छिर्यो । ’ मुल गेटबाटै अदालत जलाउनुपर्छ, जलाउन हुँदैन भन्ने दुवै श्वर आइरहेको उनले छेउमै बसेर सुनिन् । 

एक्कासी अदालतका फाँटहरुमा भएका फाइल बाहिर ल्याए अनि मोटरसाइकल र स्कुटरमा आगजनी सुरु भयो । उनको छेउमै रहेको स्कुटर हेर्दा हेर्दै दन्दनी बलेर खरानी भयो । उनको मुखबाट केही वाक्य नै फुटेन हेरिमात्र रहिन् । एकपछि अर्को हुल फेरि अदालत छिर्यो, उनीहरुले तोडफोड पनि सुरु गरे । एकपछि अर्को फाँटमा आगो लगाउने क्रम सुरु भयो । 

भदौ २४ गते दिउँसो १२ बजे आसपास सर्वोच्च अदालतले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरूद्ध मुद्दा दर्ता गर्ने अनि सुनुवाइ गर्ने बाटो खोलिसकेको थियो ।

त्यही निर्णयविरूद्ध अघिल्लो दिन सुरू भएको जेन–जीको आन्दोलनमा १९ जना मारिएपछि त्यस दिन सर्वसाधारण समेत आन्दोलनमा निस्किए । आन्दोलन उग्र बन्यो । यसरी आदेश आएको २ घणुटामा अदालत आगोको लप्कामा बल्न थाल्यो । सँगै रहेको महान्यायाधीवक्ता कार्यालय अनि नेपाल बार एशोसियसनमा पनि आगजनी भयो । तीनवटै भवनवाट केवल धुँवा र आगोमात्र देखिन थाल्यो । यही बीचमा संसद् भवन, सिंहदबार पछि राष्ट्रपति निवास पनि आन्दोलनकारीको कब्जामा लिएको खबर फैलियो । 

प्रधानन्यायाधीशको चेम्बरमा जम्मा भएका न्यायाधीशहरु र सुरक्षाकर्मीहरु कसरी निस्कने भनी छलफल गर्न थाले । बाहिर आन्दोलनकारीले घेरेका थिए भने सवारी साधनहरु तोडफोड सुरु भएको थियो । सर्वोच्च अदालतका सवारी चालकहरुले सकेजति गाडीहरु सर्वोच्च अदालतको पछाडी रहेको न्याय परिषद्को आगनमा लैजाने कोशिश गरे । तर आन्दोलनकारीले तोडफोडसँगै आगजनीसमेत थालेकाले सम्भव भएन । नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरुले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई त्यहाँबाट भित्रिबाटो हुँदै सिंहदबार भित्र छिराए अनि सुरक्षाकर्मीकै गाडीमा उनीहरुलाई बाहिर निकाले । 

सबै न्यायाधीशहरुलाई निवासमा पठाइयो भने प्रधानन्यायाधीश पनि आफ्नो निवासमा पुगे । प्रधानन्यायाधीश राउत उक्त सम्झन चाहँदैनन् । न्यायीक इतिहास ध्वस्त भएको उक्त दिन बिर्सन खोज्छन् तर सक्दैनन् । ‘देशको परिस्थिति पक्कै पनि राम्रो थिएन । यो कुरा हामीलाई पनि पक्कै जानकारी नहुने कुरा थिएन । त्यसपछि मेरो जानकारी के आयो भने अरु अरु श्रीमानहरु (न्यायाधीशहरु)ले इजलास नबस्ने खालको एउटा स्थिति बनेको छैन कि भनेर कुरा राख्नु भयो । हामीले सामान्य छलफल गर्‍यौं,’ राउतले उक्त दिनको सम्झना गरे, ‘इजलास बस्ने वातावरण छ कि छैन भन्दा पनि न्याय रोक्न मिल्दैन भनेर हामी फेरि इजलास सुरु गर्ने निष्कर्षमा पुग्यौं । र दुईवटा इजलास सुरु भयो ।’ 

‘चियासमयसम्म निर्वाध रुपमा सञ्चालन भयो । कानुन व्यवसायीहरु आएर बहस गर्न थाले । न्यायाधीशहरुले आदेश पनि गर्नु भयो । चिया समयदेखि तोडफोड र विध्वंशको कार्य बढेको जानकारी आयो । सबै श्रीमानहरु जम्मा हुनु भयो अनि अब चाहिँ इजलासको सुनुवाई निरन्तरता नगर्ने कि भनेर कुरा राख्नु भयो’ उनले थपे । 

त्यतिखेरसम्म प्रधानन्यायाधीश राउतलाई अदालतमा आगजनी हुनसक्छ?  तोडफोड हुनसक्छ ? त्यहाँ अरु किसिमको विपद मच्चाइन्छ भन्ने कल्पना नै थिएन । त्यो बिल्कुल कल्पना भन्दा बाहिर गयो । ३ बजेतिर अदालतका सुरक्षार्मीहरुले श्रीमान् अब अलिकति सुरक्षित हुन पर्छ कि भनेर सुनाएपछि उनी चिन्तित भए  । 

‘भिडलाई प्रहरीहरुले रोक्न सक्ने अवस्था नभएकाले संसद् भवन, सिंहदबारदेखि सबै तोडफोड भएको सुनेँ । सुरक्षाकर्मीबाट यो खबर अनि अरु न्यायाधीशहरुले पनि अवस्था जटिल हुँदै गयो भनेपछि हामी के गर्ने भन्नेमा छलफल गर्न थाल्यौं ।’ 

उनले २४ गते दिनको सम्भवत: एक बजेतिर प्रधानमन्त्रीले राजीनामा दिनु भएको थियो भने अर्को प्रधानमन्त्री हुनु भएको थिएन । देश सरकारविहीन अवस्था थियो । तर देशभरको न्यायलय र त्यहाँको सुरक्षाको कुरा थियो । राउतले सुरक्षाका लागि सबैतिर सम्पर्कको प्रयास गरे । स्थिति गम्भीर भएको जानकारी पाए । 

करिब ३ बजेतिर सुरक्षाका लागि खटिएका नेपाल प्रहरी लगायतका सुरक्षाकर्मीहरु पछाडी हटेको भएको खवर आएपछि भने राउतले अब सुरक्षित हुनुपर्ने मनमा लाग्यो । सुरक्षाकर्मीहरुले कार्यालय छोडे अनि उनीहरुले युनिफर्म छोडे भने हल्ला पनि आउन थालेको र कतिपय स्थानका हतियार पनि आन्दोलनकारीहरुले लगेको जानकारी पनि आउन थालेको थियो । 

‘अदालत भनेको जनताको सम्पत्ति रहने ठाउँ हो । अदालत नागरिकको जीउधनको लागि बनेको यो संस्था हो । त्यतिखेरसम्म पनि म के निश्चिन्त थिए भने कुनै पनि रुपमा अदालतको भवन अनि मिसिलका फाइल नै जलाउँदैनन्,’ राउतले भने, ‘भिड हो यसमा अराजक समूह मिसिए । संसद् भवन तोडफोड गरेर सिंहदबार हुँदै माइतीघर आइपुगेको भिड सर्वोच्च अदालत छिर्‍यो अनि तोडफोडमा उत्रियो ।’ 

अनि सुरक्षाकर्मीहरु पनि श्रीमान् अब यहाँ बस्नु सुरक्षाको दुष्टिकोणले पनि हुँदैन, हिँड्नुपर्छ भनेर अनुरोध गरे पनि उनी सबै न्यायाधीशसहित नेपाली सेनाको गाडीमा चढेर सर्वोच्चबाट बाहिरिएको बताए । ‘अदालतबाट यसरी बाहिरिँदा भर्खर तोडफोड सुरु भएको थियो । मन गह्रुंगो बनाएर म सुरक्षाकर्मीहरुसित हिँड्न तयार भएँ । मेरो सदाशयता र पत्रिताको निर्णय संस्थागत र अदालत जोगाउन कोशिश गरेकै थिएँ तर केही लागेन,’ राउतले भने, ‘निवास पुग्दा त्यहाँ तोडफोड अनि लुटपाट भएछ । यतिसम्म लुटियो कि मेरो झुन्डाएर राखेको कोट अनि कपडासम्म आन्दोलनकारीले लगेछन् । एक जोडी कपडा बाहेक म सँग केही थिएन ।’ 

साढे पाँच बजेतिर उनले सर्वोच्च अदालत पनि पुरै जलेको र सबै ध्वस्त भएको जानकारी पाए । 

...

२४ गते आन्दोलनका कारण बिहानै कार्यालय पुगेका थिए राजन सापकोटा । उनले विगत केही वर्षदेखि अदालतको इतिहास खोजी थालेका थिए । उनलाई यी फाइलहरुको माया लागेर सुरक्षित राख्नुपर्छ भन्ने लागेर बिहानै पुगेका थिए । 

सर्वोच्चको एनेक्स भवनमा रहेको न्यायिक संग्रहालय शाखा नियमित काममै थिए । आन्दोलनकारीहरू अदालत छिर्लान् भन्ने उनले मात्र होइन, कसैले सोचेका थिएनन् । यही नसोचेको घटना भयो ।

तीन बजेतिर निकै हो-हल्ला सुने । बाहिर हल्ला निकै भएपछि उनी बाहिर निस्के । अभिलेख शाखाका ढोकाका चाबी लगाएर बाहिर निस्कँदा सबैतिर जलेको धुँवाहरु फैलिएको थियो । उनी एनेक्स भवनबाट बाहिर निस्केर क्यान्टीनसम्म आइपुगेका मात्र थिए, आन्दोलनकारीसँग जम्काभेट भयो । उनीहरू एनेक्सतिरै जाँदै थिए । राजनले रोक्ने कोसिस गरे । तर आन्दोलनकारीहरुले आँगनमै रहेको कानुन पत्रिका छाप्ने प्रेसमा आयो लगाए । अनि सबै फैसलाको पूर्णपाठहरु बल्न थाले । 

लगत्तै सर्वोच्चको मूल भवनको छतमाथि धुँवाको मुस्लो उठ्न थाल्यो । भागाभाग सुरू भयो । राजन पनि मोटरसाइकल बचाएर घर निस्के । उक्त दिन सुरक्षाका लागि सर्वोच्चको गेटमा बसेका सुरक्षाकर्मीहरु अवस्था नियन्त्रणमा लिन कोशिश गरेको तर सम्भव नै नभएका कारण ठूलो क्षति भएको बताउँछन् । सर्वोच्चको गेटमै सुरक्षामा रहेका प्रहरीले पहिलो पटक आएका प्रदर्शनकारीहरुलाई आफूहरुले सम्झाएर अनि पानी खुवाएर फर्काएको तर पछिल्लो पटक आएकाहरुले जबरजस्ती रुपमा प्रवेश गरेको सुनाए ।

तत्कालीन समयमा प्रहरीले नियन्त्रण नै लिन नसक्ने अवस्था भएपछि आफूहरुले छोड्न वाध्य भएको ती सुरक्षाकर्मीले बताए । तत्कालीन समयमा थप एक सय जना सुरक्षाकर्मी थप हुन सकेको भए बचाउन सकिन्थ्यो । तर त्यो अवस्था नै नबनेको सुरक्षाकर्मीहरुको भनाइ छ । सानो संख्यामा अदालतको नियमित सुरक्षामा मात्र खटिएका सुरक्षाकर्मीमात्र भएकाले ठूलो संख्यामा आएका प्रदर्शनकारीलाई रोक्न नसकिएको उनीहरुको बुझाइ छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले उक्त दिन हेर्दा हेर्दै खरानी भएको बताए । २ बजेसम्म सग्लो रहेको अदालत एक घण्टामै खरानी भएको बताए । उनी मुद्दा फाँटमै थिए । पेसी र रिटका बारेमा छलफल गर्दै थिए । तीन बजेतिर अदालतमा प्रदर्शनकारी प्रवेश गरे । अनि सर्वोच्च परिसरमा रहेका गाडीहरुमा आगजनी गरे र अनि फाँट–फाँटमा छिरेर फाइलहरु जलाउन थाले ।

फाँटहरुमा आगो लगाएपछि उनीहरुले माथिल्लो तलामा रहेको सर्वोच्चको सूचना प्रविधि महाशाखामा प्रवेश गरेर सर्भर फुटाएर आगो लगाएको र सर्वोच्च कागजले भरिएका कारण हुरहुरी बलेको उनले बताए । अदालतभित्र एकाएक कोलाहालको वातावरण भयो । कर्मचारीहरुलाई विस्तारै घर जान भनियो अनि आफूहरु पनि सुरक्षित भएर निस्केको उनले बताए । 

आन्दोलनकारीहरुले कर्मचारीमाथि पनि आक्रमण गर्ने जोखिम भयो अनि अदालतका सवै सामाग्री जलेपछि कुरेर बस्नुको अर्थ नदेखेपछि आफूहरु घर फर्केको उनले बताए । २००८ सालदेखिको इतिहास अनि सर्वोच्च एकै निमेषमा खरानी भयो । तीन दिनसम्म सर्वोच्च अदालतमा आगो बलिरहेको थियो । 

भोलिपल्ट जल्नबाट बाँकी रहेका फाइलहरु निकाल्ने काम गरेको अब पालबाट इजलास सुरु गरेर न्यायालय फर्कने प्रयासमा रहेको उनले बताए । ‘२४ भदौको दिन सम्झन मन छैन । हामी एकै पटक शून्य अवस्थामा आएका छौं,’ कोइरालाले भने, ‘अब यो न्यायिक इतिहास पुन: बनाउन धेरै वर्ष र मेहनत लाग्छ ।’

उक्त दिन इजलासमै बसेर मुद्दा सुनुवाइ गरेका न्यायाधीश टेकप्रसाद ढुङ्गाना उक्त दिन अहिले सम्झनामात्र गर्दा पनि डराउँछन । केही समय अदालतभित्रै बसेको भए सबै न्यायाधीशहरु र कर्मचारी जलेर खरानी हुनेसम्मको अवस्था आउने सम्झेर उनलाई डर लाग्छ । ‘त्यो दिन अकल्पनिय थियो । जेन–जी आन्दोलनका नाममा अराजकता भएको थियो,’ उनले भने, ‘यस्तो इतिहास अब नदोहोरियोस् । देख्न नपरोस् ।’ 

सर्वोच्च अदालतको इतिहास पढनुहोस : 

राणा शासन ढलेपछिको पहिलो विशाल संरचना थियो प्रधान न्यायालय

दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully