२३ गतेको आन्दोलनमा कैलाली घर भएका युवराज उपाध्याय गोली पचाएरै उभिए । उनको रगत यसरी उम्लिएको थियो कि ज्यानकै प्रवाह नगरी घाइते शरीर धकेल्दै उनी दोस्रो दिनको आन्दोलनमा पनि सानदार रुपमा प्रस्तुत भए ।
What you should know
काठमाडौँ — 'मेरो नाम युवराज उपाध्याय, घर कैलाली । बालकुमारी बस्छु । स्नातक पहिलो वर्ष पढिरहेको छु । विदेश जाने सोच छैन । त्यसकारण देश परिवर्तनको लागि जेन-जी आन्दोलनमा होमिएँ । पेट र हातमा गोली लाग्यो । तैपनि डराएको छैन,' वीर अस्पतालको शय्यामा सुतिरहेका २२ वर्षका युवकले एकै श्वासमा आफ्नो परिचय दिए ।
२३ गतेको आन्दोलनमा गोली पचाएरै उनी उभिए । उनको रगत यसरी उम्लिएको थियो कि ज्यानकै प्रवाह नगरी घाइते शरीर धकेल्दै उनी दोस्रो दिनको आन्दोलनमा पनि सानदार रुपमा प्रस्तुत भए ।
पहिलो दिन संसद् भवनअघि उनी प्रदर्शन गरिरहेका थिए । उनको आँखाले देख्यो- ३० मिटर परबाट एक जना सई उनीमाथि बन्दुक ताकिरहेका छन् ।
'सर, तपाईँ जनताको रक्षक हो । प्रधानमन्त्रीले भन्दैमा गोलीचाहिँ नचलाउनुस् । हामीलाई समर्थन गर्नुस्,' उनले आग्रह गरे ।
त्यो आग्रह प्रहरीको कानसम्म पुगे पनि सुनेको नसुनेझैँ गरे ।
पहिलो गोली बन्दुकको नालबाट निस्कियो । उनकै छेउमा रहेका युवकको कन्चटमा लाग्यो । उनी ढले ।
अर्को राउन्ड गोली चल्यो ।
गोलीले युवराजको पेट छेड्यो । 'मलाई ६/७ राउन्ड गोली लागिसक्नुपर्ने हो । म जिकज्याक हुँदै भागेर मात्र दुई गोली लाग्यो,' उनी सविस्तार भन्छन् ।
त्यसपछि उनी हुलभित्र पुगे ।
साथीहरू आएर सोधे,' के भयो ?'
उनले भने, ' गोली लाग्यो ।'
तैपनि उनी अटल उभिरहेका थिए । जवान जोससहित भने, ' साथीहरू देश बनाउने हामीले नै हो । अब मार्ने नै हो भने पनि मर्न तयार हौँ ।'
गोली लागिरहेकै बेलामा उनले सञ्चारकर्मीलाई अन्तर्वार्ता दिए । 'त्यहीबेला मलाई एक जना दाइले भन्नुभयो- भाइ तिमीलाई गाह्रो हुन्छ है भनेर । त्यसपछि मलाई एभरेस्ट लगेर स्लाइन पानी चढाइयो । दुखाइ कम हुने औषधि दिएर ट्रमा पठाइयो । त्यहाँ मेरोभन्दा नाजुक स्थिति भएकाहरू थिए,' उनी सम्झन्छन् ।
युवराजले डाक्टरलाई हात जोडेर बिन्ती बिसाए, 'सर मेरो गोली निकालिदिनुस् । अनि मलाई डिस्चार्ज दिनुस् । म नर्मल नै छु । यहाँ धेरै गम्भीर छन् । ती घाइतेको उपचार गर्नुस् ।' डाक्टरले गोली निकालेपछि दुखाइ कम गर्ने औषधि लिएर उनी डिस्चार्ज भए । युवराज अस्पतालको बेडमा हैन, सडकमा उत्रन चाहन्थे । र लगाउन चाहन्थे भ्रष्टाचारविरुद्धको नारा ।
०००
दोस्रो दिनको आन्दोलनमा पनि उनी समावेश भए ।
'दोस्रो आन्दोलनमा जाँदा दुखाइ अलिकति पनि अनुभूत भएन । म यो देशको लागि मर्न नै गएको हुँ । मेरो देश बन्छ भने मर्न नै तयार छु भन्ने थियो,' उनी सुनाउँछन् ।
तर आन्दोलन सकेर फर्किँदा बेलुका बिछट्टै पेट दुख्यो उनको ।
सहन गाह्रो भयो । ज्वरो आयो ।
युवराजसँग एक जना विशाल भारती भन्ने साथी थिए । उनले आत्तिँदै भने, 'हैन साथी तिमी हस्पिटल जानैपर्छ ।'
त्यसपछि उनी ट्रमामा पुगे ।
त्यहाँ गम्भीर बिरामी थुप्रै थिए । ट्रमाले वीरमा रिफर गर्यो ।
'त्यसयता म वीरमा भर्ना भएको छु सर । मंगलबार शरीरबाट रगत बग्यो । लगलग कापेँ । ट्वाइलेट जाँदा आँखाभरि बादल ढाकिएजस्तो भयो । त्यहाँबाट खसेँ । अस्पतालका डाक्टरले भने- 'तिमी अझै दुई तीन दिन बस । हामी निको बनाएर घरैमा डिस्चार्ज गरिदिन्छौँ । अहिले म बेडमा थला परिरहेको छु,' उनी आफ्नो पछिल्लो स्थिति देखाउँदै भन्छन्, 'पेटमा अहिले पनि दुखिरहेको छ । तर दुख्नु ठूलो कुरा हैन । देश बन्छ भने मलाई मर्नै पनि डर छैन ।'
घटना भएको १० मिनेटमा उनले गाउँमा आमालाई फोन गरे । आमा झन्डै बेहोस भइनन् । उनले सम्झाए । आउन पनि खोजिन् । गाडीमा काठमाडौं आइपुग्न ३५ घण्टा लाग्थ्यो । प्लेनमा उड्न भाडा थिएन ।
भने, 'तपाईँ नआउनु । म ठिक हुँदैछु । चिन्ता नलिनु ।'
मंगलबारसम्म कुरुवा साथी थिए । उनी परीक्षाका कारण व्यस्त भए ।
'अहिले नर्सहरूले हेरिरहनुभएको छ । डाक्टरहरूले पनि राम्रो साथ दिनुभएको छ,' उनी निर्धक्क सुनिन्छन् । शय्यामा बसिरहँदा उनलाई सबैभन्दा खुसी लागेको क्षण सुशीला कार्की प्रधानमन्त्री भइन् भन्ने खबरले थियो ।
'मेरो बेडमा त सुशीला कार्की आउनुभएको छैन । तैपनि म कमजोर भा'को बेला फोन हेर्छु । एउटा देशले आमा प्रधानमन्त्री पाएको छ । आमा प्रधानमन्त्री पाउँदै गर्दा देशमा सुशासन आउँछ । घाउको ठाउँमा मलम बनेर आउनुभएको छ । यो कुराले असाध्यै खुसी हुन्छु,' उनी गर्विलो सुनिन्छन्, 'आशा छ अब भ्रष्टाचारीको फाइल पल्टिन्छ । देशले सुशासनको बाटो समाउँछ ।'
