जीवन, पेसाले ड्राइभर । २७ वर्षे उनी घरका कान्छा हुन् । पत्नी, ३ वर्षीय छोरा र वृद्धा बुवाको जिम्मेवारी उनकै काँधमा छ । ऋण गरेर भदौ १९ मा मात्रै उनले बस किनेका थिए । अल्लारे उमेरदेखि बसमा हिँड्दा कमाएको थोरै पैसा र ऋण गरेर ३७ लाख रुपैयाँमा अरनिको यातायात किनेका थिए ।
What you should know
काठमाडौँ — बुधबार सिनामंगलस्थित केएमसी अस्पताल पुग्दा, जीवन पोख्रेल तेस्रो तलाको भर्याङ छेउ आफन्तसँग गफिँदै थिए । परैबाट देखियो, दाहिना हातमा लगाइएको ब्यान्डेज ! सिन्धुपाल्चोक घर भई हाल काँडाघारीमा डेरामा बस्दै आएका उनी केएमसीमा भदौ २४ गते भर्ना भए ।
अर्थात् जेनजी आन्दोलनको दोस्रो दिन घाइते भएपछि उनलाई यहाँ ल्याइपुर्याइएको हो । उनको दाहिने हातमा गोली लागेको छ । बानेश्वर हुँदै कोटेश्वर आइपुग्दा हातमा गोली लागेको जीवन सुनाउँछन् । ‘मेरो हातको दुई औंलामा गोली लागेको छ । मभन्दाअघिको साथीलाई लागेको गोलीको छर्रा पनि मलाई लाग्यो,’ जीवनले सुनाए । गत आइतबार मात्रै जीवनको अप्रेसन भयो ।
जीवन, पेसाले ड्राइभर । २७ वर्षे उनी घरका कान्छा हुन् । पत्नी, ३ वर्षीय छोरा र वृद्धा बुवाको जिम्मेवारी उनकै काँधमा छ । ऋण गरेर भदौ १९ मा मात्रै उनले बस किनेका थिए । अल्लारे उमेरदेखि बसमा हिँड्दा कमाएको थोरै पैसा र ऋण गरेर ३७ लाख रुपैयाँमा अरनिको यातायात किनेका थिए । तर, जडीबुटीबाट खुर्कोट मन्थली गुडेको ४ दिन पनि नबित्दै स्टेरिङ चलाउनुपर्ने हातमा गोली लाग्यो । अहिले आफू अस्पतालमा थन्किँदा त्यही गाडी पनि थन्किएको उनी सुनाउँछन् । ‘गाडीको ऋण कसरी तिर्ने ? यस्तो हात लिएर पैसा कहिले कमाउने ? एउटा हातले त गाडी चल्दैन’ हाततर्फ हेर्दै जीवनले भने,’ घरको सबै खर्च/पानी मैले नै हेर्नुपर्छ । तनाव छ, तनाव भए पनि समयमै किस्ता तिर्नुपर्छ भनेर साहुले भनेको छ ।‘हातको घाउ ठीक हुन २/३ महिना लाग्ने डाक्टरले बताएको छ । तर, दसैं आँगनमै छ । परिवारलाई दसैंको खुसी कसरी दिने ? जीवनको पीरलो यही छ । ‘घर जान रहर छ । कमाउनु छ, दसैं मुखैमा छ । दसैंमा जहानलाई नयाँ लत्ता कपडा किनेर दिनुछ । म फर्किहाले भने भाइहरुलाई गाडी चलाउन लगाएर पनि दसैं खर्च उठाउन मिल्थ्यो,’ उनले भने,’ यसरी गोली चल्छ भनेर त सोचेकै थिएन । तर, एक्कासी गोली चल्यो।’
आन्दोलनको पहिलो दिनबारे जीवनलाई खासै थाह थिएन । जब कलिला विद्यार्थीहरुको ज्यान गएको खबर सामाजिक सञ्जालबाट थाहा पाए, तब भोलिपल्ट सडकमा नआइ मनमा चैयन भएन । देशलाई परिवर्तन गर्न सकिएला कि भन्ने आश बोकेर आन्दोलनमा होमिए । तर, गोली लागेर कोटेश्वर अर्धचेत हुँदा पनि सहयोग गर्ने कोही पाएनन् । हातबाट रगत ह्वालह्वाल बगेको उनलाई अझै याद छ । रक्ताम्मे हात लिएर जडिबुटीको मेडिकल कुदे, त्यहाँ उपचार हुन नसक्ने भनेपछि सिधै केएमसी दौडिए ।
केएमसी आइपुग्दा उपचारको आधा खर्च अस्पतालले नै बेहोर्ने जनाइसकेको थियो । आधा पैसा आफैले तिर्नुपर्छ भन्ने थियो । तर, अहिले सरकारले पूरै खर्च बेहोर्ने कुरा गरेको छ, त्यसले आफूलाई केही राहत मिलेको जीवन सुनाउँछन् । उनलाई डाक्टरले भोलि डिश्चार्ज हुने बताएका छन्, उनको अनुहारमा घर फर्कने खुसी छाएको छर्लङ्गै देखिन्छ । ‘अहिलेसम्म त मेरो सबै उपचार सरकारले नि:शुल्क गरिदिने कुरामा ढुक्क छु । डिश्चार्ज भएपछि थाह हुन्छ, हुन्छ कि हुँदैन भनेर,’ उनले भने ।
अहिलेसम्म उपचारमा जीवनको व्यक्तिगत खर्च १० हजार लागेको छ, बिलहरु सुरक्षित राखेका छन् । त्यसको भर्पाइ हुनेमा उनी आशावादी छन् । ‘हामीले त अहिलेसम्म सहँदै आयौं । तर हामीभन्दा मूनिका भाइबहिनीले स्वदेशमै काम पाओस् । उनीहरु विदेश जान नपाओस् भनेर यसरी आन्दोलनमा गएका थियौं । सरकार परिवर्तन भएको छ, हेरौं के हुन्छ,’ जीवन आशावादी सुनिए,’अब देशमा केही परिवर्तन होला ! देशले केही गर्ला हाम्रो लागि । बलिदान चाहे, बलिदान पनि दिऔंला भनेर आन्दोलनमा गएको थिएँ । घाइते भएँ ।’
