भदौ २४ : 'तपाईंहरू के गर्दै बस्नुभएको ? आगो लगाइसके, बाहिर निस्किनुस् चाँडो'

स्टोरको कागजात, लेखा फाँटका फाइल, पुस्तकालय, सरकारी र निजी गाडी आगोको लप्काले निलिसकेको थियो । सभा हलमा आगो लगाउनुअघि केही प्रदर्शनकारीले सभामुखको कुर्सीमा बसेर फोटो सेसन गरेका थिए ।

आश्विन १५, २०८२

पर्वत पाेर्तेल

August 24: 'What have you been doing? Set fire, get out quickly'

विराटनगर — २४ भदौको दिउँसो करिब पौने २ बजे विराटनगरको देवकोटा चोकस्थित कोशी प्रदेशको शान्त प्रशासनिक केन्द्र एकाएक युद्धभूमिमा परिणत भयो । सभा भवन वरपर नाराजुलुस चल्दै थियो, हेर्दा सामान्य देखिन्थ्यो । 

ब्यानर र नारा, विरोधका शब्दहरू, प्रहरीको हल्का सतर्कता, बस् यति मात्रै थियो । तर, एक्कासि एउटा भिडको प्रवेश भयो । प्रदर्शनकारीहरू क्रमशः सभा भवनतिर अघि बढ्दै थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा बर्साउन थाल्यो । भिड ब्यारिकेड छिचोल्दै अगाडि बढ्न थाल्यो ।  

कार्यालयभित्रैबाट यो दृश्य अवलोकन गरिरहेका थिए, प्रदेशसभाका प्राविधिक कर्मचारी मदन भण्डारी । अचानक भिड बाक्लिँदै गयो ।  प्रहरीहरू पछि सर्दै गए । भिड यसरी बढ्यो कि प्रहरीले अब थेग्न सक्ने स्थिति रहेन । सयभन्दा बढी प्रहरी थिए, तर प्रदर्शनकारी हजारौं । 

कोही प्रदर्शनकारी तोडफोडमा उत्रिए, कोही आगजनीतिर लागे । ‘भिड पसेपछि हामी कर्मचारी  बाहिर निस्कियौँ,’ भण्डारीले भने, ‘ज्यान बचाउनु त पर्यो् नि ।’

भिड आएपछि प्रदेशसभाका चालक प्रवीन नेउपाने पनि कार्यालय छाडेर बाहिरिए । उनी बाहिरको क्वार्टरमा पुग्दा गेटमै प्रहरीको बाक्लो पहरा थियो, तर क्षणमै त्यो पहरा चिरिँदै गयो । प्रहरीको टोली पछि हट्यो, भिडले सभाको मूलगेट कब्जा गर्योभ । ‘प्रवेशद्वारमै पहिलो आगो झोसियो,’ कार्यालय सहयोगी पुण्य तिम्सिनाले सुनाए, ‘प्रहरीले आत्मसमर्पण गरिहाल्यो, त्यसपछि भिड सबै कार्यालय र सभाहलतिर केन्द्रित भयो ।’

उनी ज्यान जोगाउन पहिला पश्चिमतिरको क्वार्टरमा पसे । तर, त्यहाँ पनि गाह्रो हुन सक्ने ठानेर कार्यालय परिसर बाहिरै निस्किए । ‘ज्यानभन्दा ठूलो कुरा केही रहेनछ,’ उनले अनुभव साटे । सचिवालयका सहयोगीहरू अन्जना कोइराला र सरोज यादव माथिल्लो तलामा अड्किएका थिए । तलपट्टि कोलाहल, तोडफोड, ढुंगामुढा थियो । ‘माथिल्लो तलामा त केही नहोला भनेर बसियो,’ अन्जनाले अनुभव सुनाइन्, ‘तर विस्तारै सबैतिर तोडफोड र आगजनी सुरु भएपछि ज्यान जोगाउँदै भाग्यौं ।’

त्यहीबेला अधिकृत सुवास ओझा र सभामुखका सहयोगी प्रेम नेउपाने पनि ‘ट्रयाप’ मा परे । घाइते भएका प्रहरीलाई सिँढी नजिकै राखेर उपचार भइरहेको थियो । उनीहरू तलमाथि गर्दै थिए । भिड पसेपछि ठूलो क्षति नगर्लान् भन्ने अनुमानमा उनीहरू सभामुखकै कार्यकक्षमा गफिए । तर, एक क्षणमा भिड थामिनसक्नु बढ्यो ।  तोडफोड सुरु भयो । 

‘जब भवनमा आगजनी सुरु भयो, त्यतिबेला झसंग लाग्यो,’ ओझाले भने, ‘अब कसरी बाहिर निस्किने होला भन्नेबाहेक केही सोच्न सकिएन ।’ अब भिडले कुटेर मार्ने भयो कि त आगोले जलेर मरिने भइयो भन्ने सोच पनि आएको ओझाले सुनाए । 

उनीहरू सभामुखको कार्यकक्षबाट एमाले संसदीय दलको कार्यालयमा गएर केही बेर बसे । त्यही बेला कार्यवाहक सचिव गौतमराज अमात्य र प्रहरीले फोन गरेर सोधे, ‘तपाईंहरू त्यहाँ के गर्दै बस्नुभएको ? आगो लगाइसके बाहिर निस्किनुस् चाँडो ?’ फोनको आवाजसँगै उनीहरू झन् डराए । अन्ततः प्रेमले भने, ‘अब जसरी पनि तल झर्ने प्रयास गर्यौं  ।’

धुवाँ चिरेर, आगोको ताप सहँदै उनीहरू बाहिर निस्किए । ‘बाहिर निस्किँदा मात्रै बल्ल बाँचिएको महसुस भयो,’ ओझाले सुनाए, ‘आगजनी जारी थियो, हामी पछाडिको गेटबाट निस्कियौं ।’

August 24: 'What have you been doing? Set fire, get out quickly'

क्यामेरापर्सन वासु पौडेल कार्यालय समयभन्दा अगावै भित्र पसेका थिए । सुरुमा नारा सुन्दै, भिडको छेउमै काम गर्दै थिए । तर, पूर्व–पश्चिम दुवै दिशाबाट प्रदर्शनकारी घुस्दै जाँदा कार्यालय घेराबन्दीमा परिसकेको थियो । त्यसपछि उनी पनि कार्यालयबाट बाहिरिए । पछि रमिता हेर्न आएका मान्छेहरू समेत भिडमा मिसिएर लुटपाटमा उत्रिएको उनले प्रत्यक्ष देखे । 

‘आगजनीपछि जब आगो निभ्दै थियो, त्यतिबेला लुटेराहरू आएर सामान लुट्न थाले ।  हामी र प्रहरीले केही गर्न सकेनौ,’ उनले सुनाए ।

प्राविधिक शाखाका भण्डारी तेस्रो तलाबाट घटनाक्रम नियालिरहेका थिए । ‘यस्तो ठूलो होला भन्ने अनुमानै थिएन,’ उनले सम्झिए, ‘आगजनीको आधा घन्टामै भवन डडेलो लागेको घाँसे मैदानजस्तो भइसकेको थियो ।’

स्टोरको कागजात, लेखा फाँटका फाइल, पुस्तकालय, सभा भवनका सरकारी र निजी गाडीहरू आगोको लप्काले निलिसकेको थियो । केही प्रदर्शनकारीले सभा हलमा आगो लगाउनुअघि सभामुखको कुर्सीमा बसेर फोटो सेसन पनि गरेका थिए । ‘झ्याल फुटाएर केही किताब निकाल्न सकिन्छ कि भन्ने भयो, तर आँट आएनँ हजारौं किताब  एकैछिनमा खरानी भएको देख्या मन साह्रै पोल्यो’, भण्डारीले सुनाए ।

सुरुमा सुरक्षित देखिएको मिडिया सेन्टरमा पनि पछि आगो सल्काइयो । लुटपाटमा उत्रिएका समूहले अटो र सिटी रिक्सामा टीभी, कम्प्युटर, क्यामेरा, टेबल, कुर्सी बोकेर भागे । प्राविधिक शाखाका कम्प्युटरदेखि स्टेप्लर पिनसम्म लुटेर लगे ।

सूचना अधिकारी निरोज ढकाल भन्छन्, ‘कसैले पनि यस्तो विनाशको कल्पना गरेका थिएनन् ।’ विगतमा पहिचानवादी आन्दोलनका क्रममा पनि धेरै विरोधका कार्यक्रम भए । तर, यो स्तरको हिंसा पहिलोपटक अनुभव गरेको ढकाल बताउँछन् । ‘त्यो दिन प्रदेश सभा युद्धभूमि जस्तो देखिन्थ्यो,’ ढकालले भने,‘कल्पनै नगरेको क्षति सहनुपर्‍यो सबैले ।’

पर्वत पाेर्तेल

Link copied successfully