५ दिनदेखि खोज्दा पनि भेटिएनन् उत्तराखण्डमा हराएका नेपाली, आस मार्दै फर्किए आफन्त

बेपत्ताका आफन्त जोखिमपूर्ण ठाउँमा हिँड्न नसकेर आस मार्दै फर्किइसकेका छन् । शनिबारदेखि भारतीय उद्धारकर्मी पनि आएका छैनन् ।

श्रावण २६, २०८२

कमल पन्थी

Even after searching for 5 days, the missing Nepalese in Uttarakhand were not found, their relatives returned with hope

What you should know

बर्दिया — भारत उत्तराखण्डको पौडीगढवालस्थित सिन्धु खोला नजिक बाकुडामा बुधबार आएको बाढीपहिरोले बेपत्ता भएकाको खोजीमा गएका पीडित परिवार घर फर्किन थालेका छन् । पाँच दिनदेखि खोजी गर्दा पनि विकट पहाडी क्षेत्रमा नभेटिएपछि अधिकांश फर्किसकेका छन् । 

पौडीगढवालस्थित बाकुडामा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलले बेपत्ताका १८ परिवार आस मार्दै आइतबार बेलुकी फर्किसकेको बताए । 'दैनिक १५ किलोमिटरसम्म खोजी गर्दै हिँडिरहेका छौं,’ उनले भने, ‘दिनभर पानीबाहेक खाने कुरा केही हुँदैन, पाँच दिन भयो खोजी गर्दागर्दै स्वास्थ्यले साथ दिन छाड्यो ।' उनका अनुसार बेपत्ताका आफन्त पनि जोखिमपूर्ण ठाउँमा हिँड्न नसकेर आस मार्दै फर्किइसकेका छन् । शनिबारदेखि भारतीय उद्धारकर्मी पनि आएका छैनन् । 

माटो, ढुंगा र लेदो थुप्रिएकाले उद्धारमा चुनौती रहेको गुलरिया नगरपालिका संगम बस्तीका बेपत्ता मजदुर २१ वर्षीय सुभाष विकका बुबा सोमबहादुरले बताए । 'खोजी गर्दागर्दै थाकिसक्यौं, अब घर फर्किन लागेका छौं,’ उनले भने, ‘छोरा पाउने आशा मर्न थाल्यो, उमेरले साथ नदिँदा धेरै हिँड्न सक्दैनौं ।' उनका साथमा श्रीमती गीतादेवी पनि गएकी छिन् ।

पौडीगढवालस्थित बाकुडामा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलका अनुसार मजदुरी गर्न आएका मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३० वर्षिया श्रीमती सरस्वतीसँगै २ वर्षीया छोरा रोमन बेपत्ता छन् । खोजीमा आएका बुबा चूडामणि र उनका ज्वाइँ नवीन थापा तथा पहिरोले बगाएकी अमृताका श्रीमान् रामु परियारलगायत बाकुडाबाट फर्किसकेका छन् । परियारकी छोरी लक्ष्मीको खुट्टाको शल्यक्रिया भएकाले रामु र आफन्त केही दिन उतै बस्ने भएका छन् । उनको उपचार सुशीला तिवारी अस्पताल हल्दवानीमा भइरहेको छ । गम्भीर घाइते बर्दियाका भुपेन्द्र खत्रीको फाउन्डेसन अस्पताल सतफलीमा शल्यक्रिया भएको उनले बताए ।  

पहिलो दिन उपचारका लागि २० हजार खर्च आफूले गरेको र पछि उत्तराखण्ड सरकारले गरिदिएको पौडेलले बताए । पौडेललगायत खोजी कार्यमा हिँडेका धेरै जनाको खुट्टालगायत भागमा ढुंगाले चोट लागेको छ । 'हामी पनि उपचारका लागि नजिकको अस्पतालमा जान लागेका छौं,' उनले भने ।'  

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully