'खोजीसँगै राहतका लागि पनि प्रयास गरिरहेका छौं, सोमबारसम्म राहतका लागि आवश्यक निवेदन दिएर घर फर्किन्छौं ।’
What you should know
कञ्चनपुर — एकातिर आफन्त बेपत्ता भएको पीडा । अर्कोतिर बिहानैदेखि दिनभरि खोजीमा दौडिनुपर्ने । बर्दिया मधुवनका हरि परियारलाई अहिले यस्तै भएको छ ।
गत बुधबार भारत उत्तराखण्ड पौडीगढवालको थैलीसैन ब्लकको बंकुरा गाउँमा गएको बाढीपहिरोमा परी परियारकी भाउजू अमृतासँगै ५ जना नेपाली कामदार बेपत्ता भएका छन् ।
‘नदी किनार र पहिरो गएको ठाउँमा खोज्दा खोज्दै थाकिसक्यौं,’ परियारले भने, ‘अब अन्तिम पटक पहिराले थुपारेको गेग्रान पन्छाएर हेर्ने प्रयास गरिरहेका छौं, हातले पन्छाउन सकिने अवस्था छैन, पानीले बगाएर पन्छाउन सकिन्छ कि भनेर प्रयार भइरहेको छ ।’ उक्त क्षेत्रमा रहेका बेपत्ताका आफन्त र अन्य नेपालीहरु शनिबार पनि बिहानैदेखि आफन्तको खोजीमा जुटेका छन् ।
पहिरोमा बेपत्ता भएकी अमृताका श्रीमान रामु पनि बंकुरामै छन् । उनीहरु दुवै सँगै सडक निर्माणको काममा मजदुरी गर्न बंकुरा पुगेका हुन् । ‘हामीहरु घरबाट सँगै आएका हौं, रामनगरबाट छुट्टियौं,’ परियारले भने, ‘दाइभाउजू काम गर्ने ठाउँभन्दा दुई सय मिटर टाढा थिए, घटनापछि बंकुरा आएको छु ।’
बेपत्ता अमृताका जेठा छोरा यूएईमा छन् । कान्छा लद्दाकमा । उनीहरु दुवै घर फर्किरहेको परियारले बताए । जेठी छोरीको विवाह भइसकेको छ । कान्छी छोरी लक्ष्मी पनि सँगै थिइन् । उनी पनि पहिरोमा परेर घाइते भएकी छिन् । उनको खुट्टा भाँचिएर हल्द्वानीमा उपचार भइरहेको छ ।
‘अब एक/दुई दिन हेर्छौं नभेटिए घर फर्केर किरिया गर्ने योजनामा छौं,’ परियारले भने, ‘अहिले सिन्धु खोलाको पानी गेग्रान भएतिर बगाएर त्यसभित्र पुरिएका छन् कि भनेर हेर्ने प्रयासमा छौं ।’ उनले ठेकेदार र प्रधानसँग पनि राहतका लागि कुराकानी भइरहेको बताए । शुक्रबार घटनास्थलमा पुगेको उत्तराखण्डका आपदा विभागका मन्त्री धनसिंह रावतले उचित राहात उपलब्ध गराउने आश्वासन दिएका छन् ।
‘खोजीसँगै राहतका लागि पनि प्रयास गरिरहेका छौं, सोमबारसम्म राहतका लागि आवश्यक निवेदन दिएर घर फर्किन्छौं,’ परियारले भने, ‘बेपत्ता भएका खड्का दम्पतीका बुवा पनि पुगेका छन्, अर्का बेपत्ता सुवास परियारका बुवालाई पनि खबर गरेको छु, उहाँ पनि आउदै हुनुहुन्छ भन्ने जानकारी पाएको छु ।’
पहिरोमा पनि बर्दियाको मधुवन नगरपालिका-५ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या र १८ महिनाको छोरा रोमन पहिरोमा बेपत्ता भएका छन् । यसैगरि सोही नगरपालिकाका सुवास परियार पनि बेपत्ता छन् । खड्काका बुवा चूडामणि र भिनाजू नवीन थापा शुक्रबार बंकुरा पुगेका छन् ।
‘अब राहतका लागि केही काम गरेरै फर्किन्छौं, घरमै गएर किरिया गर्ने योजना बनाएका छौं,’ चूडामणिले भने, ‘यहाँ खोजेर पाइएला जस्तो मलाई त लाग्दैन ।’ बंकुराका ग्राम प्रधानले राहतका लागि आवश्यक कागजात बनाइदिने भनेकाले त्यसकै लागि एक/दुई दिन बस्नुपर्ने उनले बताए ।
