दूतावासले भन्यो- 'धराली क्षेत्रमा ८ नेपाली हराइरहेका छन्'

उत्तरकाशीको बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धारको काम चलिरहेकाले यो संख्या थपघट हुन सक्ने दूतावासले जनाएको छ ।

श्रावण २६, २०८२

भवानी भट्ट

Embassy said - '8 Nepalis are missing in Dharali area'

What you should know

कञ्चनपुर — भारत उत्तराखण्डको उत्तरकाशी धराली क्षेत्रमा ८ जना नेपाली हराइरहेको पुष्टि भएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार आइतबार साँझसम्म उत्तरकाशीमा ८ जना हराइरहेको पुष्टि भएको हो । 

बाढीमा परेर हराइरहेकाहरुको नाम ठेगाना भने दूतावासले सार्वजनिक गरेको छैन । ‘हालसम्म १३ जनाको उद्धार भएको छ, १३ जना हराइरहेका छन्, त्यसमा पौडीगढवालमा पहिरोमा बेपत्ता ५ पनि छन्,’ दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले भने, ‘१३ जनाको उद्धार भएको छ ।’ उनका अनुसार उत्तरकाशीको बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धारको काम चलिरहेकाले यो संख्या थप घट हुन सक्ने देखिन्छ । 

गत मंगलबार आरीघोप्टे वर्षापछि धराली क्षेत्रमा रहेको खीरगंगा नदीमा आएको भीषण बाढीपछि धराली बजार तहसनहस भएको छ । उक्त बजारमा रहेका घर तथा होटलह बाढीले पुरिएका छन् । तिनै पुरिएका घर तथा होटलहरुमा ५० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ । त्यसमैमा नेपालीहरु समेत परेको हुन सक्ने आशंका गरिएको छ । 

उक्त क्षेत्रमा मंगलबारदेखि नै खोजी र उद्धारको काम भइरहेको छ । धराली गंगोत्री मार्गमा पर्ने भागीरथी किनारको सानो बजार हो । गंगोत्री जाने मार्गको अन्तिम बजार भएकाले उक्त क्षेत्रमा ठूलो संख्यामा होटल सञ्चालनमा थिए । तीर्थयात्रीहरु जाँदा र फर्कि‌ंदा यहीँ विश्राम गर्छन् । जसका कारण होटलमा काम गर्ने तथा तीर्थयात्रीहरु समेत बाढीमा परेको हुन सक्ने अनुमान छ ।

उत्तरकाशीको डीएम (जिल्ला अधिकारी) प्रशान्त आर्यका अनुसार बेपत्ता भनिएका २६ जना सम्पर्कमा आएका छन् । बर्डर रोड अर्गनाइजेसन (बीआरओ) मा काम गर्ने उनीहरु बाढीका बेला बच्नका लागि अग्लो ठाउँमा भागेर जोगिएका रहेछन् । 

‘फोन सेवा सञ्चालन भएपछि बेपत्ता भनिएकाहरु सम्पर्कमा आउन लागेका छन्,’ डीएम आर्यले भने, ‘बाढीले पुरिएका घरहरुमा ग्राभेल उत्खननको काम भइरहेको छ, त्यसपछि थप बेपत्ताको अवस्था पनि बाहिर आउनेछ ।’ उनले आइतबारदेखि फोन र विद्युत् सेवा सञ्चालन भएपछि खोज र उद्धारमा सहजता भएको बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully