कर्मचारीलाई बाहिर निकालिएपछि प्रदर्शनकारीले महानगर कार्यालय, कार्यालय परिसरमा रहेका सवारीसाधनमा आगजनी थाले । प्रहरीले पनि मैदान छाड्यो ।
What you should know
पोखरा — मुख्य बजार क्षेत्रमा निषेधाज्ञा घोषणा भए पनि पोखराको सभागृहचोकमा भदौ २४ बिहानैदेखि प्रदर्शनकारी भेला भइसकेका थिए । सभागृहअघि बिहान १० बजेबाट नाराबाजी सुरु भयो । प्रदर्शनकारीको संख्या बढ्दै गयो ।
प्रदर्शनकारीको एउटा टोली ब्यानर लिएर सभागृहअघि नै विरोध प्रदर्शन गर्ने पक्षमा थियो भने अर्को टोलीले न्युरोडको पोखरा महानगरपालिका कार्यालय घेर्न जाने तयारी गर्यो । एक समूह नाराबाजी गर्दै न्युरोडतर्फ उकालो लाग्यो । चिप्लेढुंगातर्फ अघि बढेको भीड जति माथि जान्थ्यो, उति ठूलो हुँदै थियो ।
महानगर कार्यालयअघि पुगेर प्रदर्शनकारीले केहीबेर नाराबाजी गरे । महानगर कार्यालयको सुरक्षामा नेपाल प्रहरी र नगर प्रहरी खटिएका थिए । त्यतिन्जेल प्रदर्शनकारी तोडफोडमा उत्रिएनन् । जुलुस चिप्लेढुंगा पुग्यो । चिप्लेढुंगा पुगेर पुनः न्युरोडतर्फ नै झर्यो । प्रदर्शनकारीले घरघरमा रहेका स्थानीयलाई जुलुसमा आउन भनिरहेका थिए ।
फर्किएर पुनः महानगर कार्यालय आइपुग्दा प्रदर्शनकारी हजारौंको संख्यामा जम्मा भइसकेका थिए । चिप्लेढुंगाबाट एउटा टोली आएको थियो भने अर्को टोली सभागृहचोकतर्फबाट । दुईतर्फ जुलुसको बीचमा प्रहरी टोली थियो । महानगर कार्यालय आइपुगेपछि प्रदर्शनकारीले ढुंगामुढा सुरु गरे ।
महानगरकी सरसफाइ शाखाकी कर्मचारी दुर्गा भुजेल त्यसदिन कार्यालयभित्रै थिइन् । महानगरको मूल ढोका कट्नेबित्तिकै देब्रेपट्टि छ, उनको कार्यकक्ष । सभागृहबाट चिप्लेढुंगातर्फ गएको जुलुसमा प्रदर्शनकारीको संख्या कम भएको र महानगरमा कुनै क्षति नपुर्याएकोले उनी केही ढुक्क थिइन् । तर चिप्लेढुंगाबाट फर्किएर आएको जुलुस ठूलो थियो । दिउँसो १ बजेतिरबाट आन्दोलनकारीले महानगर कार्यालयमा ढुंगामुढा गर्न थालेपछि उनको मनमा चिसो पस्यो । ‘एकैपल्ट चारैतिरबाट ढुंगा हान्न सुरु भयो, के गर्ने कसो गर्ने भएपछि सबैजना ढुंगाले नभेट्ने ठाउँ खोज्न थाल्यौं,’ उनले भनिन्, ‘साँघुरो गल्लीमा च्यापिएर बस्यौं ।’
प्रहरीभन्दा प्रदर्शनकारीको संख्या ठूलो थियो । प्रदर्शनकारीले महानगर जलाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका थिए । प्रहरी र महानगर कार्यालयमाथि ढुंगामुढा गरिरहेका थिए । प्रहरीले प्रदर्शनकारीलाई लखेट्दै केही माथि पुर्याउँथ्यो । प्रदर्शनकारी फेरि महानगर कार्यालअघि आइपुग्थे । प्रदर्शनकारीले महानगरको गेट फोरेर मोटरसाइकल निकाले । सडकमा ल्याएर आगजनी गरे । प्रहरी एकातर्फ मात्रै थियो । महानगर कार्यालयको चारैतिर बाटो भएकाले पछाडिबाट भर्याङ नै लगाएर आन्दोलनकारीले पर्खाल नाघेर भित्र पसे । कार्यालयभित्र तोडफोड गर्न थाले ।
महानगर प्रमुख धनराज आचार्य भ्रमणका क्रममा दुबईमा थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालय कार्यालयमै थिए । उनले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सम्पर्क गरेर उद्धारका लागि आग्रह गरे । सशस्त्र प्रहरीको एक टोलीले ७५ जना कर्मचारीको उद्धार गर्यो । सेवाग्राही भने कार्यालयमा आएका थिएनन् ।
कर्मचारीले सरकारी सम्पत्तिमा हानि नपुर्याउन पटकपटक आग्रह गरे पनि प्रदर्शनकारीले नमानेको भुजेलले बताइन् । कर्मचारीलाई बाहिर निकालिएपछि प्रदर्शनकारीले महानगर कार्यालय, कार्यालय परिसरमा रहेका सवारीसाधनमा आगजनी थाले । प्रहरीले पनि मैदान छाड्यो । पोखरामा आगजनी गर्ने क्रम महानगरको प्रशासकीय भवनबाट सुरु भयो ।
महानगर कार्यालयमा आगजनी सुरु गरेपछि सरकारी कार्यालय, नेताका घर र व्यवसाय, प्रहरी चौकी निसानामा परे । महानगर जलाउने टोली समूह–समूह बनेर मोटरसाइकलमा सरकारी कार्यालय आगजनी गर्दै हिँडे । रत्नचोक, सहिदचोक, राष्ट्रबैक चोक, मुस्ताङ चोक क्षेत्रमा रहेका सरकारी कार्यालय, गण्डकी प्रदेशमातहतका कार्यालय, अदालत, मन्त्री र कर्मचारीका आवास, लेकसाइडका होटल, रिसोर्ट जलाइए । एक्स्काभेटर, रोलरलगायत हेभी इक्युपमेन्ट सडकमा निकालियो । सरकारी कार्यालयहरु जलाइसकेपछि प्रदर्शनकारीको भीड न्युरोडमा रहेको भाटभटेनी जलाउन पुग्यो । गण्डकी प्रदेशसभा भवन जल्यो ।
साँझतिर एक्स्काभेटर नै लिएर प्रदर्शनकारी गैह्रापाटनमा रहेको जिल्ला प्रहरी कार्यालय भवन जलाउन पुगे । आगजनीमा परेर एकजना प्रदर्शनकारीको निधन भयो । यसअघि प्रदर्शनकारीले आगो लगाएको व्यवसायी ध्रुव थापाको घरमा एकजना कामदार र प्रदेशका मन्त्री विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा स्क्वायरमा रहेको स्पाकी कामदारको निधन भएको थियो ।
प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाको मुख्य प्रशासकीय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रदर्शनकारीले भवनमा गरेको आगजनीका कारण कार्यालयका महत्त्वपूर्ण कागजातहरू जलेर खरानी भएका छन् । कार्यालयका सबैजसो कोठामा आगो लगाइएको छ भने प्रमुखको कार्यकक्षमा तोडफोड गरिएको छ । कार्यालयका कतिपय सामग्री चोरी भएका छन् । आगजनीबाट महानगरका १४ वटा वडा कार्यालयमा पूर्ण र १० वटामा आंशिक क्षति पुगेको छ । ९ कार्यालय सुरक्षित छन् ।
प्रशासकीय भवन पुनः प्रयोग गर्ने अवस्थामा नरहेको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले बताए । उनले मुस्ताङचोकको गल्फ कोर्समा महानगरको प्रशासकीय भवन बनाउन डीपीआर बनिसकेकोले हालको स्थानमा बहुतले पार्किङसहित बहुउद्देश्यीय भवन बनाउने योजना रहेको सुनाए ।
महानगरले कार्यालयको सेवालाई १ असोजदेखि नियमित गरेको छ । नगरवासीको सेवालाई नियमित गर्न महानगर मातहतका विभिन्न संरचनाको उपयोग गर्दै तत्कालका लागि सेवा सुरु गरेको तिमिल्सिनाले बताए । ‘महानगरका सबै महाशाखा र शाखाहरूको सेवालाई समेत नियमित गर्ने गरी कार्यस्थलको व्यवस्थापन गरिएको छ,’ उनले भने ।
प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, सार्वजनिक लेखा समिति, कानुन शाखा, सरसफाइ शाखा, सूचना प्रविधि शाखा पोखरा–९ शान्ति वनस्थित दमकल भवनमा राखिएको छ । प्रशासन, राजस्व र सहरी विकास महाशाखा, भण्डार, तथ्यांक विपद्/उजुरी फर्स्योट, अभिलेखीकरण, पञ्जीकरण, लेखा शाखा र महानगर प्रहरी बल पोखरा सभागृहमा रहने छ । आर्थिक प्रशासन महाशाखा प्रमुखको कार्यकक्ष र कोष प्रशासन शाखाको सेवा पोखरा–१७ ड्यामसाइडस्थित शिक्षा महाशाखाको भवनबाट प्रवाह भएको छ । शिक्षा महाशाखा त्यहीँ यथावत रहेको छ ।
न्यूरोडस्थित पूर्वाधार महाशाखा भएको भवनबाट पूर्वाधार, आन्तरिक लेखा परीक्षण शाखा, योजना, भूमि प्रशासन, खरिद शाखाका सेवा दिएको छ । पोखरा–७ जनप्रिय मार्गस्थित आर्थिक विकास महाशाखाबाट आर्थिकसहित सहकारी शाखा, श्रम तथा रोजगार शाखा (सामी कार्यक्रमसमेत) र व्यवसाय प्रवर्द्धन केन्द्रसम्बन्धी काम भएका छन् । ‘सबै कार्यालयबाट काम अगाडि बढिरहेका छन्,’ प्रवक्ता तिमिल्सिनाले भने, ‘योजनाका काम सुरु भएका छैनन् । त्यसबाहेक दैनिक सेवा प्रवाह रोकिएको छैन ।'
