उत्तराखण्डको धराली क्षेत्रबाट १३ जना नेपालीको उद्धार

उद्धार गरिएकाहरू भारतकै हरिद्वार र देहरादूनलगायत क्षेत्रमा रहेको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रावण २४, २०८२

भवानी भट्ट

Rescue of 13 Nepalis from Dharali area of Uttarakhand

What you should know

कञ्चनपुर — भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली तथा आसपासका क्षेत्रबाट १३ नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रभावित क्षेत्रबाट शुक्रबार १ र शनिबार १२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकाको नाम खुले पनि थर र ठेगाना स्पष्ट हुन नसकेको दूतावासले जनाएको छ ।

वीरेन्द्रलाई शुक्रबार उद्धार गरिएको छ । शनिबार ठेगाना नखुलेका प्रशंसा शाह, कोमल शाह र रमन शाहको उद्धार गरिएको छ । उनीहरू एकै परिवारका हुन् । यसैगरी गंगा र उनका श्रीमान् दिनेशको पनि उद्धार गरिएको छ । दूतावासका अनुसार सूर्य शाही, प्रवीण सिंह, नवराज बोहरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दीपेन्द्र शाही र नरेन्द्र शाहीको समेत उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरू भारतकै हरिद्वार र देहरादूनलगायत क्षेत्रमा छन् । ‘अहिलेसम्म १३ जना नेपालीको उद्धार भएको छ, अन्यको अवस्थाबारे अझै केही जानकारी छैन,’ दिल्लीस्थित दूतावासका काउन्सिलर प्रकाश मल्लले भने, ‘अवस्था सहज हुँदै गएपछि नेपालीको अवस्थाबारे पनि थप जानकारी आउनेछ ।’ उनका अनुसार हालसम्म धराली र गंगोत्री क्षेत्रबाट ९ सय ७५ जनाको उद्धार गरिएको छ ।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार खिरगंगा नदीले तहसनहस गरेको धराली बजार क्षेत्रमा हालसम्म दुई जनाको शव भेटिएको छ । ‘शनिबारदेखि फोन सेवा सुरु भएको छ, अब कति बेपत्ता छन्, कति सकुशल छन् भन्ने खुल्नेछ,’ डीएम आर्यले भने, ‘खोज र उद्धारको काम सँगसँगै चलिरहेको छ ।’ धराली क्षेत्रमा फसेकालाई हेलिकोप्टरबाट उद्धार भइरहेको छ । साथै उक्त क्षेत्रमा घाइतेको उपचारसमेत भइरहेको छ । उद्धारका लागि सेना, प्रहरी, एनडीआरएफ, एसडीआरएफलगायतको टिम परिचालन गरिएको छ ।

मंगलबार उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा खिरगंगा नदीमा आएको बाढीले धराली बजार तहसनहस पारेको थियो । भागीरथी नदी किनारको धराली बजारमा रहेका होटल तथा घरहरू बाढीले पुरिएका छन् । कतिपय घर बगाएर भागीरथी नदीमा लगेको छ । धराली बजार क्षेत्रमा बाढीले ३०/३५ मिटरसम्म पटान गरेको छ । पटान गरिएको क्षेत्रमा रहेका घर तथा होटलहरूमा मानिससमेत पुरिएको हुन सक्ने अनुमान छ । उत्तरकाशी प्रहरीले कम्तीमा पनि ५० जना बेपत्ता रहेको अनुमान गरेको छ ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully