प्रधानमन्त्री निवासमा उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने सहमति भएको छ।
काठमाडौँ — एमालले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान बोलाइएको आकस्मिक बैठकमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने विषयमा छलफल हुन लागेको एक नेताले पुष्टि गरे ।
यस्तै नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाएको छ । बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । संसदीय दलको बैठकमा जाँदै गरेका एक नेताले भने, 'हामीलाई आकस्मिक बैठकमा आउन पर्यो भनेर बोलाइयो । छलफलको एजेन्डा भने त्यहीँ पुगेपछि थाहा होला ।'
उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ ।
स्रोतका अनुसार उपसभामुखविरुद्धको प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । केही सांसदले भने हिजै हस्ताक्षर गरिसकेका छन् ।
यो पनि पढ्नुहोस् :
उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप
