इजिप्टमा इजरायल र हमासबीच भएको युद्धविरामको सहमतिअनुसार सोमबार स्थानीय समय दिउासो १२ बजेभित्र (नेपाली समय अपराह्न २ः४५ सम्म) हमासको कब्जामा रहेका ४८ जनालाई रिहा गरिसक्नुपर्ने, त्यस अवधिमा सबै बन्धकलाई हस्तान्तरण गर्न नसकिने भन्दै हमासद्वारा थप समय माग
What you should know
काठमाडौँ — घेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो ए साथी, तिमी कहा छौ भनन ? लामो दिनहरू काट्न नै गाह्रो भो..’
इजरायलको आलुमिम किबुजको त्यो साँझ । जहाँ कञ्चनपुरका २३ वर्षीय विपिन जोशी आफ्ना दुई साथी धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलको साथमा यो गीतको लय हाल्दै थिए । इजरायलको उखरमाउलो गर्मीमा पसिना बगाई साँझ आफ्नो बासस्थानमा फर्केर आफन्त र साथीभाइको सम्झनामा जोशी गाउँदै थिए–
‘सम्झना बाँकी छ, हाम्रा ती पलको
सँगै नहोला तर साथ सधैं भरको..’
चौधरीको साथमा विपिनले गाएको यो गीतको भिडियो सुरक्षित छ । ‘हामीले साथीभाइको सम्झना स्वरूप गाएको यो गीत नै विपिनको वास्तविक जीवनसँग मेल खान गयो,’ उनले भने । विपिन प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेको शनिबार ७ सय ३६ दिन पुग्यो । तर अझै उनको अत्तोपत्तो छैन । ‘आखिर ऊ कहाँ पुग्यो ? छ कहाँ ?,’ चौधरीले भने, ‘जसरी विपिनलाई मेरो आँखै अगाडि हमासले लिएर गएको थियो, त्यसरी नै छाडिदिएको हेर्न व्यग्र प्रतीक्षामा छु ।’
...
त्यो कालो दिन अर्थात् २२ असोज २०८० (७ अक्टोबर २०२३) मा हमासले विपिनलाई कसरी कब्जामा लियो ? चौधरीले सम्झिए, ‘आलुमिममा हामी १७ नेपाली सँगै थियौं । इजरायलीसँगै सामूहिक खेती गर्थ्यौं । त्यहाँ कुखुरा पालिएको थियो । सागसब्जी हुन्थ्यो । फलफूल खेती थियो ।’
त्यो दिन बिहानै एक्कासि बाहिर गोली चलेको उनले बताए । ‘दुई जना साथीहरू वी आर नेपाली, वी आर नेपाली भनेर बाहिर निस्किए । दुवै जनामाथि सुट भइहाल्यो,’ चौधरी भन्छन्, ‘हामी १५ जना बंकरको एउटा कुनामा लुकेका थियौं, बंकरको ढोका खुल्लै थियो । एक–दुई मिनेटभित्रै हमासले बंकरभित्र दुई वटा ग्रिनेड फालिदियो । एउटालाई विपिनले उठाएर बाहिर फालिदिए । अर्को भित्रै पड्कियो ।’
त्यसको तीन मिनेटसम्म आफूलाई केही महसुस नै नभएको उनी बताउँछन् । ‘आँखा नै देखिएन । मेरो खुट्टा झुम्म थियो । खुट्टाबाट रगत बगिरहेको थियो । कसैको दुइटै खुट्टा थिएन । केही अन्तरालमा विपिनसहित थाई नागरिकलाई हमासले लिएर गयो,’ उनले सम्झिए ।
त्यो घटनामा १० नेपाली विद्यार्थीको ज्यान गयो । ५ जना सख्त घाइते भए । एक सकुशल रहे । चौधरी भन्छन्, ‘साथी विपिन तिमी जहाँ छौं । ठीक हौलाउ । अझै यस्तो भिडियो बनाउनुपर्छ । फर्केर आउनेछौं । हामी सबै तिमीलाई उद्धार गर्न कोसिसमा लागेका छौं । तिम्रा लागि अन्तिमसम्म लड्नेछौं ।’
...
इजिप्टमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएसँगै हमासको बन्धकमा रहेका विपिनलगायत व्यक्तिहरू रिहा हुने आशा बढेको छ । सहमति भएको अमेरिकी शान्ति योजनाको पहिलो चरणअन्तर्गत सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेभित्र हमासको कब्जामा रहेका ४८ जनालाई रिहा गरिसक्नुपर्नेछ ।
युद्धविराम कार्यान्वयन गर्ने घोषणा भएको ७२ घण्टापछि बन्धकलाई मुक्त गर्ने सहमति छ । अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा भएको वार्तामा सहमति भएअनुसार शुक्रबार स्थानीय समय १२ बजे इजरायलको मन्त्रिपरिषद्ले युद्धविराम घोषणा गरेको थियो ।
इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका २५१ जनामध्ये विपिनसहित ४८ बन्धक ल्याउन बाँकी छ । त्यसमा २० जना जीवित रहेको अनुमान छ । २६ जनाको मृत्यु भइसकेको र दुई जना विपिन जोशी र तमिर निमरोडीको अवस्था अज्ञात रहेको सूचना इजरायलसँग छ । तमिर इजरायली सेना शिक्षा अधिकृत हुन् । उनी एरेज क्रसिङमा कार्यरत रहेका बेला अपहरणमा परेका थिए । उनकी आमा हेरुतले उनलाई अन्तिमपटक सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अपहरणको भिडियोमा देखेकी थिइन् । त्यसयता, उनले छोराको अवस्थाबारे कुनै जानकारी पाएकी छैनन् ।
हमासले ७२ घण्टाभित्र सबैलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागिराखेको छ । बन्धक परिवार र इजरायल सरकारसँग समन्वय गरिरहेकी अन्तर्राष्ट्रिय सञ्चार टोलीकी सदस्य इफरातले शनिबार दिउँसोसम्म हसासले हस्तान्तरण गर्ने जीवित र मृत्यु भएकाको आधिकारिक नामावली पठाइनसकेको कान्तिपुरलाई बताइन् । ‘हामीसँग विपिनसँग सम्बन्धित कुनै सूचना छैन । अपहरणबाट मुक्त गरिएका बन्धकसँग पनि कुराकानी भएको छ । उनीहरूले पनि विपिनलाई देखेको र भेटेका छैनन्,’ इफरातले भनिन् ।
विपिनको परिवारले भने आफूहरू निकै आशावादी रहेको बताउँदै आएका छन् । विपिनको परिवारले नोभेम्बर २०२३ मा हमासले कैद गरेको भिडियोबाहेक अरू सूचना प्राप्त गरेको छैन । एक वर्ष अगाडि उनीहरूले पाएको भिडियोलाई गत बुधबार राति इजरायलमा सार्वजनिक गरिएको थियो । त्यो भिडियोलाई उनीहरूले ‘जीवनको प्रमाण’ भन्दै सम्झौता हुनु एक दिन अगाडि सार्वजनिक गरेका थिए ।
‘म, बुबा र आमासँगै बसेर यो भिडियो हेरेका थियौं । दाइलाई कतै चोट लागेको थिएन । भिडियो हेरेपछि हामी कसैले आफूलाई रोक्न सकेनौं,’ बुधबार राति भिडियो सार्वजनिक गर्दै विपिनकी १७ वर्षीया बहिनी पुष्पाले भनिन्, ‘मेरो दाइ जीवत नै छ भन्ने यो एउटा चिनो हो । यो देखेपछि हामी आशावादी भएर बसेका छौं । र, दाइलाई बन्धकबाट छुटाउन निकै पहल गरिरहेका छौं ।’ अहिले बहिनी पुष्पा र आमा पद्मा विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन अमेरिकामा छन् ।
हमासको बन्धकमा रहेपछि विपिनको यो दोस्रो भिडियो हो । यसअघि विपिनलाई अक्टोबर ७ मा हमासले बन्धक बनाएर एउटा अस्पतालभित्र लैजाँदै गरेको भिडियो सार्वजनिक गरिएको थियो । परिवारका अनुसार विपिनलाई भेट्न दिनगन्ती सुरु भएको छ । युद्धविरामपछि बन्धकको रिहाइ हुने सूचनाले परिवारमा थप खुसी, चिन्ता र प्रतीक्षा बढेको छ ।
‘हामीले युद्धविराम चाहेका थियौं । शान्ति चाहिएको थियो । त्यो भयो । अब यसले विपिनलाई सकुशल भेट्न पाइनेछ भन्ने आशा बढेको छ,’ विपिनका बुबा महानन्दले कान्तिपुरसँग भने, ‘हामी धेरै आशावादी छौं । हामीले धेरै पर्ख्यौं । अब भने हामीबीचको दूरी छोटिँदै गइरहेको छ ।’
युद्धविरामको घोषणाले इजरायलमा कार्यरत नेपाली पनि निकै खुसी भए । इजरायलको कृषि र कियरगिभर क्षेत्रमा झन्डै ५ हजार जना नेपाली कार्यरत छन् । गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले दुई वर्ष निकै कठिनसँग बितेको बताए । ‘बुधबार दिनभर हाम्रा लागि उत्सवमय दिन जस्तै भइदियो । यहाँ हरेकको अनुहारमा खुसी छाएको छ । तेलअविवको होस्टेज स्क्वायरमा हजारौं व्यक्ति भेला भएर खुसी मनाइएको थियो,’ उनले भने, ‘कर्मथलोमा शान्ति छाएपछि हाम्रो परिवारलाई आनन्द हुन्छ । नत्र सधैंको चिन्तैचिन्ता थियो । अब अर्को खुसीको खबरको प्रतीक्षामा छौं, जुन विपिनको सकुशल रिहाइ हो ।’
...
युद्धविराम सुरु भएसँगै शुक्रबार दिउँसो १२ बजेदेखि नै ७२ घण्टाको समयसीमा प्रारम्भ भइसकेको छ । इजरायली सञ्चारमाध्यमद्वारा प्रकाशित सम्झौताअनुसार जीवित र मृत बन्धकको शव पनि यही ७२ घण्टाभित्र फिर्ता गर्नुपर्नेछ । यो अवधि सोमबार १२ बजेसम्म समाप्त हुनेछ । यसको बदला इजरायली जेलमा आजीवन सजाय भोगिरहेका २५० जना प्यालेस्टिनी कैदी र गाजाका १७ सय बन्दी रिहा गर्नुपर्नेछ ।
युद्धविराम कार्यान्वयनमा आएको २४ घण्टा बितिसक्दा पनि हमासले जीवित भनेर अनुमान गरिएका २० जनाको नामावली दिइसकेको छैन । यता शुक्रबार इजरायलको न्याय मन्त्रालयले सार्वजनिक गरेको रिहा हुने कैदीको नाममा हमासका चर्चित नेता मारवान बारघौती र अहमद सादात समावेश छैनन् । जसलाई हमासले रिहा गर्नुपर्ने माग गरेको थियो । यो नामसहित हाई प्रोफाइल नेता नपरेपछि बन्धक कैदी साटासाट हुने समयतालिका प्रभावित हुने देखिएको छ ।
इजरायली कारागार प्रशासनले भने सूचीमा परेका कैदी रिहा गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले बन्धक र कैदी रिहाका लागि तयारी गरिरहेको छ । यसअघि पनि आईसीआरसीले समन्वय र सहजीकरण गरेको थियो । बन्धकलाई हमासबाट लिएर इजरायललाई हस्तान्तरण गर्ने काम गरेको थियो । त्यसपछि तिनीहरूलाई हेलिकोप्टरमार्फत इजरायली अस्पताल लगिएको थियो । जहाँ उनीहरूको स्वास्थ्य परीक्षण र परिवारसँग पुनर्मिलन गराइएको थियो ।
युद्धविरामपछि इजरायली सेनाले गाजा सिमानामा स्वागत केन्द्रहरू तयार गरेको छ । जहाँ चिकित्सक, सामाजिक कार्यकर्तालगायत विशेषज्ञ उपस्थित रहनेछन् । ‘हामी पहिलो चरणमा भिटामिन, केही खानेकुरा र पिउने कुरा दिन्छौं, अनि परिवारसँग पुनर्मिलन गराइन्छ,’ इजरायली रक्षा बलका मेडिकल कोर्प्सका उपप्रमुख कर्नेल डा. एभी बनोभले बीबीसीसँग भने । मृत्यु भएका बन्धकलाई भने सेनाले जिम्मा लिई सम्मानमा एक सानो समारोह गर्नेछ । त्यसपछि फरेन्सिक परीक्षणमा लगिनेछ ।
...
युद्ध सुरु भएयताको दुई वर्षमा इजरायली आक्रमणमा गाजामा कम्तीमा ६७ हजार २ सय ११ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक लाख ६९ हजार भन्दा बढी घाइते भएका छन् । युद्धविराम लागू भएपछि गाजा सिटी र उत्तर गाजाबाट विस्थापित भएका दसौं हजार प्यालेस्टिनी पुनः आफ्नो ध्वस्त घरतर्फ फर्किन थालेका छन् । युद्धविरामपछिको पहिलो दिनदेखि नै बालबालिका, महिला, वृद्धहरूसहितको सयौं परिवार गाडी, गधा–गाडामा पाल, खाट बोकेर गाजा सिटीतर्फ फर्किरहेका छन् ।
गाजाको प्रमुख सडक अल–रासिद, जहाँबाट अघिल्लो महिना लगातार स्थानीयले उत्तर–दक्षिण आवागमन गरेका थिए, अहिले फेरि एक पटक मानव सागरको त्यही दृश्य यो सडकमा देखिएको छ । ‘एक पटक फेरि विस्थापित नागरिक यही बाटो प्रयोग गरेर फर्किरहेका छन्,’ अल जजिराका संवाददाता हानी महमुदले भनेका छन् । ध्वस्त भएको घरको भग्नावशेषमाथि पाल टाँगेर स्थानीय बस्न थालेका छन् ।
अल जजिराका अनुसार गाजा सिटी फर्किने अधिकांश नागरिकको घर क्षतिग्रस्त छ । गाजामा तत्काल अस्थायी आश्रयस्थल, खानेपानी, औषधोपचार र सुरक्षित आवासको अभाव छ । ‘यद्यपि यो फर्किने लहर ऐतिहासिक छ, तर यससँगै गाजामा व्याप्त मानवीय संकट समाधान गर्न ठोस उपाय पनि आवश्यक छ,’ अल जजिराका संवाददाता तारेक अबु अजजुमले भने ।
...
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार युद्धविरामको निगरानी र पालना सुनिश्चित गर्न अमेरिकी सेनाको नेतृत्वमा २ सय जना बहुराष्ट्रिय सेना खटिनेछन् । यस सेनामा सम्भवतः इजिप्ट, कतार, टर्किए र यूएईका सैनिक हुने अपेक्षा गरिएको छ । अमेरिकी फौज गाजाको जमिनमा नखटिने जनाइएको छ ।
हालसम्म गाजाको ५३ प्रतिशत भूभाग इजरायली सेनाको नियन्त्रणमा छ । बन्धक मुक्त भएपछि इजरायली सेनाले गाजाको भूमि छोड्दै जाने अमेरिकी शान्ति योजनामा उल्लेख छ । ह्वाइट हाउसले गत साता सार्वजनिक गरेको नक्साअनुसार इजरायली फौजको तीन चरणमा हुने फिर्ती प्रक्रियाको अहिले पहिलो चरण हो । दोस्रो चरणमा इजरायलको नियन्त्रण ४० प्रतिशत र अन्तिम चरणमा १५ प्रतिशतमा सीमित गरिनेछ । अन्तिम चरणलाई ‘सुरक्षा परिधि’ भनिएको छ, जुन ‘गाजा क्षेत्रबाट पुनः आतंकको खतरा पूर्ण रूपमा नहटेसम्म कायम रहने’ उल्लेख गरिएको छ ।
शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले हतियार नत्यागे युद्ध पुनः सुरु गरिने चेतावनी दिएका छन् । ‘हमास निःशस्त्र हुनेछ, गाजा असैन्य बनाइनेछ । यदि यो सजिलो तरिकाले सम्भव भयो भने राम्रो । नभए बल प्रयोग गरेर गरिनेछ,’ इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी भिडियोमा उल्लेख छ ।
बीबीसीका मध्यपूर्व संवाददाता ह्युगो बाचेगाका अनुसार यो युद्धविराम र बन्धक सम्झौता लामो समयदेखि प्रतीक्षित प्रगति हो । ‘तर, यसले युद्ध अन्त्यको सुनिश्चितता अझै गर्दैन । किनभने अझै पनि धेरै महत्त्वपूर्ण विवरण तय हुन बाँकी छ,’ उनले बीबीसीमा लेखेका छन्, ‘हमासले कसरी हतियार त्याग्नेछ ? युद्धविरामपछिको शासन प्रणाली कस्तो हुनेछ ? गाजाको पुनर्निर्माणका योजना कसरी अगाडि बढ्नेछ भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन ।’
