बेपत्ताको अवस्था अझै अज्ञात, घाइते चार जना डिस्चार्ज

बेपत्ता ५ जनाको अवस्था भने अझै अज्ञात छ।

श्रावण २३, २०८२

कमल पन्थी

The condition of the missing is still unknown, the injured four have been discharged

What you should know

बर्दिया — भारतको उत्तराखण्ड राज्यको पौडी गढवालको बाकुडामा मंगलबार 'क्लाउड बर्स्ट' का कारण घाइते भएका चार जना उपचारपछि डिस्चार्ज भएका छन्। अरु दुई जनाको उपचार भइरहेको छ। बेपत्ता ५ जनाको अवस्था भने अझै अज्ञात छ।

गाउँमा काम गर्ने मानिसलाई भारत पुर्‍याउन समन्वय गरेका चित्रबहादुर पौडेलका अनुसार मधुवन नगरपालिका–५ गाउँ नम्बर ८ कि लक्ष्मी परियार र सोही पालिका–७ का भुपेन्द्र खत्रीको उपचार भइरहेको छ।

'परियारको शुशिला तिवारी अस्पताल हलद्धानी र खत्रीको फाउण्डेशन अस्पताल सतफलीमा उपचार भइरहेको छ,’ उनले भने, ‘मधुवन–५ का उदय गुरुङ, मधुवन–८ का गोपाल थापा, बारबर्दिया नगरपालिका–४ का कालिग्राम चौधरी र मधुवन–५ का अशोक परियार अस्पतालबाट डिस्चार्ज भएका छन्।'

दिल्लीस्थित नेपाली दुतावासका एसएसपी प्रकाश मल्लले भारतीय प्रहरीले दिएको जानकारी अनुसार तीनजना डिस्चार्ज र एक जनाको उपचार भइरहेको जनाए। बर्दियाका ५ जना नेपाली नागरिक बेपत्ता भएका छन्। तीमध्ये एकै परिवारका तीन जना सदस्य रहेका छन्। मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन र सोही पालिका–८ गाउॅ नम्बर ८ का एक जना रहेका छन्।

पहिरोमा परी मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३० वर्षीया श्रीमती सरस्वती र छोरा २ वर्षीया रोमन वेपत्ता भएको खड्काका काका उद्दवले बताए । गत असार ६ गते सडक निर्माणको काममा दैनिक ज्यालादारी गर्न नरेन्द्र परिवार सहित गढवालको जमपुरीमा गएका थिए।

मधुवन–५ का गाउॅ नम्बर ८ का ४५ वर्षिय रामु परियारका श्रीमती अमृता  बेपत्ता भएकी छन्। उनकी छोरी लक्ष्मी गम्भीर घाइते भएकी छन्। ठेगाना नखुलेका सुभाष विक पनि बेपत्ता रहेका छन्। 

उत्तराखण्ड बाढी

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully