पूर्वप्रधानमन्त्री भट्टराईले भारत र चीनसँगको सीमाविवाद वार्ता र संवादबाट समाधान गर्नुपर्ने र यसलाई अवसरमा बदल्न सकिने बताएका छन्।
What you should know
काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दह्रोसँग उभिएर कुरा गर्न सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । चीन-भारतबीच लिपुलेक हुँदै व्यापारिक सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको भन्दै उनले नझुकीकन स्पष्टसँग दुवै छिमेकीसँग कुरा गर्न आवश्यक रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले दुवै छिमेकीबाट चेपुवामा पर्ने अवस्था नेपाल रहेकाले यसलाई कूटनीतिक र राजनीतिक तरिकाले वार्ता र संवाद गरेर हल गर्नुपर्ने बताएका छन् ।
'राजनीतिक नेतृत्वको क्षमता भनेकै चुनौतीलाई अवसरमा परिणत गर्ने हो । हामीले चीनसँग पनि छुट्टै कुरा गर्ने, भारतसँग पनि छुट्टै कुरा गर्ने, सम्भव भएछ भने तीन पक्षसँगै बसेर त्यसको समाधान गर्ने हो । अहिलेको समस्यालाई बुद्धिमता र चातुर्यताका साथ रणनीतिक कदम चाल्दा ठूलो अवसरमा बदल्न सकिन्छ । हामी झुक्ने होइन, दह्रोसँगले यी तथ्य प्रमाणले हाम्रो सीमाना हो । तपाईंहरूले कसरी सोध्दै नसोधी गर्नुभयो । यसो गर्नु भएन भन्नुपर्छ । हाम्रो प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दह्रोसँग उभिएर कुरा गर्न सहयोग गर्नुपर्छ,' उनले भने ।
सन् २०२० मा पूर्वी लद्दाखमा दुई एसियाली शक्तिराष्ट्रका सैनिकहरूबीच झडप भएपछि सो नाका व्यापारिक प्रयोजनका लागि बन्द थियो । गत डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीबिना नै यो नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः सुरु गर्ने समझदारी गरेका थिए ।
हालै उनीहरूले गरेको व्यापार सम्झौता बाहिरिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा सदियौंदेखि नेपाली भूभाग भए पनि भारतले अस्वीकार गरेको छ ।
यस्तो छ भट्टराईको भनाइ
चासो कसैले कसैलाई दिने होइन, आफूले आफ्नो चासो लिने हो । अरूसँग सम्बन्ध राख्ने हो । जसरी घर–छिमेकमा बस्दा पनि सबैले आफ्नो घर आफूले चलाउने हो । छर–छिमेकसँग आफ्नो आवश्यकताअनुसारको सम्बन्ध राख्ने हो । आफ्नो हितमा, आफ्नो स्वार्थमा राख्ने हो । आफ्नो व्यवहारिक जीवनमा जसरी छर–छिमेकसँग सम्बन्ध राख्छौँ, त्यस्तै सम्बन्ध देशबीचमा हुने हो । उनीहरूको आफ्नो स्वार्थ हुन्छ, हाम्रो आफ्नो स्वार्थ हुन्छ । स्वार्थ जहाँ मिल्छ त्यही अनुसार सम्बन्ध राख्ने हो ।
हामी भारत र चीन जस्ता ठूला अर्थतन्त्र भएका देशसँग छौँ । चीन अब १० वर्षपछि पहिलो अर्थतन्त्र हुँदैछ । भारत तीव्र अर्थतन्त्र हुँदैछ । यी देशबीचमा हामी हुनु ठूलो अवसर हो । प्रतिस्पर्धी लाभको हिसाबले दुवै छिमेकीसँग सम्बन्ध राख्न सक्यौँ भने हामी दुई दशकमा विकसित अवस्थामा पुग्न सक्छौँ । त्यसका लागि ‘यसले यस्तो गर्यो’ भनेर रोईकराई गर्ने होइन । रोएर कसले सहयोग गर्दछ ? आफ्नो हितमा हामीले कसैसँग झुक्दा पनि नझुक्ने, भुक्दा पनि नभुक्ने ।
कसैलाई चिढ्याउने पनि होइन, कसैलाई अनावश्यक ढङ्गले लम्पसार पनि नपर्ने नीति अपनाउन सक्यौँ भने भारत र चीन दुवैसँग सम्बन्ध अघि बढाउन सकिन्छ । तर, हाम्रो सुरुदेखि नै सीमाका केही विवाद छन् । चिनियाँ विदेशमन्त्री भारत गएको बेलामा लिपुलेकबाट दुई पक्षीय व्यापार गर्ने भन्ने सम्झौता विवादमा आएको छ । यो पुरानै विवाद थियो । त्यसैले सीमा विवाद, खुला सीमानाको विवाद, आर्थिक सम्बन्धी व्यापारको प्रश्न, पारवहन सुविधासम्बन्धी कुरा — यस्ता विषयलाई समग्र ढङ्गले वार्ताबाट समाधान गर्न मैले नै ‘इपिजी ग्रुप’ बनाएर सुझाव लिएर राज्यले निर्णय गर्ने भन्ने शुरुवात गरेको थिएँ, तर पूर्णता दिन सकिएन । भारत र चीनले पनि आफ्नो स्वार्थमा काम गर्ने हो । अहिले उनीहरू ठूला उदयमान विश्वशक्ति बन्दैछन् ।
अहिले फेरि अमेरिकाले बढी कर लगाएर भारत र चीनको अर्थतन्त्रलाई अफ्ठ्यारो पार्न खोजेको छ, त्यसैले उनीहरू एक ठाउँमा आएको पनि देखिन्छ । दुई छिमेकीबीच झगडा हुनु भन्दा मित्रता हुनु राम्रो हो । भारत र चीनसँग राम्रो सम्बन्ध राख्न सक्दा हामीलाई फाइदा हुन्छ । तर, सही नीति अपनाउन नसक्दा भारत र चीन मिल्छन्, हामी भने पछाडि पर्छौँ । उनीहरू ठूला शक्ति भएका कारण हाम्रो रिसले फरक पार्दैन । त्यसैले हाम्रो भूभागबाट व्यापार मार्ग खोलेको विषय गम्भीर हो । यसमा रोईकराई गरेर बस्नु भन्दा पनि आफ्नो अडान स्पष्ट राख्नु पर्छ ।
ऐतिहासिक रूपमा नै काली नदी सीमाना भनेर सुगौली सन्धीको धारा ५ मा लेखिएको छ — जुन धार ठूलो हुन्छ त्यही सीमाना हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । लिम्पियाधुराबाट निस्कने नदीको खण्ड नै काली नदी हो भन्ने प्रमाण देखिन्छ । यसमा बेलैमा ध्यान नपुर्याउँदा भारतले कालापानी मिचेर कब्जा गर्यो, अझ पूर्वतिर धकेली अहिलेको लिपुलेक मार्गलाई समेत आफ्नो भनेको छ । चीनले समेत २०८० सालमा बनाएको नक्सामा भारतकै दाबीलाई मान्यता दियो ।
यसरी हामी दुवै छिमेकीबाट चेपुवामा परेको अवस्थामा वार्ता र संवादमार्फत कुटनीतिक र राजनीतिक तरिकाले समाधान खोज्नु जरुरी छ । अहिलेको चुनौतीलाई अवसरमा बदल्नु राजनीतिक नेतृत्वको क्षमता हो । चीनसँग छुट्टै कुरा गर्ने, भारतसँग छुट्टै कुरा गर्ने, सम्भव भए तीन पक्षसँगै बसेर समाधान खोज्ने बाटो लिनुपर्छ । बुद्धिमत्तापूर्वक रणनीतिक कदम चाल्न सके ठूलो अवसरमा बदल्न सकिन्छ । हामी झुक्ने होइन, दरो प्रमाणसहित हाम्रो सीमाना हाम्रो हो भनेर भन्नुपर्छ । 'तपाईँहरूले किन सोध्नै नसोधी गर्नुभयो ? यसो गर्नु भएन' भन्ने आँट गर्नुपर्छ । राष्ट्रिय हितमा दरोसँग प्रधानमन्त्रीलाई उभिन सहयोग गर्नुपर्छ ।
