‘अब देश राम्रो बाटोतर्फ जान्छ भन्ने कुरामा ढुक्क छु । म आन्दोलनका कारण घाइते छु भन्ने कुरामा पछुतो छैन । किनभने ज्यानै हाजिर छ यो देशका लागि तर देशचाहिँ बन्नुपर्यो, भ्रष्टाचारी हट्नुपर्यो । ’-अभिषेक श्रेष्ठ
What you should know
काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा सिन्धुपाल्चोकका अभिषेक श्रेष्ठलाई देब्रे खुट्टामा गोली लाग्यो । उनी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । उनी काठमाडौंमा बीएसडब्ल्यु दोस्रो वर्षमा पढ्दैछन् ।
२२ वर्षीय अभिषेक देशमा व्याप्त भ्रष्टाचार देखेर वाक्क थिए । जेन-जी समूहले यसविरुद्ध आन्दोलन गर्ने भएपछि उनी उत्साहित पनि भए । सिन्धुपाल्चोक घरमा आमालाई फोन गर्छन् । आन्दोलनमा जाने भनेपछि जान नदिने भएका कारण कामका लागि २३ गते बाहिर जान लागेको बताउँछन् ।
अभिषेक आफ्ना साथीभाइलाई पनि देशमा सकारात्मक परिवर्तनका लागि सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्छन् । 'भ्रष्टाचारमुक्त नेपाल' को कल्पनासहित उनी भक्तपुरस्थित डेराबाट भदौ २३ गते बिहान ९ बजे नै माइतीघर मण्डल पुग्छन् । आन्दोलनमा सक्रिय सहभागिता देखेर उनी खुसी थिए ।
त्यस्तै शान्तिपूर्ण आन्दोलन हुन्छ भन्नेमा नि उनी ढुक्क थिए । र्याली बानेश्वरको संसद् भवन अगाडि पुगेपछि प्रहरी र जेन-जी समूहबच ढुंगामुढा चलिरहेका बेलामा उनको खुट्टामा गोली लाग्यो । कामका लागि बाहिर जान्छु भनेर आन्दोलनमा गएका उनी भन्छन्,‘गोली लागेर घाइते हुँदा ममीलाई के जवाफ फर्काउने होला भन्ने कुरा लगातार मनमा आयो झन गाह्रो भयो ।’
उनी अब देश बन्छ भन्नेमा विश्वस्त छन् । आन्दोलनमा गएर गोली लाग्यो भन्ने खालको पछुतो आफूमा नभएको उनी बताउँछन् । उनी भन्छन्,‘हामी जस्ता युवाले गर्दा नै यो परिर्वतन आएको हो र अब देश राम्रो बाटोतर्फ जान्छ भन्ने कुरामा ढुक्क छु । म आन्दोलनका कारण घाइते छु भन्ने कुरामा पछुतो छैन । किनभने ज्यानै हाजिर छ यो देशका लागि तर देशचाहिँ बन्नुपर्यो, भ्रष्टाचारी हट्नुपर्यो ।’अभिषेक आफ्नै देशमा केही गर्ने सपना बोकेर अघि हिँड्ने बताउँछन् ।
