उत्तराखण्डमा बेपत्ता नभेटिएपछि घर फर्किन थाले आफन्त

चारपाँच दिनसम्म प्रयास गर्दा पनि नभेटिएपछि पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीका लागि गएका आफन्त र फर्किएका हुन् । 

श्रावण २६, २०८२

भवानी भट्ट

Relatives started returning home after missing in Uttarakhand

What you should know

कञ्चनपुर — भारत उत्तराखण्डको पौडीगढवाल जिल्लाअन्तर्गत थलीसैन ब्लकको बंकुरा गाउँमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीका लागि गएका आफन्त घर फर्किएका छन् । चारपाँच दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि उनीहरु घर फर्किएका हुन् । 

गत बुधबार बंकुरा गाउँमा पहिरोमा पनि ५ जना नेपाली कामदार बेपत्ता भएका हुन् । बर्दियाको मधुवन नगरपालिका-५ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या र १८ महिनाको छोरा रोमनसँगै सोही वडाकी अमृता परियार र बर्दियाकै गुलरिया नगरपालिका-४ संगम बस्तीका सुवास दमाई बेपत्ता भएका हुन् । 

खोजीका लागि नरेन्द्रका बुवा चूडामणि र भिनाजु नवीन थापा बंकुरा पुगेका थिए । सुवासका बुवा सोमबहादुर दम्पती पनि शनिबार पुगेका थिए । अमृताका श्रीमान् रामु र देवर हरि बंकुरामै छन् । 

‘अब भेटिने आस मारेर सबै घर फर्केका छन्,’ बेपत्ता अमृताका देवर हरिले भने, ‘चारपाँच दिन खोजी गर्दागर्दा थाक्यौं, कतै भेटिने सम्भावना पनि छैन ।’ उनका अनुसार बेपत्ताका आफन्त घरमै किरिया गर्ने गरी फर्केका हुन् । उनीहरु मध्ये कोही आइतबार बिहान र कोही साँझ हिँडेका हुन् । 

‘अब खोजी कार्य पनि बन्द भइसक्यो, हामी पनि थाकिसक्यौं,’ बंकुरामा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलले भने, ‘आफन्तहरु घर फर्किसकेका छन्, हामी पनि अब काममा लाग्छौं ।’

बर्दियाको गुलरिया नगरपालिका ४ संगम बस्तीका सुवास दमाई भारतको पञ्जाबमा काम गर्थे । त्यहाँ राम्रो कमाई नभएपछि उनी एक महिनाअघि सडकको काम गर्न बंकुरा पौडीगढवाल पुगेका थिए । पौडीगढवालको बंकुरामा सडक निर्माणका लागि ज्यालादारीमा काम गरिरहेका थिए । 

सुवासका बुवा सोमबहादुर र आमा उत्तरकाशीमा काम गर्थे । बुवा मिस्त्री र आमा उनलाई ढुंगा गारो दिने सहयोगी ।दुवैजना रोपाइँ लगाएर उत्तरकाशी गएका थिए । कान्छो छोरा घरमै छाडेर गएका उनीहरु छोरा बेपत्ता भएको थाहा पाएपछि पौडीगढवाल पुगेका हुन् ।

‘काम सुरु गरेको २९ दिन भएको थियो, पहिरोले लग्यो,’ सोमबहादुरले भने, ‘कतै देख्न पाइन्छ किभनेर आयौं, एक दिन पुरै खोज्दा कहिं भेटेनौं, अब घरमै पुगेर किरिया गर्छौं।’ उनीहरु शनिबार बंकुरा पुगेका थिए । आइतबार दिनभरि खोजीमा जुटे । साँझसम्म कतै नभेटिएपछि घर फर्केका हुन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully