उत्तराखण्ड बाढी पीडित भन्छन्, ‘घर आउने भाडा नहुँदा पनि जेनतेन आयौँ,’

धराली बाढीमा बेपत्ता भएका रमेश र प्रियाको परिवार निड्स नेपालको सहयोगमा घर फर्किएका छन्।

भाद्र ८, २०८२

भवानी भट्ट

Uttarakhand flood victims say, ”We came to Jenten even though there was no rent to come home.”

What you should know

कञ्चनपुर — भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा पर्ने धरालीको बाढीमा बेपत्ता भएकाहरुका आफन्त नेपाल भित्रिएका छन् । बाढीका कारण बेखर्ची भएका उनीहरु कतै पैदल त कतै गाडीमा यात्रा गरेर यहाँ पुगेका हुन् ।

धरालीमा तीन साताअघि ‘क्लाउड ब्रस्ट’ पछि खीर गंगा नदीमा आएको बाढीमा परेर बेपत्ता भएका कैलाली टीकापुर ८ का रमेश बुढा र उनकी श्रीमती प्रियाका परिवार आइतबार घर पुगेका हुन्। बेपत्ता भाई बुहारीको हरिद्वारमा किरिया गरेर उनीहरु गड्डाचौकी नाका हुनै घर फर्किएका हुन् । 

घरसम्म पुग्ने समेत खर्च नभएका उनीहरुलाई गैर सरकारी संस्था निड्स नेपालले सहयोग गरेर घर पठाएको छ। निड्सले उनीहरुलाई घरसम्म पुग्ने र बाटोमा खाने व्यवस्था गरेर पठाएको हो।

‘रोजगारी गर्न गएका हामीहरु परिवारका सदस्य पनि गुमायौं, ज्याला मजदुरी गरेको पैंसा पनि सबै बाढीले लग्यो,’ बेपत्ता बुढाका दाई प्रकाशले भने, ‘विपद्का बेला बिरानो ठाउँमा हामीलाई सहयोग गर्ने पनि कोही भएन, त्यहाँको सरकारले बेपत्ता भएका आफ्ना नागरिकका परिवारलाई ५ लाख दिने भनेको छ, हाम्रोबारे कसैले सोधी खोजी पनि गरेनन्।’

उनका अनुसार धरालीमा बेपत्ता भएका आफन्त र अन्य नेपाली कामदार सबै घर फर्किएको बताए । धरालीको बाढीमा परेर २१ नेपालीसहित ६८ जना बेपत्ता छन् । हालसम्म एक जना स्थानीयको मात्रै शव भेटिएको छ । अन्य बेपत्ता भेटिने सम्भावना समेत छैन । त्यहि भएर आफन्तहरू घर फर्केर किरिया गर्न थालेका हुन् ।

बुढा परिवारले पनि रमेश र प्रियाको हरिद्वारमै कुशको पुत्ला बनाएर अन्तिम संस्कार संगै किरिया समेत गरेर फर्केका हुन् । ‘अब दुई/चार महिना घरमै बस्छु, उतातिर पनि काम केही छैन,’ प्रकाशले भने, ‘अवस्था सहज भएपछि फर्किनुपर्छ।’ उनीसँगै धरामीमा काम गरिरहेका श्रीमती पार्वती भाई तपेन्द्र, काका झुसे लगायत ११ जना घर फर्किएका छन् । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully