'देशले मुहार फेरोस्, म त सन्चो भइहाल्छु नि'

‘म जस्ता घाइते धेरै छन् । कतिजनाले ज्यान गुमाए, उनीहरूको बुबाआमाले कति पीडा सहनु परेको छ । अब त जुन हालतमा पनि देश बन्नैपर्छ । बन्छ भन्ने आशा पनि छ ।’

आश्विन २, २०८२

आरती पौडेल

'Let the country change its face, I will be safe'

What you should know

काठमाडौँ — काठमाडौंको ग्रान्डी हस्पिटलमा एक हप्तादेखि  उपचारमा छन् अइवन मगर ।  भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा उनको दाहिने हातमा गोली लागेको थियो । महोत्तरीको बर्दिवास नगरपालिका-२ बुद्धचोकका उनी परिवारका एक मात्र सहारा हुन् ।

२१ वर्षीय अइवन २ वर्षअगाडि मात्र प्लस टु सकेर हजार सपना बोकी काठमाडौं आएका थिए । काठमाडौंको सुन्धरामा साथीसँग डेरामा बस्दै आएका उनी मार्केटिङको जागिर गर्थे । त्यही कामले उनले आफ्नो मात्र होइन, गाउँमा भएका बाआमालाई नि हेर्थे । देशमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्यका लागि युवा पुस्ता नै जुर्मुराउनुपर्छ भनेर उनी आन्दोलनमा होमिएका थिए । उनलाई आन्दोलन शान्तिपूर्ण हुन्छ भन्ने नै विश्वास थियो । 

साथी र दाइसँग नारा लगाउँदै गर्दा गोलीको आवाजले एक्कासि झस्किए उनी । ‘हामी नारा लगाउँदै हिँडिरहेका थियौँ, पछाडिबाट केटाहरूले ढुंगा हान्दै रहेछन् । एकाएक गोलीको आवाज सुन्यौँ । हामी सबै अचम्ममा पर्‍यौँ,’ उनी भन्छन् । गोली चलेपछि शान्तिपूर्ण आन्दोलन एक्कासि अशान्त हुन पुग्यो, ।  ‘हामी हिँडिरहेका छौँ केही पनि गरेका छैनौँ । तर पनि गोली ड्याङड्याङ बज्न थाल्यो । सबै मिलेर कतिलाई बोकेर एम्बुलेन्ससम्म पुर्‍याएका थियौँ,’ उनी भन्छन्,‘केही अगाडिसम्म सँगै आन्दोलन गरिरहेका केटाहरू ढल्दा र उनीहरूलाई एम्बुलेन्ससम्म पुर्‍याउँदा मन साह्रै भारी भइसकेको थियो ।’

सोही क्रममा बानेश्वरमा हिँडिरहेको बेला एक्कासि उनको हातमा पनि गोली लाग्यो । उनी रन्थनिए, हतारहतार उनलाई ट्रमा सेन्टर लगियो । हस्पिटलमा उनी जस्तै घाइते भएर पुग्नेहरूको घुइँचो निकै नै ठूलो थियो । 

ग्रान्डी हस्पिटलले आन्दोलनमा घाइते भएका बिरामीको उपचार निःशुल्क गर्ने समाचार देखेपछि उनी साथीसँग २४ गते बिहानै ५ बजे ग्रान्डी हस्पिटल पुगेका थिए । उनको उपचार गर्ने क्रममा थाहा भयो कि उनको हातमा गोली लागि हातको हड्डी नै फुटेको रहेछ । उनी भन्छन्,‘मैले मेरो हातबाट गोली स्वाट्ट अगाडि गएको होला भन्ने सोचे तर हातको हड्डी नै फुटालेर गएको रहेछ । हातको दुईपटक अपरेसन भयो डाक्टरले अझै एकपल्ट गर्नपर्छ भन्नु भएको छ ।’

आफुलाई गोली लागे पनि देश अब छिट्टै विकास हुन्छ भन्ने आशा छ उनमा । उनी भन्छन्,‘देश बनाउन गएको थिएँ । गोली लागेर फर्किएँ । म जस्ता घाइते धेरै छन् । कतिजनाले ज्यान गुमाए, उनीहरूको बुबाआमाले कति पीडा सहनु परेको छ । अब त जुन हालतमा पनि देश बन्नैपर्छ । बन्छ भन्ने आशा पनि छ ।’ आन्दोलनको दोस्रो दिन जलेका संरचनाको फोटो देखेर निकै नै दुःख लागेको बताउँछन् उनी । 

अइवनका ७३ वर्षीय बुवा छन् । ५३ वर्षीया आमालाई खुट्टाको समस्या, प्रेसर र सुगरको समस्याबाट पीडित छन् ।  आमाबुबाले आफ्नो अवस्था देखेर झन पीर मान्ने भएकाले उनले बोलाएनन् ।‘उहाँहरूलाई पनि थाहा भएछ आन्दोलनका बारेमा अनि किन आन्दोलनमा गएको तिमी भन्दै रुनुहुन्छ, मैले सामान्य हो पीर नगर्नु भनेर सम्झाउँछु । बुबाआमाको माया त हो । सहारा पनि म नै हो अरु कोही छैन,’ उनी भन्छन्,‘हात छिट्टै सन्चो भए काम गरेर बुबाआमाको औषधि किन्ने पैसा र घरखर्च पठाउन पाउँथेँ, चाडपर्व नजिकिँदै छन् तर कहिले सन्चो हुन्छ थाहा छैन ।’ 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully