‘चाडबाडका बेला अस्पतालमा छट्पटाउनु परेको छ’

‘देश बन्छ भनेर गएँ । आन्दोलनमा नगएको भए हुँदो रहेछ । परिवर्तनका नाममा हामी जस्ता सर्वसाधारण मर्ने र घाइते हुनेबाहेक केही नहुँदो रहेछ ।’

आश्विन २, २०८२

आरती पौडेल

”He had to be admitted to the hospital during the festival”

What you should know

काठमाडौँ — धादिङको गंगाजमुना गाउँपालिका ५ का २२ वर्षीय आयुष मगर पेसाले चालक हुन् । जेन-जी आन्दोलनको क्रममा मंगलबार बालाजु प्रहरी चौकी अगाडि उनलाई गोली लागेको थियो । राष्ट्रिय ट्रमा सेन्टरमा ४ दिन आईसीयूमा उपचारपछि उनलाई सर्जिकल वार्डमा सारिएको छ ।

आयुषको पेटमा गोली लागेको छ । हस्पिटलको बेडमा अडेस लगाएर मोबाइल हेरेर बसिरहन्छन् उनी। 

जेन-जी आन्दोलनको पहिलो दिनमा उनी आफ्नै काममा व्यस्त थिए । तर दोस्रो दिन कर्फ्यु लाग्ने र गाडी पनि नचल्ने भएपछि उनलाई आन्दोलनमा सहभागी हुन मन लाग्यो । भ्रष्टाचार अन्य हुन्छ, देश विकास हुन्छ भने किन आन्दोलनमा नजाने भन्ने लाग्यो उनलाई । माछापोखरी बस्दै आएका उनी बिहान ८ बजेतिर नारा लगाउँदै आएको एक समूहसँग मिस्सिए ।

त्यो समूह दिउँसो १२ बजेतिर बालाजु चौकीअगाडि पुग्यो । त्यहाँ पुगेपछि प्रहरी र आन्दोलनकारीबीच झडप सुरु भयो । त्यही बेला आयुषको पेटमा गोली लाग्यो । उनी भन्छन्,‘एक्कासि गोली पेटमा लाग्यो अनि सबै मिलेर हस्पिटल ल्याउनु भएछ ।’ हस्पिटल पुगेपछि सामान्य रबरको गोली होला भनेर उनले आफूसँगै कोठामा बस्दै आएका बाआमालाई खबर गरेनन् तर डाक्टरले बुलेट नै भएको र अपरेसन गर्नलाई परिवारको सदस्य बोलाउन भनेपछि उनले आफ्ना बुबा बोलाएको बताए ।

‘बाबालाई धेरै रोग छ । मृगौला फेल, प्रेसर, सुगर । ममीको एउटा खुट्टा छैन । अशक्त हुनुहुन्छ । मैले गर्दा फेरि अर्को तनाव थपिने भयो भन्ने पीरले गोली लाग्यो भन्न मन थिएन पछि बोलाउनै पर्ने बाध्यता परेपछि । बाबा आउनुभयो,’ उनले भने । 

आयुष एक्लैले कमाएर घरखर्चदेखि बुबाआमाको औषधि खर्चसम्मको जोहो गरिरहेका थिए । तर आन्दोलनमा आफू घाइते भएपछि दोहोरो पीडामा छन् उनी । 

उनी भन्छन्,‘मैले नै कमाएको पैसाले घरमा चुलो बल्ने हो । आन्दोलनमा जानाले मेरो पनि यो अवस्था भयो । बाआमा मेरो नै आशामा हुनुहुन्छ । कहिले सन्चो होला र काम गरेर कमाउँला भन्ने दिन गन्दै बसिराखेको छु ।’

घरका कमाउने एक्लो मान्छे भएकाले पनि उनलाई आन्दोलनमा गएकोमा पछुतो छ । ‘आन्दोलनमा नगएको भए हुँदो रहेछ । परिवर्तनका नाममा हामी जस्ता सर्वसाधारण मर्ने र घाइते हुनेबाहेक केही नहुँदो रहेछ । बेक्कारमा गएछु भन्ने पछुतो भएको छ,’उनी भन्छन् । दसैंलगायतका चाड आएकाले पनि अस्पतालको शय्यामा छट्पटाउनु पर्दा उनी निकै चिन्तामा छन् । 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully