उत्तराखण्ड बाढी : शनिबार भेटिएको 'हात' नरेन्द्र खड्काको भएको पहिचान

बेपत्ताहरूको खोजी गर्ने क्रममा शनिबार एउटा हात फेला परेको थियो। हातमा लेखिएको नाम र 'टाटु'का आधारमा खड्काको पहिचान खुलेको हो।

श्रावण २५, २०८२

कमल पन्थी

Uttarakhand floods: The 'hand' found on Saturday has been identified as that of Narendra Khadka

What you should know

बर्दिया — भारतको उत्तराखण्डको पौडीगढवालस्थित सिन्धुखोला नजिक बाकुडामा पहिरोमा परी बेपत्ता भएकामध्ये शनिबार भेटिएको हात बर्दियाको मधुवन नगरपालिका-६ का ३९ वर्षीय नरेन्द्र खड्काको रहेको पहिचान भएको छ। तर यसबारे प्रहरीले भने पुष्टि गरेको छैन।

बाढी पहिरोमा परी ५ जना बेपत्ता रहेकामध्ये शनिबार पहिरो पन्छाएर खोजी गर्ने क्रममा भेटिएको हात खड्काको भएको पहिचान भएको हो। हातमा लेखिएको नाम र 'टाटु'का आधारमा परिवारले उनको पहिचान गरेका हुन्।

पौडी गढवालस्थित बाकुडामा रहेका बर्दियाको मधुवनका चित्रबहादुर पौडेलले बेपत्ता भएकामध्ये मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का ३९ वर्षीय नरेन्द्र खड्काको हात फेला परेको बताए। छोरा, बुहारी र नातिको खोजीमा आएका नरेन्द्रका बुबा चुडामणिले हातमा लेखिएको टाटुका आधारमा नरेन्द्रको पहिचान गरेका हुन्।

दिल्लीस्थित नेपाली दूतावासका एसएसपी प्रकाश मल्लले भारतीय प्रहरीले पुष्टाइँ नगरेसम्म खड्काको हात भएको भन्न नमिल्ने बताए । चुडामणिका भाई उद्दव खड्काले दाई आज रातिसम्म घर आई पुग्ने बताए । भतिजाको हातमा टाटु र नाम लेखिएकोले पहिचान भएको जानकारी आएको उनले बताए।

बाढी र पहिरोमा परी बेपत्ताहरूको खोजीकालागि पाँच दिनदेखि खोजी कार्यमा करिब ४५ जना नेपाली खटिएका छन्। पहिरोमा परी बर्दियाका ५ जना बेपत्ता भएका थिए । त्यसमध्ये मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का,  उनकी श्रीमती ३० वर्षीया सरस्वतीसंगै २ वर्षीया छोरा रोमनलाई समेत साथै लिएर मजदुरी गर्न भारत गएका थिए।

सरस्वती र रोमनको अवस्था भने अझै अज्ञात छ । त्यस्तै, सोही पालिका–५ गाउॅ नम्बर ८ का ४५ वर्षीय रामु परियारका श्रीमती अमृता पनि बेपत्ता रहेकी छन्। उनकी छोरी २१ वर्षीय लक्ष्मी गम्भीर घाइते छिन्। 

त्यस्तै, बर्दियाकै गुलरिया नगरपालिका–३ संगमबस्तीका २१ वर्षीय सुभाष विक पनि बाढी पहिरोमा परी बेपत्ता छन्। पानी परिरहेका कारण उनीहरूको खोजी कार्यमा समस्या भइरहेको जनाइएको छ। शनिबारसम्म भारतीयहरू पनि खोजी कार्यमा खटिएका थिए। तर आइतबारबाट भने उनीहरू आएका छैनन्। 

बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई उत्तराखण्ड सरकारले जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully