बेपत्ता भेटिने आश नभएपछि किरिया बसे आफन्त

मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का ३९ वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीया श्रीमती सरस्वती र २२ महिनाको छोरा रोमन पाँच दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि सोमबारदेखि काका उद्धव किरिया गरिरहेका छन् ।

श्रावण २८, २०८२

कमल पन्थी

Relatives stayed in Kiria after there was no hope of finding the missing person

What you should know

बर्दिया — उत्तराखण्ड राज्यको पौडी गढवालको बाकुडामा गत बुधबार पहिरोमा परी बेपत्ता भएका बर्दियाका ५ जना फेला पर्ने आश मरेपछि खोजीमा गएका आफन्त घर फर्किएर किरिया बसेका छन् ।

मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का ३९ वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीया श्रीमती सरस्वती र २२ महिनाको छोरा रोमन पाँच दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि सोमबारदेखि काका उद्धव किरिया गरिरहेका छन् ।

नरेन्द्रका बुवा चुडामणिले छोराबुहारी र नातिको किरिया गर्न नमिल्ने भएपछि काकाले गरेका हुन् । पहिरोमा बेपत्ता छोराबुहारी खोज्न घटनास्थलमा ५ दिन बिताएका चुडामणिले पहिरोमा बुहारी सरस्वतीको नाम लेखेको छोराको हात फेला परेपछि जिउँदो भेटिने आश मारेको बताए । ‘५ दिनसम्म घटनास्थलमा खोजी गर्यौं । जिउँदो भेटिने आश नदेखेपछि घर फर्किएर कुशको शव बनाइ अन्तिम संस्कार गरे,’ उनले भने ।

घटनास्थलबाट करिब १ किमी तल नरेन्द्रको एउटा हात भेटिएको थियो । ४ वर्षदेखि उत्तराखण्डको पौडी गढवालस्थित बाकुडामा सडक निर्माणमा मजदुरी गर्दै आएका नरेन्द्र बेलाबेला घर आउने गर्थे । उनी गत असार ६ गते श्रीमतीसहित छोरालाई लिएर पौडी गढवाल गएका थिए ।

‘गाउँमा नयाँ घर बनाइरहेको थियो । यसपाली त अधुरै रहेको घरको काम पूरा गर्ने भन्थ्यो,’ काका उद्धवले भने, ‘अब परिवारका तीनै जना पहिरोमा बिलाए ।’ साउन २१ गते सिन्धु खोलानजिक बाकुडामा आएको बाढीपहिरोले खड्कासहित बर्दियाकै ५ जना बेपत्ता छन् । चूडामणिका दुई छोरा मध्ये एक नेपाली सेनामा कार्यरत छन् ।

नरेन्द्रले सडक निर्माणमा दैनिक ज्यालादारी वापत दैनिक ५ सय रुपैयाँ पाउँथे । पानी परिरहेको बेला टेन्टमा बसेको समय उनीहरु पहिरोमा परेको चुडामणिले बताए । सोही पहिरोमा बेपत्ता मधुवन–६ गाउँ नम्बर ८ का रामु परियारकी श्रीमती अमृता फेला पर्ने आश हराए पछि सोमबारदेखि छोरा अजय र बुहारी विमला किरिया बसिरहेका छन् । उनका अर्का छोरा विजय दुबईमा छन् ।

सोही घटनामा घाइते भएका अमृताका देवर अशोकको ढाडमा चोट लागेको छ । घटनामा घाइते भएकी परियारकी छोरी लक्ष्मीको सुशीला तिवारी अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ । पहिरोमा बेपत्ता छोरा १९ वर्षीय सुभाष फेला नपरेपछि रित्तो फर्किएका गुलरिया–२ का सोमबहादुर दमाई पनि घर पुगेर किरिया बसेका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully