जेन–जी आन्दोलनमा घाइते भएकाहरूले आफ्नो पीडाभन्दा पनि देशको परिवर्तनप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अब भ्रष्टाचारमा संलग्नहरूले फेरि टाउको उठाउन नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् भने घाइतेहरूको उपचारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
What you should know
काठमाडौँ — २३–२४ भदौमा देशभर भएको जेन–जी आन्दोलनमा २ हजार ३ सय ९६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । १ हजार ९ सय ५९ जना उपचारपछि घर फर्केका छन् भने काठमाडौंका १६ अस्पताल र विभिन्न जिल्लाका ३२ अस्पतालमा २ सय ८० जना उपचाररत छन् ।
काठमाडौं र ललितपुरका विभिन्न अस्पतालमा उपचाररत १० जना घाइतेसाग कान्तिपुरकर्मीले गरेको कुराकानी :
जेन–जी आन्दोलनमा घाइते भएका युवा हुन्, २२ वर्षीय युवराज उपाध्याय । वीर अस्पतालको शय्यामा भेटिएका उनी २३ भदौको जेन–जी आन्दोलनमा घाइते भएका थिए, तर दोस्रो दिन पनि आन्दोलनमा सहभागी भए ।
‘स्नातक पहिलो वर्ष पढिरहेको छु । विदेश जाने सोच छैन । देश परिवर्तनका लागि आन्दोलनमा होमिएँ । पेट र हातमा गोली लाग्यो । तैपनि डराएको छैन,’ उनले भने, ‘पहिलो दिन संसद् भवनअघि प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा छेउमा रहेका युवक ढले । अर्को गोली मलाई लाग्यो ।’
त्यसपछि उनलाई एभरेस्ट अस्पताल पुर्याइयो । सामान्य उपचारपछि त्यही दिन डिस्चार्ज भए । १९ जना युवा मारिएपछि भोलिपल्ट पनि आन्दोलनमा सहभागी भएको युवराजले बताए । ‘दुखाइ कम गर्ने औषधि खाएर आन्दोलनमा गएँ । मेरो देश बन्छ भने मर्न नै तयार छु भन्ने थियो,’ उनी सुनाउँछन् ।
तर आन्दोलन सकेर फर्किंदा बेलुका बिछट्टै पेट दुख्यो । सहन गाह्रो भयो । ज्वरो आयो । युवराजसँग विशाल भारती साथी थिए । साथी लिएर ट्रमा सेन्टर पुगे । त्यहाँ गम्भीर घाइतेको भीड नै थियो । ट्रमाले वीर अस्पताल रिफर गर्यो । ‘अहिले म बेडमा थला परेको छु,’ उनी भन्छन्, ‘पेटमा दुखिरहेको छ । तर दुख्नु ठूलो कुरा हैन । देश बन्छ भने मलाई मर्नै पनि डर छैन ।’
सुशीला कार्की प्रधानमन्त्री भएपछि उनी चौपट्टै खुसी छन् । ‘देशले आमा प्रधानमन्त्री पाएको छ । घाउको ठाउँमा मलम बनेर आउनुभएको छ । यो कुराले असाध्यै खुसी छु,’ उनी गर्विलो सुनिन्छन्, ‘आशा छ, भ्रष्टाचारीको फाइल पल्टिन्छ । देशले सुशासनको बाटो समाउँछ ।’
वीर अस्पतालकै अर्को शय्यामा बाजुराका २० वर्षीय साजन रोकाया पल्टिरहेका छन् । गोलीले छाती छेडेर फोक्सो छोएको छ, उनको । डाक्टरले उनलाई नबोल्न सुझाएका छन् । साजन ह्वाइट हाउस कलेजमा प्लस टु सकेर विदेश जाने तरखरमा थिए । कपडा पसलमा काम गर्थे । खर्च आफैं जुटाएर पढेका थिए ।
भ्रष्टाचार अन्त्यको माग राख्दै २३ भदौको आन्दोलनमा होमिएका उनलाई गोली लाग्यो । ‘देश परिवर्तनको आस बोकेर आन्दोलनमा गएका थिए । गोली लाग्यो,’ उनलाई कुरुवा बसेका नातेदार दीपक रोकायाले भने । उनको पाखुरा, पेट, छातीमा चोट लागेको छ । ‘डाक्टरले गोली निकाल्न बाँकी छ भनेका छन्,’ दीपकले भने, ‘साजनको अप्रेसन गर्न बाँकी छ ।’ सरकारले निःशुल्क उपचार गर्ने भने पनि उनीहरूको खर्च भने भइरहेको छ ।
धादिङ धुनिबेंसीका २४ वर्षीय अमित बस्नेत पेसाले चालक हुन् । दोस्रो दिनको प्रदर्शनमा प्रहरी वृत्त स्वयम्भू अगाडि गोली लागेको उनले बताए । मनमोहन मेमोरियल मेडिकल कलेजमा उपचाररत छन् । पेटमा गोली लागेको उनको देब्रे खुट्टा चलेको छैन । आन्दोलनबारे उनलाई जानकारी भए पनि उनी आफ्नै काममा व्यस्त हुँदा पहिलो दिन सहभागी भएका थिएनन् ।
‘साँझ आफ्नै उमेर समूहका १९ जनाभन्दा धेरै साथीको मृत्युको खबर सुनेपछि मन नै मानेन,’ अमितले भने, ‘बालबालिकालाई गोली हानेर समस्या समाधान हुँदैन जस्तो लाग्यो । साना भाइबैनीलाई गोली हान्नु अन्याय भयो भनेर साथीहरूसहित काठमाडौं आएको थिएँ । मलाई चाहिँ गोली लाग्यो ।’
नाराबाजी गरे पनि ढुंगामुढा नगरेको बताउँछन् उनी । प्रहरी कार्यालयभित्रबाट एक्कासि चलाइएको गोली आफूलाई लागेको उनको बताए । अन्य अस्पतालमा घाइतेलाई भेट्न प्रधानमन्त्रीदेखि जेन–जी अभियन्ताहरू पुगेको खबर सुने पनि आफ्नो हालखबर सोध्न कोही नआएको उनको दुःखेसो गरे । ‘अरू घाइते भेट्न प्रधानमन्त्री सुशीला, मन्त्री, जेन–जी अभियन्ता पुगेको सुनें,’ उनले भने, ‘मेरोमा त कोही पनि आउनुभएको छैन । यस्तो समयमा भेटेर हामी छौं भन्ने मान्छे भए पनि ठूलो आडभरोसा हुँदो रहेछ ।’
अस्पतालकै बेडमा हुँदा उनलाई आफ्नोभन्दा परिवार व्यवस्थापनकै चिन्ता छ । ‘एक महिनाअघि ऋण खोजेर भाइलाई दुबई पठाएँ । काम पाएको छैन भनेको छ,’ अमितले थपे, ‘भाइ जाँदाको २ लाखसहित ६ लाख जति ऋण छ । ५ असोजमा बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्तामा छु ।’ अमितका अनुसार ब्याज र किस्ता गरेर १७ हजार रुपैयाँ बुझाउनुपर्छ ।
उनलाई साथीहरूले पालो गरेर कुरेर बसेका छन् । निःशुल्क उपचार भए पनि सबै औषधि अस्पतालभित्र मात्र पाइएको छैन । बाहिर किन्नुपर्ने औषधि र खानपानमा आफ्नै खर्च भएको गुनासो पोखें । १६ हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उनले भने, ‘गोली लागेपछि पहिले जस्तो काम गर्न सक्दिनँ होला । बुबा हुनुहुन्न, आमाको हेरविचार कसले गर्ने ? बाँच्न त बाँचें तर उमेरमा नै अपांग हुने भए ।’
आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुने हो कि भन्ने चिन्ताले पिरोलेको छ उनलाई । ‘म दुःख नै गरेर खाने मान्छे हुँ । देशका लागि परिवर्तनको आशा बोकेर आउँदा गोली लागेको हो । देश राम्रो हुन्छ, सुशासन कायम हुन्छ, राजनीति सुध्रन्छ, भ्रष्टाचार पनि अन्त्य हुन्छ भनेर आएको थिएँ,’ उनले भने, ‘तर हामीलाई अहिलेसम्म भेट्न सरकारबाट कोही पनि आउनुभएको छैन । जेन–जीका नेताहरू पनि देखेको छैन ।’
साथीहरूसँग खेलिरहेकी ललितपुरकी १४ वर्षीया संगीता लामा प्रहरीले चलाएको गोलीको छर्रा लागेर घाइते छिन् । छोरीको उपचारका लागि ट्रमा सेन्टरमा भेटिएकी कुमारी लामाले भनिन्, ‘हामी पुल्चोक नजिकै कोठामा बस्दै आएका छौं । नानीबाबुहरू सधैंझैं खेलिरहेका थिए । २४ भदौ बिहानै प्रहरीले हानेको गोलीको छर्रा मेरो नानीको देब्रे खुट्टामा लागेको छ । छोराको गाला र पाखुरामा आगोले पोलेको छ ।’ संगीताका दाइ राजकुमार उपचारपछि घरमै छन् । संगीताको अप्रेसन भएकाले अझै केही दिन अस्पतालमै बस्नुपर्ने उनले सुनाइन् ।
सरकारले घाइतेको निःशुल्क उपचार गर्ने भने पनि संगीताको उपचारमा भने अस्पतालले सहज रूपमा नगर्दा वडाबाट सिफारिस लिनुपरेको दुखेसो उनले गरिन् । छोरी घाइते भएपछि नजिकैको अल्का अस्पताल लगिएको थियो । अल्काबाट डिस्चार्ज भएर घर लगेपछि खुट्टा सुनिएकाले पुनः अस्पताल भर्ना गरिएको उनले बताइन् ।
अस्पतालले सिफारिस मागे पनि राज्यले भनेको जसरी निःशुल्क उपचार नपाउने भएकाले ट्रमा आएको उनको भनाइ छ । ‘पहिले नै अर्को अस्पताल आएको भए छिटो उपचार पाउने रहेछ,’ उनले भनिन् । घाइते संगीतालाई भने आन्दोलनको धेरै जानकारी नभए पनि देश राम्रो होस् भन्ने लाग्छ । उनी अचानक प्रहरी चौकी वरिपरि धेरै मान्छे जम्मा भएको र आफूहरू भाग्न खोज्दा गोली लागेको बताउँछिन् ।
काभ्रे घर भए पनि लामा परिवार २२ वर्षदेखि यतै बस्दै आएको छ । घरको परिवारको जिम्मेवारी पनि कुमारीको नै काँधमा छ । ‘श्रीमान् कुलतमा लाग्नुभएको छ । भनेको नै मान्नु हुन्न । दुई छोरी र एक छोराको जिम्मेवारी मेरै हो,’ कुमारीले भनिन्, ‘म हातमा लगाउने बाला बनाउने काम गर्छु । यसले नै घर खर्च चल्छ । छोराछोरीलाई राम्रो पढाउने इच्छा छ ।’
ललितपुरको जावलाखेलमा २४ भदौको आन्दोलनमा सहभागी भएका थिए, २१ वर्षीय सञ्जय घिसिङ । सँगैको युवक गोली लागेर ढले । त्यतिन्जेलसम्म भागदौड मच्चिसकेको थियो । गोली लागेका ती युवकलाई उठाउने कोही भएन । मकवानपुर कुलेखानीका सञ्जयलाई युवकलाई छोडेर भाग्न मनले दिएन ।
युवकलाई उठाउन सहारा दिँदै थिए । पछाडिबाट प्रहरीले चलाएको गोली दाहिने हातमा लागेर वारपार भयो । उनी त्यो क्षण सम्झन्छन्, ‘किन हात झिन्न गर्यो भनेर हेर्दा छिन्न मात्र बाँकी थियो । दुई वटा नसा र छालाले मात्र झुन्डिरहेको थियो ।’
दाइले पाटन अस्पतालमा उपचारका लागि पुर्याएको उनले सुनाए । पाटन अस्पतालले थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रेफर गर्यो । अहिले त्रिवि शिक्षण अस्पतालको बेड नम्बर १०५९ मा उपचाररत छन् । उनी पठाओ चालक हुन् । त्यही पेसाबाट परिवार पाल्दै आएका हुन् । उनको बुबाआमा र १८ वर्षीय भाइ सञ्जीप घिसिङ पाटनमा भाडामा बस्दै आएका हुन् । उनी सकेसम्म नेपालमै केही गर्छु भनेर बस्दै आएका थिए ।
उनले अहिलेसम्म हातका औंला चलाउन सक्ने भएका छैनन् । चिकित्सकहरूले पहिला जस्तो सामान्य अवस्थामा फर्कंदैन भनिसकेको उनले बताए । उनका आमा माइलीले छोराको बलिदानको उचित कदर गर्न सरकारसमक्ष अनुरोध गरिन् ।
दायाँ छातीमा गोली लागेर वारपार भएको छ । पछाडि भ्वाङ परेको छ । चिकित्सकले घाउ निको हुन मात्रै दुई वर्ष लाग्ने बताएका छन् । घाउमा इन्फेक्सन भएका कारण गोली लागेको ठाउँबाट पाइपमार्फत फोहोर रगत बाहिर निकालिएको छ । नवलपरासी बर्दघाट नगरपालिका–१ का ४४ वर्षीय दिलबहादुर सारु मगर गोली लागेको घाउ लिएर टिचिङ अस्पतालमा उपचाररत छन् । ‘गोली एक इन्च मात्र तलमाथि भइदिएको भए के हुन्थ्यो होला । धन्न मुटुमा लागेनछ,’ उनले लामो सास फेर्दै भने ।
२३ भदौको प्रहरी दमन देखेर उनी भोलिपल्ट सामाखुसी क्षेत्रमा भएको आन्दोलनमा होमिएका थिए । भन्छन्, ‘छोरा भतिज सरहका स्कुलका केटाकेटीहरू गोलीले लडेको देखेर रगत तात्यो । रिस उठयो । अनि जेसुकै होस् भनेर आन्दोलनमा उत्रेका थियौं ।’ उनले आफूलाई गोली लागेको भन्दा पनि आन्दोलन सफल भएको सहानुभूति व्यक्त गरे । ‘भ्रष्टाचारले डुब्न लागेको देश बचाउन थियो,’ उनले भने, ‘कलिला बालबालिकाको बलिदान खेर नजाओस् । देश पुरानै दल र नेताको हातमा जानेप्रति सबै चनाखो होऔं ।’
नवलपरासीमा उनले करिब एक बिघा जमिनमा बंगुर फर्म, तरकारी खेती र माछा पालन गर्दै आइरहेका छन् । ५ वर्षअघि काठमाडौंमा मासु पसल गर्न आएका थिए । उनलाई अहिले व्यवसाय गर्न लिएको ऋण तिर्नभन्दा पनि देश विकास नहुनेप्रति चिन्ता छ । ‘देश विकास भएमा ऋण तिर्न ठूलो कुरो होइन,’ उनले भने ।
साँझ र राति घाउ निकै दुख्ने गरेको र दुखाइ कम गर्ने औष्धि सेवन गर्दै आएको उनले सुनाए । उनका कक्षा ५ र १ मा पढ्ने दुई छोरी छन् । बुबाआमा गाउँमै बस्छन् । उपचारपछि ठीक भएर घर फर्कने र छोराछोरीको पढाइ/लेखाइमा सहयोग गर्ने आशामा छन् उनी ।
जेन–जी आन्दोलनका क्रममा घाइतेमध्येका एक हुन्, अइवन मगर । काठमाडौंको ग्रान्डी हस्पिटलमा उपचाररत अइवनलाई २३ भदौमा दाहिने हातमा गोली लागेको थियो । बर्दिवास–२ बुद्धचोक घर भएका उनी परिवारका एक मात्र सहारा थिए । २१ वर्षका अइवन २ वर्षअगाडि प्लस टु सकेर काठमाडौं आएका थिए । काठमाडौंको सुन्धारामा साथीसँग मिलेर डेरामा बस्दै आएका उनी मार्केटिङको जागिर गर्थे । सोही जागिरले नै उनले आफ्नो खर्चसँगै गाउँमा भएका बाआमालाई हेरिरहेका थिए ।
देशमा हुने भ्रष्टाचार र बेथिसत रोक्नुपर्ने उनको भावना थियो । त्यही सोचअनुसार आन्दोलनमा पुगेका थिए । शान्तिपूर्ण आन्दोलन हुन्छ भन्ने विश्वास राखेर नै उनी आन्दोलनमा सहभागी भएका थिए । अपशोच भइदियो उल्टो । साथी र दाइसँग नारा लगाउँदै हिँडिरहेका उनी एकाएक गोलीको आवाजले झस्किए । उनी भन्छन्, ‘हामी नारा लगाउँदै अगाडि हिँडिरहेका थियौं । पछाडिबाट केटाहरूले ढुंगा हान्दै रहेछन् । एकाएक गोलीको आवाज सुन्यौं ।’
शान्तिपूर्ण आन्दोलन एक्कासि अशान्त हुन पुग्यो । अइवनकै अगाडि एकाएक गोली लागेर आन्दोलनमा आएकाहरू ढल्न लागे । ‘सबै मिलेर कतिलाई बोकेर एम्बुलेन्ससम्म पुर्याएका थियौं,’ उनी भन्छन् । सोही क्रममा बानेश्वरमा हिँडिरहेको बेला एक्कासि उनको हातमा पनि गोली लाग्यो । उनी रन्थनिए, हतारहतार ट्रमा सेन्टर लगियो । हस्पिटलमा उनी जस्तै घाइते भएर पुग्नेहरूको घुइँचो निकै नै ठूलो थियो । त्यहाँ डाक्टरले सामान्य उपचार गरी हातमा ब्यान्डेज लगाइदिए र अप्रेसन गर्नुपर्छ, भोलिपल्ट आउनु भनी सुझाव दिए ।
ग्रान्डी हस्पिटलले आन्दोलनमा घाइते भएका बिरामीको उपचार निःशुल्क गर्ने समाचार देखेपछि उनी साथीसँग २४ भदौ बिहानै हस्पिटल पुगें । गोलीले हातको हड्डी नै फुटेको रहेछ । आफू घाइते भए पनि देशले विकासमा गति लिने उनको विश्वास छ । उनी आन्दोलनका क्रममा दोस्रो दिन जलेका संरचनाको फोटो देखेर निकै नै दुःख लागेको बताउँछन् ।
उनका ७३ वर्षका बुबा छन् । आमा प्रेसर, सुगरकी बिरामी छिन् । उनी भन्छन्, ‘हात छिटो सन्चो भए काम गरेर बुबाआमाको औषधि किन्ने पैसा र घरखर्च पठाउन पाउँथें ।’ उनी आफ्नै देशमा पसशा, व्यवसाय गरेर बस्न चाहेको बताउँछन् ।
बनेपा नगरपालिका–३ का २६ वर्षीय रोशन पराजुली स्नातक तह सकेर बसिरहेका थिए । मास्टर पढ्न अस्ट्रेलिया जाने सोच बनाएका उनी एक महिना अगाडि मात्र काठमाडौं आएका हुन् । शंखमूलको डेरामा बसेर पीटीईको कक्षा लिइरहेका थिए । देशमा युवाले योग्यताअनुरूपको रोजगारी नपाउने कुराले उनलाई निकै मन दुख्थ्यो । ब्याचलर सकेर बसेका युवाहरूले महिनाको १०/१५ हजारको जागिर खाएर कसरी देशमा बस्ने ? कसरी घर परिवार हेर्ने भन्ने कुराले अन्य युवाको जसरी नै उनको मन पनि पोलिरहन्थ्यो । आफ्नो पुस्ताले भ्रष्टाचारविरुद्धको र्याली गर्ने थाहा पाएपछि उनी पनि २३ भदौको आन्दोलनमा साथीसँग सहभागी भए ।
नारा लगाउँदै सबैजना संसद् भवनतिर पुगिसकेका थिए । उनी सडक छेउमा बसिरहेका थिए । त्यतिखेरै गोली लागेको बताउँछन् । भन्छन्, ‘संसद् भवनतर्फ हुलदंगा भएको थियो, तर म त्यहाँ होइन, बाहिर फुटपाथमा बसिरहेको थिएँ, तर कताबाट देब्रे खुट्टा गोली लाग्यो ।’ उनी ९ दिनदेखि उपचाररत छन् ।
आन्दोलनका कारण देशले थोरै भए पनि परिर्वतन पाएकाले आन्दोलनमा गएकोमा पछुतो नभएको उनी बताउँछन् । रोशन परिवारका एक मात्र सन्तान हुन् । उनी देश राम्रो भएमा युवाहरू विदेशिन नपर्ने सोच्छन् । उनी आन्दोलनको दिन गोली चलाउन आदेश दिनेलाई कडाभन्दा कडा कारबाही होस् भन्ने चाहन्छन् । भन्छन्, ‘भ्रष्टाचार नियन्त्रण होस् । जसले घुसपेठ गरी तोडफोड र आगजनी गरे सबैले सजाय पाउनुपर्छ ।’
सिनामंगलस्थित केएमसी अस्पताल पुग्दा जीवन पोख्रेल तेस्रो तल्लाको भर्याङछेउ आफन्तसँग गफिँदै थिए । परैबाट देखियो, दाहिने हातमा लगाइएको ब्यान्डेज । सिन्धुपाल्चोक घर भई हाल काँडाघारीमा डेरा गर्दै आएका उनी केएमसीमा २४ भदौमा भर्ना भएका हुन् । आन्दोलनको दोस्रो दिन घाइते भएपछि उनलाई यहाँ ल्याइपुर्याइएको हो ।
उनको दाहिने हातमा गोली लागेको छ । बानेश्वर हुँदै कोटेश्वर आइपुग्दा हातमा गोली लागेको जीवन सुनाउँछन् । ‘मेरो हातको दुई औंलामा गोली लागेको छ । मभन्दा अघिको साथीलाई लागेको गोलीको छर्रा पनि मलाई लाग्यो,’ जीवनले सुनाए । गत आइतबार मात्रै जीवनको अप्रेसन भयो ।
जीवन, पेसाले ड्राइभर । २७ वर्षे उनी घरका कान्छा हुन् । पत्नी, ३ वर्षे छोरा र वृद्ध बुबाको जिम्मेवारी उनकै काँधमा छ । ऋण गरेर भदौ १९ मा मात्रै उनले बस किनेका थिए । अल्लारे उमेरदेखि बसमा हिँड्दा कमाएको थोरै पैसा र ऋण गरेर ३७ लाखमा अरनिको यातयात किनेका थिए । तर, जडीबुटीबाट खुर्कोट मन्थली गुडेको ४ दिन पनि नबित्दै स्टेरिङ चलाउनुपर्ने हातमा गोली लाग्यो ।
अहिले आफू अस्पतालमा थन्किँदा त्यही गाडी पनि थन्किएको उनी सुनाउँछन् । ‘गाडीको ऋण कसरी तिर्ने ? यस्तो हात लिएर पैसा कहिले कमाउने ? एउटा हातले त गाडी चल्दैन,’ हाततर्फ हेर्दै जीवनले भने, ‘घरको सबै खर्च/पानी मैले नै हेर्नुपर्छ । तनाव छ, तनाव भए पनि समयमै किस्ता तिर्नुपर्छ भनेर साहुले भनेका छन् ।’
आन्दोलनको पहिलो दिनबारे जीवनलाई खासै थाहा थिएन । जब कलिला युवाको ज्यान गएको खबर सामाजिक सञ्जालबाट थाहा पाएँ, तब सडकमा नआई मनमा चैन भएन । देशलाई परिवर्तन गर्न सकिएला कि भन्ने आस बोकेर आन्दोलनमा होमिए । तर, गोली लागेर कोटेश्वर अर्धचेत हुँदा पनि सहयोग गर्ने कोही पाएनन् । सिधै केएमसी दौडिए । ‘अहिलेसम्म त मेरो सबै उपचार सरकारले निःशुल्क गरिदिने कुरामा ढुक्क छु,’ उनले भने ।
महोत्तरीका २६ वर्षीय सञ्जय यादव आन्दोलनमा सरिक हुन काठमाडौं आएका थिए । भ्रष्टाचारविरुद्ध थालिएको आन्दोलनको पहिलो दिन बानेश्वर क्षेत्रमा गोली लागेको उनले बताए । ‘खुट्टामा गोली लाग्यो । अप्रेसन बाँकी छ । डाक्टरले स्टिल हाल्नुपर्छ भनेका छन्,’ केएमसीमा उपचाररत उनले भने ।
भ्रष्टाचारलाई हटाउँदै नयाँ परिवर्तन ल्याउन सडकमा उत्रिएको सञ्जय सुनाउँछन् । ‘हामीले यतिका समय पर्ख्यौं । तर, केही परिवर्तन भएन । त्यसैले आन्दोलनमा सहभागी भएँ । देशमा परिवर्तन आएन भने हामीले सहेको यो पीडा खेर जान्छ । त्यतिका मान्छेको ज्यान गयो, कति धेरै घाइते छन्,’ सञ्जयले भने ।
अहिलेलाई सरकारले निःशुल्क गर्ने भनिएको उपचारले केही राहत दिएको उनी बताउँछन । ‘यो घाउ त निको हुन्छ भन्ने ग्यारेन्टी छैन । पछि स्टिल निकाल्न आउँदा त्यसको पैसा कसले तिर्छ ?’ उनले प्र्रश्न गरे । घाइतेलाई सरकारले परिचयपत्र बनाइदिनुपर्ने उनको माग छ । जसले पछाडिको उपचारमा सहुलियत पुगोस् ।
