लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै कूटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति दिन संघीय सरकार र परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।
काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका बर्दियाका चार नेपालीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष आग्रह गरेका छन् ।
घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै आचार्यले कूटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति दिन परराष्ट्र मन्त्रालयलाई समेत आग्रह गरेका छन् ।
मंगलबार 'क्लाउड बर्स्ट' (आरिघोप्टे वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो । पौडी गढवालमा गएको पहिरोमा बर्दिया जिल्लाका पाँच जना बेपत्ता भएका छन् ।
मजदुरीका लागी भारत पसेका बर्दियाको मधुवन नगरपालिका–६ का एकै परिवारका ४० वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार सहित पाँच नेपाली सम्पर्कविहीन भएका हुन् ।
आचार्यले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताहरूको सकुशल उद्दारको कामना गरेका छन् ।
यससँग सम्बन्धित अन्य समाचारहरु
उत्तराखण्ड बाढी : नेपाली मजदुर भन्छन्- 'टेन्टभित्र रहेका सबैलाई हेर्दाहेर्दै बगाएर लग्यो'
