काठमाडौँ — उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरी ५ जनालाई अमेरिका लग्ने गरी अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा पनि आइतबारको संसद् बैठकमा प्रश्न उठेको छ ।
संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै लग्न प्रक्रिया अघि बढाइएकी थिइन् । आफूसँगै पाँच जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन् ।
बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले पत्र लेखेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताए । उपसभामुख राना संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्ने उनको माग थियो । ‘यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?,’ उनले प्रश्न गरे । संसद्बाट कोही विदेश भ्रमणमा जानुपर्ने भए संसद् सचिवालयको आफ्नै प्रक्रिया हुनुपर्नेमा त्यसलाई मिचेर उपसभामुखले पत्र लेखेको खतिवडाको भनाइ थियो ।
उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप
माओवादीका सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेपछि उपसभामुख रानाले १ वर्षअघि लेखेको पत्र चर्चामा ल्याइएको दाबी गरे । उपसभामुखले लेखेको पत्रले राजनीतिक र नैतिक प्रश्न उठे पनि त्यो प्रश्नको नियतमाथि उनले आशंका व्यक्त गरेका छन् । रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुखले मानव तस्करी गरेको भनेर चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाइन् । एक जना सांसदले संसद् र सडकमा एक व्यक्तिलाई भिसा देऊ भनेर आन्दोलन गरेको देखेको भन्दै सांसद श्रेष्ठले लेटरप्याडको प्रयोगको विधि बनाउनुपर्ने बताइन् ।
‘उपसभामुख इन्दिरा रानाको नामबाट मिडिया ट्रायल भइरहेको छ, यसमा आपत्ति जनाउन चाहन्छु,’ उनले भनिन्, ‘आचरण हेर्ने हो भने सबै जनाको लेटरप्याडबाट के–के निस्क्या छ हेरौं र साँच्चै पद्धति बनाऔं ।’
उपसभामुखको अनधिकृत पत्रबारे विज्ञको टिप्पणी : ‘मानव तस्करी नै हो’
रास्वपाले उपसभामुख रानासँग जोडेर पार्टीको छविलाई धूमिल पार्ने प्रयास भएको जनाउँदै प्रेस विज्ञप्तिमार्फत आइतबार आपत्तिसमेत जनाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले संघीय संसद् सचिवालयलगायत अन्य उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी रहेको विषयलाई अनर्गल प्रचार गरिएको भनेका छन् ।
कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयासस्वरूप यस्ता कार्य भइरहेको समेत रास्वपाले आरोप लगाएको छ । ‘यस्ता गलत प्रहारहरूबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रुत आर्थिक विकासको मार्गमा नेपाललाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
