आगजनीबाट युलेन्स स्कुलका ८३ वटा गाडी ध्वस्त भएका छन् भने कुल एक अर्ब २५ करोड रूपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, ग्लोबल कलेजको पनि करिब ९१ करोडको क्षति भएको छ।
What you should know
काठमाडौँ — भाद्र २३ गतेको जेन-जी आन्दोलनमा बानेश्वरमा १९ जना युवाको ज्यान गएपछि २४ गते बिहानैदेखि काठमाडौं उपत्यकामा कर्फ्यु लगाइएको थियो । अघिल्लो दिनको घटना र कर्फ्युका कारण ललितपुर खुमलटारस्थित युलेन्स स्कुलले विद्यार्थीलाई अनलाइनबाटै पठनपाठन थालेको थियो ।
विद्यार्थी, शिक्षक घर-घरमै थिए । बिहानैदेखि विभिन्न ठाउँ-ठाउँमा आगजनी, तोडफोड सुरु भएको थियो। शिक्षक सञ्जय अधिकारीले निजी गाडी अघिल्लो दिन स्कुलमा नै छाडेका थिए । उनी बिहानको ९ बजेतिरै स्कुल पुगे।
सातदोबाटो-खुमलटार सडक र त्यसको भित्री सडकमा युलेन्स स्कुलका भवन थिए। उनले भित्री सडक तर्फको भवनको पार्किङमा गाडी छाडेका थिए । ‘गाडी निकाल्न सकिन्छ कि भनेर गएको थिएँ । मुल सडक पट्टिको भवनमा तोडफोड सुरु भइसकेको रहेछ,’ युलेन्स स्कुल तोडफोड र आगजनीका प्रत्यक्षदर्शी बनेका शिक्षक अधिकारीले भने, ‘हेर्दा-हर्दै ४०/५० जनाले आगो सल्काए।’
उनको बसाइसमेत स्कुल नजिकै थियो । उनी सडक पेटीमा बसेर सबै दृश्य नियाल्दै थिए । अर्को एउटा सानो समूह भित्री बाटोमा रहेको युलेन्स स्कुलको भवनपट्टि आयो । प्रत्यक्षदर्शीकाअनुसार उनीहरू गालीगलौच होहल्ला गर्दै अघि बढेका थिए । घरिघरि ‘भ्रष्ट आरजु देउवा राणा’ को स्कुल भन्थे । गार्ड रुमहरू तोडफोड गर्न थाले ।
‘हातमा रड र घन बोकेर आएको अनियन्त्रित भीड होहल्ला गर्दै हिडेको थियो। तोडफोड गर्न थाले म घरमा फर्किएँ,’ उनले भने । त्यतिबेलासम्म स्कुल प्रशासनले सुरक्षा गार्डहरूलाई आफ्नो सुरक्षा पहिले गर्नु, पहिले जीवन बचाउन सुरक्षित बस्न ध्यान दिनु भन्ने सर्कुलर गरिसकेको थियो ।
भीड बढदै गएकाले आफुहरू पनि साइड लागेको एक गार्डले बताए । भीड फलामे गेटहरू फुटाएर भित्र गएको थियो । ‘उनीहरू सडकमा आउजाउ गरेका गाडीहरूलाई पनि अवरोध गरिरहेका थिए । जेन-जी जस्तो उनीहरूको उमेर थिएन । अलि उमेर पाकेकाहरूको (परिपक्क) जमात थियो,’ ती गार्डले भने, ‘हेर्दा हेर्दै सबै भवनमा आगो सल्काए ।’
प्रत्यक्षदर्शीका अनुसार उनीहरू प्रायःले झोला बोकेका थिए । पेट्रोल पनि सँगै ल्याएका थिए । ‘प्रचण्डको घर आगजनी गरेको समुह पनि यता थपिदैं गयो । भीड बढ्दै जान थाल्यो,’ उनले भने ।
शिक्षक अधिकारी स्कुलबाट कालो धुँवाको मुस्लो आउन थालेपछि १२ बजे तिर फेरि स्कुल आसपास आए । त्यतिबेला उनले भयानक दृश्य देखेको सुनाए । ‘निर्धक्क स्कुल जलाइ राखेका थिए । प्रहरी पनि थिएन । दमकल पनि आएको थिएन,’ उनले भने, ‘कोही ढुंगामुढा गर्दै थिए । कोही गाडीहरू फुटाउँदै थिए । आगो वरिपरि जान नसक्ने गरी सल्कदैं गएको थियो ।’
उनी एकछिन ती दृश्य हेरेर घर फर्किए । दिनभर विद्यालय जलिरह्यो। विद्यालयका सबै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर जलाइए । विद्यार्थीका सबै रेकर्ड, शैक्षिक सामग्री, बालबालिका बस्ने डेस्क बेञ्च खरानी पारिए ।साँझ ६ बजे तिर शिक्षक अधिकारी पुनः स्कुल छेउ पुगे । परैबाट नियाले।
त्यो बेलाको दृश्य सम्झिँदै उनी भन्छन्- ‘स्कुल भित्रबाट धुँवा आइरहेको थियो । मेरो गाडी पनि सडकछेऊ ल्याउन जलाइसकेका रहेछन्।’ स्कुलका गाडीहरू पनि जलिराखेका उनले देखे । ‘पार्किङमा रहेका दुई वटा गाडी सडकमा ल्याएर जलाइछ,’ उनले भने ।
स्कुलको ल्याब र ल्याइब्रेरी जलिराखेको त्यतिबेलै उनले देखे । ‘जलाउनेहरू साँझसम्मै त्यतै डुलिराखेका थिए । महिला, पुरुषहरू बच्चा मार्न पाइदैन भन्दै बेला-बेला नारा जुलुश पनि गरिरहेका थिए,’ उनले भने ।
उनका अनुसार साँझमा स्थानीयहरूको पनि भीडभाड बाक्लो हुँदै गएको थियो । केही पर्खालहरू भत्काउने काम गर्दै थिए । त्यही मौकामा जल्न बाँकी सामग्रीहरू लुटपाट गरिएको गार्डहरूको भनाइ छ । दराज भित्र रहेका ल्यापटप, सोफा, स्मार्ट बोर्ड, टेबल चोरी भएको विद्यालयले जनाएको छ ।
‘गाडी नै ल्याएर पनि सामग्री लुटपाट गरेर लगे,’ ती गार्डले भने । सुरुमा ४०/५० जनाको समुहले तोडफोड गरेपनि पछि ३/४ सय जनासम्म तोडफोड, आगजनी र लुटपाटमा सहभागी भए। २५ गते बिहान अधिकारी फेरि विद्यालय नजिक पुगे । त्यतिबेला चर्को गन्ध आएको उनले बताए ।
‘रातभरि पनि आगो बलेको रहेछ । बल्ने कुरा सकिएपछि आफैं निभ्दै गएको रहेछ,’ उनले भने । स्थानीय रातभरि स्कुलभित्र मान्छेहरू पसेर सामानहरू निकाल्दै लगेको सुनाएको उनले बताए। ‘स्कुलभित्र पस्न सक्ने अवस्था थिएन । जताततै खरानी थियो । भित्तामा पनि गालीगलौच गरेर अनेक लेखिएको देखें,’ उनले भने ।
भाद्र २४ गते खुमलटारस्थित पाँच वटा भवन, युलेन्स स्कुल बाँसबारीका तीन वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर ध्वस्त पारिएको युलेन्स फाउण्डेशनले जनाएको छ । युलेन्स गैरनाफामूलक कम्पनीमा खुलेको स्कुल हो ।
आगजनीबाट ८३ वटा गाडी ध्वस्त पारिएका छन् भने एक अर्ब २५ करोड रूपैयाँ बराबरको क्षति पुगेको फाउन्डेसनले जनाएको छ । करिब १५ सय विद्यार्थीको पढाइ प्रभावित भएको र पाँच सयभन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर गरेको छ ।
ग्लोबल कलेजमा ९१ करोडको क्षति
सोही दिन मध्यबानेश्वरमा रहेको ग्लोबल कलेजमा पनि आगजनी भयो। साढे ५ बजेतिर हो-हल्ला गर्दै एउटा भीडभित्र छिर्यो। अघिल्लो दिन (भाद्र २३ गते) जेन-जी प्रर्दशनमा कलेजका १९ वर्षीय छात्र श्रेयम चौलागाईको गोली लागेर मृत्यु भएको थियो ।
भोलिपल्ट अनलाइन कक्षा सुरु भएपनि केही शिक्षक-कर्मचारी शोकमा कलेज प्रांगणमा नै थिए । मुल गेट फुटाएर भीड प्रवेश गरेको कलेजका अप्रेशन प्रमुख बावुराम सुवेदीले बताए ।
‘हामी कलेजभित्रै थियौं । एक्कासी हुलदंगा हुन थाल्यो । बाहिरबाट ठुलो जमात छिरेर आगजनी र तोडफोड गर्न थाल्यो,’ उनले भने, ‘हामीले यस्तो नगर्नुस् भन्दा हातपात समेत गरे गार्डहरू पनि कुटिए ।’ पहिले सानो जत्था छिरे पनि नयाँ बानेश्वर र पुरानो बानेश्वर दुवैतर्फबाट आएकाहरू छिरेर भीड बढेको उनले सुनाए ।
‘तोडफोड गरेर आगो सल्काएपछि हामी बाहिर निस्कियौं । रडहरू बोकेर आएका थिए । एकै छिनमा कलेजका ३ वटै भवनमा आगो दन्किन थाल्यो,’ सुवेदीले भने ।
त्यही मौकामा कलेजमा लुटपाट समेत भएको प्रशासनको भनाइ छ । ‘प्रहरी प्रशासनमा हारगुहार गर्यौँ। कोही पनि आएन। राति १ बजेसम्म हामी वरिवरि नै लुकेर बस्यौं,’ उनले भने । राति सेना परिचालन हुने खबर पछि भने तोडफोड र आगजनीमा संलग्नहरू भागेका थिए । आगो भने २५ गते बिहानसम्मै बलेको उनले बताए ।
‘३० वटा जति ग्यास सिलिण्डर थिए । ती सबै पड्किँदै जले। शतप्रतिशत नै क्षति भयो,’ उनले भने । कलेजले ९२ करोड क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । उनले थपे- ‘८ वटा गाडी मोटरसाईकल जले । लाइब्रेरी, ल्याब, कक्षाकोठा केही पनि बाँकी छैन,’ उनले भने, ‘बोकेर लैजान सक्ने जति चीज सबै लगे। बोक्न नसक्ने जति आगो लगाएर ध्वस्त पारे ।’
ग्लोबल कलेजले शैक्षिक भवनमा आगजनी भएपछि कक्षा ११ र १२ का विद्यार्थीलाई अनलाइनबाट केही दिन पठनपाठन गरेर चाडपर्व छुट्टी दिएको छ । कलेजमा ४ हजार विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक अम्बादत्त जोशीले बताए ।
