उत्तराखण्ड बाढी : नेपालीको स्थिति अझै अज्ञात

उत्तरकाशी जिल्लाको धरालीमा गएको भीषण पहिरोमा नेपालीहरू परे वा नपरेकोबारे कुनै पनि आधिकारिक जानकारी अहिलेसम्म प्राप्त नभएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

श्रावण २३, २०८२

राजेश मिश्र

Uttarakhand Flood: Status of Nepalis still unknown

What you should know

काठमाडौँ — भारत उत्तरखण्डको उत्तरकाशी जिल्लामा गएको पहिरोमा नेपालीहरू परेको अनुमान गरिए पनि त्यसको औपचारिक पुष्टि भने हुन सकेको छैन। दिल्लीस्थित नेपाली दूतावासले घटनास्थलमा अझै उद्धार कार्य जारी रहेकाले त्यहाँको सबै विवरण आइनसकेको जनाएको छ ।

दूतावासका उपनियोग प्रमुख (डीसीएम) सुरेन्द्र थापाले कूटनीतिक च्यानल र सिधै उत्तराखण्डका प्रहरी प्रशासनसँग पनि निरन्तर सम्पर्क भइरहेको बताए। उत्तराखण्डमा दुई वटा घटना भएका छन् ।

साउन २० मा उत्तरकाशीमा ठुलो पहिरो गएको थियो भने त्यसको अर्को दिन साउन २१ मा पौडीगढवालको खटोला भन्ने स्थानमा पनि मानिसहरू बगाएको छ। पौडी गढ्वालको पहिरोमा बर्दियाका ५ जना नेपाली नागरिक हराएकोबारे भने भारतीय प्रहरीले पुष्टि गरेको छ । त्यस्तै, त्यहाँ ४ जना नेपाली घाइते भेटिएको समेत दूतावासको जानकारीमा छ । 

तर, उत्तरकाशी जिल्लाको धरालीमा गएको भीषण पहिरोमा नेपालीहरू परे वा नपरेकोबारे कुनै पनि आधिकारिक जानकारी अहिलेसम्म प्राप्त नभएको उनले बताए । नेपालका केही पालिकाहरूबाट मानिस हराएको सूचना आएकाले त्यो सूचनाका आधारमा पनि यता प्रहरीसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

माटो, ढुंगाको लेदोको थुप्रो ठुलो रहेकाले उद्धारमा चुनौती रहेको जानकारी आएको उनले बताए । ‘हामी घटनास्थलमा जान प्रयास पनि गरेका हौँ । तर, उत्तराखण्ड प्रहर प्रशासनले बाटोहरू अवरुद्ध रहेकाले तत्काल आइपुग्न समस्या रहेको भनेका छन्,’ उनले भने ‘त्यहाँ हेलिकप्टरबाट उद्धार तथा रासन पानी पुर्‍याउने कार्य भइरहेको छ ।’

शुक्रबार अपरान्हसम्म ३ सय ७२ जनाको उद्धार गरिएकोमा त्यसमा कोही पनि नेपाली नागरिक नरहेको समेत दूतावासले जनाएको छ । दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले उद्धार गरिएका र मृत भेटिएका २ जना मध्ये नेपाली नागरिक नरहेको बताए । १५/२० वटा होटल सहित केही घरहरू पुरिएकाले त्यहाँ धेरै सङ्ख्यामा मानिसहरू परेको हुनसक्ने अनुमान छ ।

‘त्यहाँ नेपाली मजदुरहरू पनि कार्यरत रहेको हुनसक्ने भएकाले नेपाली नागरिक पनि पहिरोमा परेका हुन सक्छन्,’ उनले भने, ‘तर, यकिन जानकारी छैन ।’ त्यहाँ उद्धारमा पनि चुनौती रहेकाले उद्धार कार्य सकिन अझ समय लाग्ने देखिएको उनले बताए । दूतावासले शुक्रबार प्रेस विज्ञप्ती जारी गरेर बाढी पहिरो पश्चात् घटनास्थल क्षेत्रमा नेपालीहरूको अवस्थाबारे सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहको जनाएको छ । 

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully