लिपुलेकको विषय कूटनीतिक चरणमा पुगिसक्यो, वार्ताबाटै समाधान गर्नुपर्छ : मन्त्री गुरुङ

गुरुङले संयुक्त राष्ट्रसंघ र भारतसँगको वार्ताबाट सीमा समस्या समाधान गर्न आग्रह गर्दै, संसद्का सबै दलको समर्थन रहेको बताए।

भाद्र ६, २०८२

अनुप पौडेल

The issue of Lipulek has reached the diplomatic stage, it should be resolved through negotiations: Minister Gurung

What you should know

कास्की — सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली भूमि लिपुलेक प्रयोग गर्ने गरी छिमेकी भारत र चीनले गरेको व्यापार सहमतिको विषय कूटनीतिक तहबाटै समाधान गरिनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचिवसमेत रहेका गुरुङले नेपालले नोट लेखिसकेकाले अब यो विषय कूटनीतिक चरणमा पुगेको बताए। दुई देशबीच वार्ताबाटै समस्या समाधान गरिनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘कूटनीतिक चरणमा पुगेको छ। वार्ताबाटै यो समस्याको समाधान गर्ने हो। लडाइँ लडेर प्राप्त गर्ने कुरा कल्पना गरेका छैनौँ।’

दुई देशले व्यापारका लागि प्रयोग गर्ने भनेर सहमति गरेको भूमि नेपालकै भएको उनले बताए। विगतमा अतिक्रमण हुँदा हेरेर बस्दा उक्त भूमि भारतको भएजस्तो देखिएको उनको भनाइ थियो। उनले भने, ‘हाम्रै हो त्यो। बीचमा त्यो अतिक्रमण हुँदै गएर, हामीले दाबी गर्न नसकेर, हेरेर बसेको हुनाले उसैको जस्तो भयो। त्यसबाट हामी पछाडि हटेको होइन।’ संयुक्त राष्ट्रसंघसँग समन्वय गरेर वा भारतसँग द्विपक्षीय वार्ता गरेर यो समस्या समाधान गर्न सकिने उनले सुनाए।

दुई देशबीच हुने विभिन्न वार्ताका फोरममा उक्त भूमिबारे कुरा राख्नुपर्ने उनले बताए। ‘कूटनीतिक रूपमा भन्ने कुरा, बहुराष्ट्रिय फोरममा भन्ने कुरा, धारणा राख्ने कुरा, यो हाम्रो हो भन्ने कुरा जारी राख्नुपर्छ,’ उनले भने, ‘कुनै दिन यो हाम्रै हुन्छ, कति समय लाग्छ भन्ने कुरा हो।’ संसद्का सबै राजनीतिक दलको समर्थनमा चुच्चे नक्सा पारित भएकाले त्यसप्रति सबै अडिग रहेको उनले जिकिर गरे।

अनुप

Link copied successfully