स्याउ बगानमा काम गर्ने नेपाली सुरक्षित रहेको प्रहरीको भनाइ, होटेलमा काम गर्नेको अवस्था अज्ञात, हालसम्म २ जना स्थानीयको शव भेटियो, ३ सय ७२ को उद्धार
What you should know
सुर्खेत, कञ्चनपुर — जाजरकोट कुशे गाउँपालिका डाढगाउँका ४० वर्षका रामबहादुर सिंह गत फागुन महिनामा पाँच जनाको परिवार लिएर उत्तराखण्ड लागे । गाउँमा साहुको ऋण तिर्न नसक्दा साहुले घरबारी कब्जा गरेपछि उनी छोराछोरी र श्रीमती लिएर मजदुरी गर्न उत्तराखण्ड लागेका थिए । जेठी छोरी र कान्छो छोरालाई सुर्खेतको वीरेन्द्रनगरमा छोडेर तीन छोराछोरी र श्रीमती लिएर उत्तराखण्ड गएका रामबहादुर पाँच महिनामै अस्ताए ।
गाउँको घरमा ताला लागेको छ । खेतबारी साहुको कब्जामा छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेर भाइ पढाउँदै गरेकी रामबहादुरकी जेठी छोरीले साहुले घरबारी कब्जा गरेपछि बुबाआमा मजदुरी लागि उत्तराखण्ड लागेको बताउँछिन् । ‘पाँच जना परिवारले रातदिन पैसा कमाएर साहुबाट जमिन फिर्ता ल्याउन सकिन्छ भनेर बुवाले भन्नुहुन्थ्यो । तर, बुवाको सपना अधुरै रह्यो,’ उनले भनिन्, ‘मेरो परिवारलाई दैवले खोस्यो । बुवासँगै काका, काकाको छोरा र काकीहरू बसेकै होटेलबाट बगायो भन्छन् ।’
यस्तै कुशेकै ४३ वर्षका मानबहादुर सिंह पनि श्रीमती छोराछोरी ज्वाइँ र आफ्ना दाजुभाइ लिएर रोजगारका लागि उत्तराखण्ड लागेका थिए । मानबहादुर र उनका ज्वाइँ दीपक राना बसेको होटेल पनि बगेको छ । उनीहरू पनि सम्पर्कमा छैनन् । घरमा ताला लगाएर तीन छोराछोरी कोहलपुरमा कोठा भाडामा राखेर मानबहादुर रोजगारका लागि परिवारका अन्य सदस्य लिएर भारत लागेका थिए ।
‘१२ वर्ष देखि बुबाआमा मजदुरी गर्न जानु भएको थियो । आजसम्म कमाएको पैसा हामी ५ भाइबैनीलाई पढाउँदा हुर्काउँदा ठिक्क भयो,’ मानबहादुरकी छोरी अनिता भन्छिन्, ‘अब कमाएको पैसाले कोहलपुरमा जमिन जोड्ने हो भन्दै यो वर्ष दाइलाई पनि बोलाउनु भएको थियो ।’
कक्षा १० मा पढ्दै भाइबहिनी हुर्काइरहेकी अनिताले आफूलाई दाइले म्यासेन्जरमा आमा दिदी र आफू सुरक्षित रहेपनि बुबा र भिनाजुको मृत्यु भयो भन्दै खबर छोडेर आजसम्म सम्पर्कमा नआएको बताइन् ।
मानबहादुर र रामबहादुर मात्र हैनन् डाढगाउँका कति जना उत्तराखण्डमा रोजगारका लागि गएका छन् र कति बगे, कति बाँचे भन्ने यकिन तथ्यांक अहिलेसम्म प्राप्त भएको छैन । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नो पालिकाबाट १३ जना मध्ये ६ जना बाँचेका छौँ भनेर सम्पर्कमा आएपनि सिंह परिवारका आफन्तका अनुसार अन्य ७ जनाको मृत्यु भइसकेको हुनसक्ने बताए ।
भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा पर्ने हर्षिल क्षेत्रको धरालीमा आरीघोप्टे वर्षापछि भीषण बाढी आएको चार दिन भयो । खीरगंगा नदीमा आएको बाढीले धराली बजार तहसनहस गरेको छ । उक्त क्षेत्रमा नेपाली कामदारहरु पनि रहेका विभिन्न क्षेत्रबाट जानकारी आइरहेको छ । तर उनीहरूको अवस्था भने अझै अज्ञात रहेको छ ।
विभिन्न जिल्लाका स्थानीय तह र जिल्ला प्रशासनले धरालीको बाढीमा बेपत्ता भएको आशंका गरेपनि हालसम्म उक्त बाढीमा नेपाली परे नपरेकोबारे कुनै निकायबाट पनि पुष्टि हुन सकेको छैन । ‘धराली क्षेत्रमा रहेका स्याउ बगैंचामा काम गर्ने नेपाली कामदारहरु सुरक्षित रहेको जानकारी हामीसमक्ष पुगेको छ,’ उत्तरकाशी जिल्लाका डिएसपी जनक पवारले भने, ‘तर स्याउ बगैँचाका मालिक तथा मेटहरूसँग सम्पर्क हुन सकेको छैन ।’
उनका अनुसार धराली क्षेत्रमा विद्युत र फोन सेवा अवरुद्ध भएका कारण उक्त क्षेत्रमा स्थानीय, तीर्थयात्री र अन्य क्षेत्रबाट आएर काम गर्नेहरुको विषयमा यकिन जानकारी लिन सकिएको छैन । सडक समेत अवरुद्ध भएकाले खोज उद्धार सँगै अवरुद्ध भएका सेवाहरु सुचारु गर्न समेत समस्या भइरहेको उनले बताए ।
‘हालसम्म २ जनाको शव निकालिएको छ, उनीहरू दुवै स्थानीय हुन्,’ डिएसपी पवारले भने, ‘उक्त क्षेत्रबाट ३ सय ७२ जनालाई हेलिकप्टरबाट उद्धार गरेर सुरक्षित स्थानमा पुर्याइएको छ ।’ उद्धार गरिएकाहरूमा पनि कोही नेपाली छैनन् । अधिकांश तीर्थयात्री हुन् ।
डिएसपी पवारका अनुसार खीरगंगा नदीको बाढीले धराली क्षेत्रका ३०/३५ होटेल पुरिएका छन् । केही होटेल तथा घरहरू बगाएर भागीरथी नदीमा पुर्यायो । बाढीले बगाएको गेग्रानले ३०/३५ मिटरसम्म पटान गरेको छ । तिन/चार तले होटेलहरू समेत पुरिएका छन् । कम्तीमा ५० जना बेपत्ता भएको अनुमान गरिएको उनले बताए ।
‘होटेलहरुमा पनि नेपाली कामदार भएको सूचना प्राप्त भएको छ, तर तिनको अवस्था के छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन,’ पवारले भने, ‘विद्युत सुचारु भएपछि फोन सेवा पनि सुरु हुन्छ, त्यसपछि केही कुरा बाहिर आउँछ ।’ उनका अनुसार हरेक होटेलमा कम्तीमा पनि दुई/तीन जना कामदार रहेको अनुमान गर्न सकिन्छ । ती कामदारहरु कतै भाग्न सफल भए वा बाढीमै पुरिए केही जानकारी छैन ।
दिल्ली स्थित नेपाली दूतावासमा हालसम्म उत्तराखण्डमा पहिरोमा परी २२ जना बेपत्ता भएका खबर पुगेको छ । जसमध्ये ५ जना बर्दियाका पौडीगढवालको पहिरोमा परी बेपत्ता भएका छन् । अन्य नेपालीको हकमा कहाँ बेपत्ता भएका छन् भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएको दूतावासका काउन्सिलर प्रकाश मल्लले बताए ।
मल्लका अनुसार जाजरकोटका १३ जना र धादिङका ४ जना बेपत्ता भएकोबारे दूतावासमा जानकारी आएको छ । ‘हामीले पनि भारतीय सुरक्षा निकायसँग र प्रभावित क्षेत्रका प्रशासनिक निकायसँग समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘तर हालसम्म धरालीको बाढीमा कति क्षति भयो, कति बेपत्ता भए भन्ने सम्म विवरण संकलन भइसकेको छैन भन्ने जानकारी मात्रै आउँछ ।’
हर्षिल क्षेत्रमा ठाउँ ठाउँमा पहिरो गएका कारण गंगोत्री मार्ग अवरुद्ध भएको छ । जसका कारण बाढीले पटान गरेको क्षेत्रमा हातैले खोजी गर्न सकिने अवस्था छैन । चिनुक हेलिकोप्टमार्फत उक्त क्षेत्रमा खोज उद्धारका लागि ब्याकोलोडर लगायतका उपकरणहरु पुर्याउने कार्य भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
खोज उद्धारका लागि सेना र प्रहरी, एनडिआरएफ, एसडिआरएफ लगायतको टोली परिचालन भएको छ । उद्धारका लागि हेलिकप्टरको पनि प्रयोग भइरहेको छ । गंगोत्री मार्गमा फसेकाहरुलाई पनि हेलिकोप्टरबाट उद्धार गर्ने काम भइरहेको छ ।
उत्तराखण्डको मुख्यमन्त्री पुष्करसिंह धामीले धराली क्षेत्रको निरीक्षण गरेका छन् । उनले उद्धारमा खटिएका सुरक्षा निकायसँग घाइते भएका र बेपत्ता भएका परिवारका आफन्तहरुसँग पनि भेट गरेका छन् ।
धराली ऋषिकेश–गंगोत्री मार्गमा पर्ने भागीरथी किनारको सानो बजार हो । बजारको बिच भाग भएर बग्ने खिरगंगा नदीमा मंगलबार दिउसो ‘क्लाउड ब्रस्ट’ पछि आएको बाढीले धराली बजार तहसनहस गरेको हो । हालसम्म धरालीमा कति घर तथा होटेलहरुमा क्षति पुगेको छ भन्ने यकिन विवरण संकलन हुन सकेको छैन । धरालीबाट गंगोत्री २० किलोमिटर दुरीमा पर्छ ।
यतिबेला गंगोत्री लगायत चार धाम क्षेत्रको दर्शन गर्ने सिजन हो । गंगोत्रीमा पनि ठुलो संख्यामा दर्शनार्थीहरु जाने गर्छन् । गंगोत्री यात्राका क्रममा रहेका दर्शनार्थीहरु समेत धराली बाढीमा परेको हुन सक्ने अनुमान गरिएको खबर भारतीय सञ्चार माध्यमले केरलाका २८ जना तीर्थयात्रीको समूह बाढीमा परेको अपुष्ट खबर सार्वजनिक गरेका छन् । यद्यपि प्रहरीले भने यसबारे कुनै पुष्टि गरेको छ ।
गंगोत्री यात्रासँगै उक्त क्षेत्रमा सडक निर्माण, यात्रीको भारी बोक्ने र होटेल तथा स्याउ टिप्ने लगायतका कामका लागि नेपालीहरु समेत जाने गर्छ । यसरी उक्त क्षेत्रमा पुगेका नेपालीहरु समेत बाढीमा परेको आशंका गरिएपनि हालसम्म कतैबाट पनि पुष्टि भने हुन सकेको छैन ।
सम्पर्कविहीनहरूको विवरण
१. जिल्ला जाजरकोट कुशे गाउँपालिका २ ढाडगाउँ बस्ने धनबिर सिंहको नाति गंगु सिंहको छोरा वर्ष ४२ को कर्णबहादुर सिंह (जाजरकोट)
२. ऐ.ऐ. २ डोग्री बस्ने जयबहादुर सिंहको नाति रणबहादुर सिंहको छोरा वर्ष अन्दाजी ४३ को मानबहादुर सिंह (जाजरकोट)
३. ऐ.ऐ. बस्ने बहादुर सिंहको नाति हर्क सिंहको छोरा वर्ष अन्दाजी ४० को रामबहादुर सिंह (जाजरकोट)
४. ऐ.ऐ. मुलेडाँडा बस्ने नैन बहादुर सिंहको नाति अबि बहादुर सिंहको छोरा वर्ष अन्दाजी १७ को रबिन सिंह (जाजरकोट)
५. ऐ.ऐ. टालेगाउँ बस्ने लालु सिंहको नाति धर्म बहादुर सिंहको छोरा वर्ष ३५ को निम बहादुर सिंह (जाजरकोट)
६. जिल्ला जाजरकोट कुशे गाउँपालिका २ टालेगाउँ ससुराली घर भई जिल्ला जुम्ला तिला गाउँपालिका ३ बस्ने वर्ष ४५ को जनक शाही (जुम्ला)
७. जिल्ला जाजरकोट कुशे गाउँपालिका २ डोग्रि ससुराली घर भई जिल्ला रोल्पा स्थायी वतन भएको ९ वडा नं नखुलेको वर्ष अन्दाजी २२ को दीपक राना बुझिएको, निज सानैदेखि भारततर्फ बस्दै आएको बुझिएको, (रोल्पा)
८. जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका २ मजकोट बस्ने धनबहादुर शाहीको छोरा वर्ष अन्दाजी २८ को गगनबहादुर शाही (जाजरकोट)
९. ऐ.ऐ. वडा नं. २ बस्ने पालुङगे शाहीको छोरा वर्ष अन्दाजी ५० वर्षको रामबहादुर शाही (जाजरकोट)
१०. ऐ.ऐ. वडा नं. २ बस्ने लाल बहादुर शाहीको छोरा वर्ष अन्दाजी ३१ को गोरख बहादुर शाही (जाजरकोट)
११. ऐ.ऐ.वडा नं. ३ डाँडाकोट बस्ने खड्के खड्काको छोरा वर्ष अन्दाजी ३५ को हरि बहादुर खड्का (जाजरकोट)
१२. ऐ.ऐ. वडा नं. ३ बस्ने खड्के खड्काको छोरा वर्ष अन्दाजी ३१ को रेशम खड्का (जाजरकोट)
१३. ऐ.ऐ. वडा नं. ३ बस्ने निज रेशम खड्काको श्रीमती वर्ष अन्दाजी २८ की पार्वती खड्का (जाजरकोट)
१४. ऐ.ऐ. वडा नं. ३ बस्ने वीरमाने खड्काको छोरा वर्ष अन्दाजी३४ को केशव खड्का (जाजरकोट)
१५. ऐ.ऐ. वडा नं. ३ बस्ने वर्ष अन्दाजी ३० की निर्मला खड्का (जाजरकोट)
