भारतको उत्तरकाशीमा ‘क्लाउड बर्स्ट’, धराली बजार तहसनहस

दिउँसोसम्म ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने उद्धार टोलीलाई घटनास्थलसम्म पुग्नै गाह्रो भएको छ ।

श्रावण २०, २०८२

भवानी भट्ट

'Cloud Burst' in Uttarkashi, India, Dharali market devastation

कञ्चनपुर — भारत उत्तराखण्डको उत्तरकाशीमा 'क्लाउड बर्स्ट' पछि आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ ।

भारतीय समय अनुसार मंगलबार १ बजेर ३० मिनेटमा आएको बाढीले धराली बजारका धेरै घर गेग्रानमा पुरिएको र केही घरहरु बगेका छन् । बाढीमा परी अपराह्न ५ बजेसम्म ४ जनाको मृत्यु भएको डिएम प्रशान्त आर्यले जानकारी दिएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।  

'Cloud Burst' in Uttarkashi, India, Dharali market devastation

उत्तरकाशीका पुलिस उपअधिक्षक जनक पवारका अनुसार धराली आसपासको क्षेत्रमा ३ ठाउँमा 'क्लाउड बर्स्ट' भएको थियो । मंगलबार दिउँसो 'क्लाउड बर्स्ट' हुँदा गंगोत्रीमार्ग समेत अवरुद्ध भएको छ । 

‘सबैभन्दा अगाडि धरालीमै क्लाउड बर्स्ट भएको थियो, त्यसपछि आसपास दुई अन्य ठाउँमा पनि क्लाउड बर्स्ट भएको छ,’ पवारले भने, ‘बाटो अवरुद्ध भएका कारण उद्धार टोली घटनास्थलसम्म जान सकेको छैन ।’ 

'Cloud Burst' in Uttarkashi, India, Dharali market devastation

पवारका अनुसार उत्तराकाशीका डिएम प्रशान्त आर्यसहित सेना र प्रहरीको टोली खोज उद्धारका लागि गएपनि घटनास्थलसम्म पुग्न सकेको छैन ।

धराली बजारका धेरै घरहरु बाढीले बगाएका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ । उनका अनुसार उक्त क्षेत्रमा दुई दिनदेखि नियमित रुपमा वर्षा भइरहेको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully