भविष्य बनाउन काठमाडौं गए, दुई महिनामै ज्यान गुमाए

बानेश्वरमा गोली लागेर निर्मलको ज्यान गुमेपछि बुबा चन्द्रबहादुर र आमा मधुको सपना अधुरो बनेको छ ।

भाद्र २८, २०८२

वीरेन्द्र केसी

He went to Kathmandu to make a future, he died within two months

भूमिकास्थान नगरपालिका–४ फलामखिली गाउँमा जन्मिएका १८ वर्षीय निर्मल सारु मगरले १२ कक्षा पास भएर स्नातक पढ्न काठमाडौं आए । पढाइसँगै साइकल किनेर डेलिभरी ब्वाईको काम गरेर कोठाभाडा र खाना खर्च जुटाउन उनले काम थालिसकेका थिए ।

कीर्तिपुरमा डेरा लिएर बसेका उनी जेन–जीको प्रदर्शनका क्रममा सोमबार बिहान साथीहरूसँगै बानेश्वर हिँडे । बुबा चन्द्रबहादुर सारु रोजगारीका लागि कतारमा छन् । बानेश्वरमा गोली लागेर निर्मलको ज्यान गुमेपछि बुबा चन्द्रबहादुर र आमा मधुको सपना अधुरो बनेको छ ।

स्थानीय भगवती आधारभूत विद्यालय हुँदै शान्ति मावि धारापानीबाट एसईई गरेपछि उनले बुटवलको कान्ति माविमा म्यानेजमेन्ट पढेका थिए । दुई महिनाअघि मात्र घरबाट काठमाडौंमा आएका उनी १२ कक्षामा राम्रो अंक ल्याएर यसै वर्ष उत्तीर्ण भएका थिए ।

‘पढ्दै कमाउँदै गरेर बुबालाई वैदेशिक रोजगारबाट फिर्ता बोलाउँछु भन्थे । सबै सपना चकनाचुर भयो,’ उनका छिमेकी दाइ विष्णु पुनले भने । आन्दोलनमा छोराको निधन भएको खबरले बुबा चन्द्रबहादुर काठमाडौं आइपुगेका छन् ।

दुई छोरा र एक छोरीलाई पढाउनकै लागि उनी दशकदेखि कतारमा रोजगारीमा छन् । पछिल्लो समय घरमा आएर कतार गएको आठ महिना भएको थियो । ‘मलाई छोराले मैले काम गर्न थालेपछि तपाईं विदेश जाने होइन भन्थ्यो,’ चन्द्रबहादुरले भने, ‘छोराछोरीलाई पढाउन म कतार गएको हुँ । जेठो छोरोले पढेर काममा लाग्यो भने भाइबहिनीलाई पनि बाटो देखाउँथ्यो, मलाई पनि सहज हुन्थ्यो भन्ने आशामा थिएँ, सबै सपना चकनाचुर भयो ।’

चन्द्रबहादुरका कान्छो छोरा १२ वर्ष र छोरी ९ वर्षका छन् । केही दिनअघि निर्मलले आमालाई फोनमा तलब पाएपछि दसैंमा आउँदा सबैलाई कपडा ल्याइदिन्छु भनेका थिए । ‘छोरालाई ११ र १२ कक्षा बुटवलमा पढाएँ, काठमाडौं गएर डिप्लोमा पढ्छु भनेपछि मैले हुन्छ भनेको थिएँं,’ चन्द्रबहादुरले भने, ‘काठमाडौंमा पढ्दै जागिर गरेर भविष्य राम्रो बनाउँछु बाबा, केही चिन्ता नगर्नुस् भन्थ्यो । के गर्नु सरकारको गोलीबाट मेरो छोरो गुम्यो ।’ - विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

छिनभरमै ढल्यो सहारा

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully