भदौ २४ को दिउँसो ४ बजेतिर अख्तियारभित्र छिरेको समूह सुरुमा लुटपाटमा केन्द्रित थियो । त्यस दिन क्षति हुन नपाएका सीसी क्यामेराका फुटेजअनुसार भित्र छिरेर ल्यापटप, कम्प्युटरलगायत उपकरण र डिभाइसहरू लुटपाट भएको देखिन्छ । अख्तियार छिरेको समूहले करिब ३ घण्टासम्म लुटपाट र तोडफोड गरिरह्यो ।
What you should know
काठमाडौँ — ‘जेन–जी’ समूहले २३ भदौमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बानेश्वर र सुनसरीमा १९ युवा–विद्यार्थी मारिए, कयौं घाइते भए । देशमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्य हुनुपर्ने, सरकारद्वारा बन्द गरिएका सामाजिक सञ्चाल सुचारुलगायत माग राखेर जेन–जीको अगुवाइमा भएको आन्दोलन र प्रदर्शनमा बर्बर दमन भएपछि सर्वत्र त्यसको विरोध भयो । त्यसपछि २४ भदौमा देशभर फैलिएको ‘राज्य दमन’विरुद्धको प्रदर्शन हिंसात्मक हुन पुग्दा अकल्पनीय जनधनको क्षति भयो ।
सडक प्रदर्शनमा उत्रिएका जेनजीसहित २३ र २४ भदौको घटनामा परी देशभर कम्तीमा ७५ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमध्ये कोही सडक प्रदर्शनकै क्रममा र कोही कारागारमा तोडफोड र आगजनी गरेर भाग्ने क्रममा परेका हुन् । केहीको मानव कंकाल भने जलाइएका व्यापारिक भवन/सपिङ कम्प्लेक्सभित्र फेला परेका थिए । अकल्पनीय रूपमा भएको यस्तो मानवीय क्षतिले सबैलाई स्तब्ध पार्यो ।
यति मात्र होइन, २३ भदौको दमनबाट सिर्जित २४ भदौको आक्रोशले सरकारी/सार्वजनिक र निजी भवन/संरचना तथा राष्ट्रिय सम्पत्तिमाथि पनि बिध्वंस मच्याइयो । राष्ट्रपति भवन शीतल निवास, संसद् भवन बानेश्वर, सर्वोच्च न्यायालय, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्री निवास पनि प्रदर्शनको आडमा ध्वस्त पारिए । देशभर २ सय ५५ बढी प्रहरी कार्यालय/ब्यारेक जलाइए/तोडफोड गरिए । यसरी आगजनी र तोडफोडबाट क्षति पुर्याइएको राष्ट्रिय सम्पत्तिमध्ये एक हो–टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यसका प्रदेशस्थित कार्यालयहरू ।
...त्यसपछि निसानामा पर्यो अख्तियार
अघिल्लो दिन (२३ भदौ) को प्रहरी दमनबाट १९ युवा–विद्यार्थी प्रहरी गोलीबाट मारिएपछि २४ भदौ बिहानैदेखि विरोध र प्रदर्शन सुरु भइसकेको थियो । सडक–चोक सबैतिरबाट सबै उमेर समूहका मानिस विरोधमा उत्रिएका थिए । विरोधको निसानामा पारिएका थिए– सरकारी/सार्वजनिक संरचना र राजनीतिक दल र नेताका भवन–घरहरू । २४ भदौको करिब १२ बजेतिर विशालनगर चोकबाट ढल्कु हुँदै करिब २०/२५ जनाको समूह भाटभटेनी चोकतिर लाग्यो । विशालनगर चोकबाट दक्षिणतर्फ लाग्ने बित्तिकै भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको रेल विभाग छ ।
उक्त समूहले विभागतिर ढुंगामुढा बर्सायो । सरकारविरुद्ध चर्को नाराबाजी गर्दै उक्त हुलले विभागका भौतिक संरचना ताडफोड गर्न थाल्यो । केही समयपछि त्यहाँबाट भाटभटेनीतर्फ लागेको थियो उक्त समूह । ढल्कु चोकबाट भाटभटेनी चोक नपुग्दै भाटभटेनी सुपरमार्केट छ । उक्त हुल त्यही व्यापारिक भवनतर्फ सोझियो । ढुंगा र इँटा बर्साउन थाल्यो । आक्रोशित हुल केही बेरपछि उत्तरतर्फ बालुवाटार जाने सडक हुँदै चिनियाँ दूताबासतिर लाग्यो । तर भाटभटेनी मन्दिरबाट केही दूरीमा प्रहरी र सशस्त्रको टोली सडकमै थियो ।
सरकारले भाटभटेनी–बालुवाटार सडक हुँदै विरोध/प्रदर्शनका लागि निषेधित क्षेत्र तोकेको थियो । जुन विन्दुबाट निषेधित क्षेत्र तोकिएको हो, त्यही विन्दुमा सुरक्षाकर्मी तैनाथ रहँदै आएका थिए । त्यही सुरक्षा टोलीले हुललाई अगाडि बढ्न दिएन । त्यसपछि फर्किएको समूह फेरि भाटभटेनीमै तोडफोडमा उत्रियो । त्यही बेला नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेर फर्किएको समूह पनि भाटभटेनीमै एकत्रित भयो । प्रधानमन्त्री निवास बालुवाटारमा ढुंगामुढा गरेर फर्किएको समूह पनि मिसियो । यसरी चार ठाउँबाट आएका समूह भाटभटेनी चोकमा केन्द्रित भए । अनि भाटभटेनी छिरेर लुटपाट र आगजनी सुरु भयो । त्यस घटनाका एक प्रत्यक्षदर्शीका अनुसार भाटभटेनीमा लुटपाट र आगजनी भदौ २४ को दिउँसो १ बजेपछि सुरु भएको हो । भाटभटेनीमा लुटपाट सुरु भइरहेका बेला एउटा समूह सँगै जोडिएको अख्तियार कार्यालयतर्फ सोझियो ।
भाटभटेनीमा तोडफोड सुरु हुन थालेपछि अख्तियार कार्यालयमा रहेका कर्मचारी पनि त्रसित थिए । अघिल्लो दिनको प्रहरी दमनको विरोधमा हुने सम्भावित प्रदर्शनलाई ध्यानमा राखेर प्रधानमन्त्री कार्यालयले ‘सार्वजनिक स्थलमा सरकारी सवारी साधन नचलाउन’ परिपत्र गरेको थियो । सोही आधारमा अख्तियारका धेरैजसो कर्मचारी आफू अनुकूल सवारी व्यवस्थापन गरेर सरकारी सवारी साधन कार्यालयमै छाडेर निस्किएका थिए । भोलिपल्ट धेरैजसो कर्मचारी बिहान ८ बजेतिरै कार्यालय पुगेका थिए । कर्मचारीबाहेक नेपाल प्रहरीको अख्तियारभित्रै अनुसन्धान महाशाखा छ । त्यही परिसरमा अख्तियार सुरक्षार्थ विशेष कार्यदलको टोली पनि तैनाथ छ । आव २०८१/८२ को वार्षिक प्रतिवेदन लेखनमा जुटेका कर्मचारी र सुरक्षाकर्मी २४ भदौमा अख्तियार कार्यालयमै थिए । कर्मचारीहरू बिहानै ९ नबज्दै कार्यालय पुगिसकेका थिए । बिहानैदेखि सम्भावित परिस्थितिबारे प्रहरीले अख्तियार प्रशासनलाई निरन्तर जानकारी गराइरहेको थियो ।
बाहिर सडक/चोकतिर तोडफोड र आगजनी सुरु भएपछि अख्तियारमा रहेका केही पदाधिकारीलाई प्रहरीले सुरक्षित स्थानमा पुर्याइसकेको थियो । दिउँसो १ देखि ४ बजेको अवधिमा अख्तियार भवनमा रहेका सबै कर्मचारी सुरक्षित स्थानतर्फ लागे । अख्तियारमा कार्यरत केही कर्मचारीका निजी निवास पनि प्रदर्शनकारीको निसानामा परिसकेका थिए । यो घटनाक्रम चलिरहँदा अख्तियारभित्र प्रदर्शनकारीलाई छिर्न नदिन प्रहरीले हरप्रयास गरे पनि उग्र बन्दै आएको भीड ४ बजेपछि कार्यालयभित्र छिरेर विध्वंस मच्यायो । अख्तियार छिर्न खोज्ने भीड सुरुमा सानै थियो । विशालनगरतिरबाट आएको भीड पटक–पटक भित्र छिर्न खोजेको थियो । पछि शीतलनिवासमा आगजनी गरेर फर्किएको समूह अख्तियार बाहिर आइपुगेको थियो । अरु ठाउँबाट आएको हुल पनि मिसिएपछि मूल ढोकाबाट जबर्जस्ती गरेर प्रदर्शनकारी अख्तियार कार्यालयभित्र छिरेका थिए ।
यो बेलासम्म अख्तियारका कर्मचारी बाहिरिसकेका थिए । भित्र सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ थिए । भाटभटेनीमा आगजनी गरेर आएको समूहले अख्तियार बाहिर गेटमा तोडफोड र ढुंगामुढा गर्न थालेपछि त्यहाँ तैनाथ सुरक्षाकर्मीले ‘सम्झाइ–बुझाइ’ गरेर सुरुमा त आजगनी हुनबाट जोगाए ।
त्यस दिन अख्तियार परिसरमै रहेका एक सुरक्षाकर्मी भन्छन्, ‘दिउँसो १ बजेदेखि नै अख्तियारबाहिर आएको भीड भित्र छिर्न खोजेको थियो, हामी मूल ढोका बन्द गरेर भित्र र बाहिर सुरक्षा तैनाथमा थियौं । बाहिर रहेको भीडलाई करिब ३ घण्टासम्म निरन्तर सम्झाउँदै–फर्काउँदै गरेर अख्तियारलाई सुरक्षित राख्यौं, भिडमा भएका कतिपय हाम्रो आग्रहलाई मानेर फर्किन्थे, अर्को टोली फेरि आउँथ्यो, यसैगरी सम्झाउँदै तर जब सबैतिरबाट आएको समूह एक ठाउँमा जम्मा भयो, अनि हाम्रो केही लागेन । दिउँसो ४ बजेपछि भित्र छिरेर आगजनी, लुटपाट र तोडफोड हुन थाल्यो ।’ सुरुमा बाहिर रहेका सवारी साधनमा आगो लगाइयो । त्यसपछि भित्र छिरेर लुटपाट मच्याइएको थियो ।
भदौ २४ को दिउँसो ४ बजेतिर अख्तियारभित्र छिरेको समूह सुरुमा लुटपाटमा केन्द्रित थियो । त्यस दिन क्षति हुन नपाएका सीसी क्यामेराका फुटेजअनुसार भित्र छिरेर ल्यापटप, कम्प्युटरलगायत उपकरण र डिभाइसहरू लुटपाट भएको देखिन्छ । अख्तियार छिरेको समूहले करिब ३ घण्टासम्म लुटपाट र तोडफोड गरिरह्यो । त्यसदिन अख्तियारमा संयोगले अनुसन्धानका फाइलहरूमा भने क्षति हुन पाएन । प्रशासन महाशाखा र फरेन्सिक ल्याब रहेका कोठा जलेर ध्वस्त भए पनि अनुसन्धानसँग जोडिएका फाइलहरू सुरक्षित भेटिए । ‘भित्र कोठा–कोठा छिरेर कम्प्युटर, ल्यापटप चोरिए, कर्मचारीले राखेका खानेकुरा र पिउने पानी पनि तल लगेर प्रयोग गरेको भेटियो, करिब पौने ७ बजेसम्म कोठा–कोठामा छिरेर लुटपाट मच्याइएको देखियो,’ अख्तियारका एक कर्मचारी भन्छन् ।
अख्तियारमा आगजनी गरिसकेपछि त्यहाँबाट जल्न बाँकी रहेको एउटा गाडी (अख्तियारका कर्मचारी ओसारपसार गर्ने गाडी) प्रदर्शनकारीले लिएर डिल्लीबजार कारागार बाहिरसम्म पुर्याएका थिए । कारागारबाट कैदीबन्दी भगाउनलाई उक्त गाडी लगेको तर त्यहाँ सुरक्षाकर्मीले कैदी भगाउने प्रयास सफल हुन नदिएपछि भोलिपल्ट अख्तियारको गाडी सडक छेउमै अलपत्र अवस्थामा भेटिएको एक कर्मचारीले सुनाए । ‘अख्तियारको गाडी लगेर कैदीबन्दी भगाउने योजना बुनिएको रहेछ, यो योजनाका लागि अकस्मातको तयारीले होइन, पूर्वयोजना र नियोजित रूपमा आएको समूहले अख्तियार जलाएको स्पष्ट हुन्छ,’ त्यस दिनका एक प्रत्यक्षदर्शी सुरक्षाकर्मीले सुनाए ।
यसरी बिहानबाटै तोडफोड र आगजनीबाट जोगाइएको अख्तियार दिउँसो ४ बजेपछि सुरक्षाकर्मीको काबुबाहिर गएको थियो । अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार २० वटा कम्प्युटर फुटाइएको छ । १० वटा प्रिन्टर, ६ वटा ल्यापटप, १० वटा कम्प्युटर लुटिएका छन् । इलेक्ट्रोनिक्स डिभाइस १० वटामा आंशिक र १३ वटामा पूर्ण क्षति पुर्याइएको छ । केन्द्रीय कार्यालयसहित २१ वटा भवनमा आंशिक र एउटा भवन पूर्ण रूपमा क्षति भएको छ ।
टंगालस्थित कार्यालय परिसरमा रहेका १६ वटा चारपांग्रे, ५७ वटा २ पांग्रे सवारीसाधनमा पूर्ण र चारपांग्रे १६ र दुईपांग्रे एउटामा आंशिक क्षति भएको छ । अख्तियारकै इटहरी कार्यालयमा रहेका ४ वटा गाडी र ६ वटा मोटरसाइकलमा पूर्ण क्षति तथा एउटा गाडी र २ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । हेटौंडामा ४ वटा गाडी र ८ वटा मोटरसाइकल, पोखरामा २ वटा गाडी र ६ वटा मोटसाइकलमा क्षति पुगेको छ । अख्तियारको बुटवल कार्यालयका ३ वटा गाडी जलाइएका छन् । बुटवलकै एउटा गाडी र २ वटा मोटरसाइकल तोडफोड गरिएको छ । कञ्चनपुर कार्यालयमा ४ वटा मोटरसाइकल तोडफोड गरिएको छ ।
‘अख्तियारको टंगाल कार्यालयसहित देशभर तोडफोड र आगजनीबाट कति रकमबराबरको क्षति भयो भनेर मूल्यांकन हुने क्रममा छ,’ अख्तियार प्रवक्ता पौडेलले कान्तिपुरसँग भने, ‘भवनको मूल्यांकन सरकारबाट भएपछि मात्रै आउला, लुटिएका, आगजनी गरिएका र तोडफोड भएका भौतिक सम्पत्तिको विवरण भने संकलन गरिएको छ ।’
