उत्तराखण्डमा बेपत्ता नभेटिएपछि उद्धार टोली फर्कियो, पीडित भन्छन्- 'दूतावासले सहयोग गरेन'

१० दिनसम्म खोजी गर्दा एउटा हातबाहेक अरू फेला नपरेपछि उनीहरु फर्केको बाकुडामा मजदुरी गरिरहेका नेपालीले बताएका छन् ।

भाद्र १, २०८२

कमल पन्थी

Rescue team returned after missing missing in Uttarakhand, victims say - 'Embassy did not help'

What you should know

बर्दिया — भारत उत्तराखण्ड राज्यको पौडी गढवालस्थित बाकुडाको बाढीपहिरोमा बेपत्ता बर्दियाका ५ जनाको उद्धारमा गएको एसडीआरएफ (स्टेट डिजास्टर रेस्पोन्स फोर्स) टोली पनि शनिबार फर्केको छ ।

साउन २१ गतेको बाढीपहिरोमा परि बर्दियाका मात्रै ५ जना बेपत्ता भएका थिए । एसडीआरएफ घटनास्थलबाट करिब १ सय किमि दुरीमा रहेको धुमाकोटसम्म पुगेर फर्केको त्यहाँका मजदुरले बताएका छन् । 

१० दिनसम्म खोजी गर्दा एउटा हातबाहेक अरू फेला नपरेपछि उनीहरु फर्केको बाकुडामा मजदुरी गरिरहेका चित्रबहादुर पौडेलले बताए । ‘ठूलो पानी पर्‍यो भने मात्रै लेदो बगाएपछि बेपत्ता फेला पर्न सक्छन् भन्दै हाललाई खोजी कार्य स्थगित गरेको जानकारी एसडीआरएफले दिएका छन्,' उनले भने ।

बेपत्ता भेटिने आस हराएपछि सडक निर्माणमा खटिएका नेपालीहरू पनि काममा लागिसकेका छन् । त्यहाँ बर्दियाका २८ र बाँकेका १३ मजदुर सडक निर्माणमा संलग्न रहेको पौडेलले बताए । ६० किमि दुरीमा ठाउँठाउँमा सडकको पर्खाल निर्माणमा उनीहरु खटिएका छन् । निकै विकट ठाउँ भएकाले जोखिम रहेको पौडेलले बताए ।

नेपाली नागरिक बेपत्ता भएको दस दिन भए पनि नेपाली दूतावासबाट कोही पनि नआएको त्यहाँस्थित नेपाली मजदुरले दुःखेसो पोखेका छन् । 'भारतबाट विधायक, प्रहरीसमेत आएर सोधीनिधी गरे तर दूतावासबाट कोही आएनन्,' बेपत्ता गुलरिया–२ का सुभाष दमाईका बाबु सोमबहादुरले भने ।

बेपत्ता फेला नपरेकाले बर्दियाका पाँच जनाका परिवारले किरिया गरेका छन् । मृत्यु दर्ता भारतीय अधिकारीले अहिलेसम्म गरेका छैनन् । केही समयअघि उत्तराखण्ड राज्यको पौडी अलिसेनका प्रहरीका इन्सपेक्टर लखन सिंहले हात भेटिएको मुचुल्का उठाएका थिए । मृत्यु दर्ताका लागि एक महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएको पौडेलले सुनाए ।

मधुवन नगरापलिका–६ गाउँ नम्बर ४ का एकै परिवारका नरेन्द्र खड्का, उनकी श्रीमति सरस्वती र २२ महिनाका छोरा रोमन बाढीपहिरोबाट बेपत्ता छन् । मधुवन–६ गाउँ नम्बर ८ का रामु परियारकी श्रीमती अमृता र गुलरिया–२ का सुभाष दमाई पनि बेपत्ता भएका छन् ।

घाइते रामु परियारका छोरी र गम्भीर घाइते लक्ष्मी परियारको सुशीला तिवारी अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ ।

भारत दिल्लीस्थित नेपाली राजदूतावासका एसएसपी प्रकाश मल्लले सडक धेरै ठाउँमा क्षतिग्रस्त भएकाले जाने अवस्था नरहेको बताए । 'सडक मर्मतपछि दूतावासबाट कर्मचारी जाने कुरा छ,’ उनले भने, ‘भारत सरकारले शव फेला नपरेसम्म मृत्यु भएको पुष्ट्याइँ गर्दैन ।'

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully