डीएम आर्यको भनाइ उद्धृत गर्दै भारतीय हिन्दी दैनिक अमर उजालाले धरालीको बाढीमा ४ जनाको मृत्यु पुष्टि भएको र कम्तीमा ५० जना बेपत्ता रहेको समाचार लेखेको छ । उत्तराखण्ड आपदा केन्द्र देहरादुनका अनुसार ३० देखि ४० घर तथा होटल बाढीमा पुरिनुका साथै बगेको अनुमान छ ।
What you should know
कञ्चनपुर — भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने धराली बजार ‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) पछि आएको बाढीले तहसनहस भएको छ । खिरगंगा नदीमा मंगलबार दिउँसो १ः४५ बजेतिर आएको बाढीले धराली बजारका दर्जनौं घर र होटल बगाएको हो । बाढीमा परी चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना बेपत्ता छन् ।
ऋषिकेश–गंगोत्री मार्गमा पर्ने धराली बजार भागीरथी नदीको किनारमा छ भने बजारको मध्यभाग हुँदै खिरगंगा नदी बग्छ । खिरगंगा भागीरथीमै गएर मिसिन्छ । यो सानो नदीमै मंगलबार भीषण बाढी आएको हो । धरालीबाट गंगोत्री धाम करिब ५० किलोमिटर दूरीमा पर्छ । गंगोत्री यात्रामा नेपालीसमेत ठूलो संख्यामा जान्छन् । वैशाख–जेठदेखि असोज–कात्तिकसम्म गंगोत्री यात्रा चल्छ । धराली बजार भएरै गंगोत्री धाम जानुपर्छ ।
धराली क्षेत्रमा रहेका फार्ममा स्याउ टिप्न पनि ठूलो संख्यामा नेपाली जाने गरेका छन् । मंगलबारको बाढीमा कोही नेपाली परे/नपरेको खुलेको छैन । ‘बाढीमा नेपाली परेको जानकारी आएको छैन,’ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भने, ‘हामी बुझ्ने प्रयासमा छौं ।’ रुद्रप्रयाग, उत्तरकाशी र कर्णप्रयागलगायत क्षेत्रमा बर्खायाममा पहिरोमा परी विगतमा नेपालीले ज्यान गुमाएका थिए । गत वर्ष मात्रै रुद्रप्रयाग मार्गमा पर्ने सोन प्रयागमा पहिरो जाँदा एक नेपालीको मृत्यु भएको थियो ।
उत्तरकाशीका प्रहरी उपअधिक्षक (डीएसपी) जनक पवारले बाढीले पुर्याएको क्षतिको यकिन विवरण आइनसकेको जानकारी दिए । ‘कति क्षति भयो भन्ने कुनै यकिन विवरण आएको छैन,’ उत्तरकाशीका प्रहरी उपअधिक्षक (डीएसपी) जनक पवारले भने, ‘उद्धार टोली घटनास्थल पुगेको छ, नियमित वर्षा र बाढीका कारण बाटो अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ,’ उनले भने ।
पवारका अनुसार उत्तरकाशीका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) प्रशान्त आर्य, एसपी सरिता डोबालसहितको टोली घटनास्थल पुगिसकेको छ । डीएम आर्यको भनाइ उद्धृत गर्दै भारतीय हिन्दी दैनिक अमर उजालाले धरालीको बाढीमा ४ जनाको मृत्यु पुष्टि भएको र कम्तीमा ५० जना बेपत्ता रहेको समाचार लेखेको छ ।
बाढीमा नेपाली परेको जानकारी आएको छैन, हामी बुझ्ने प्रयासमा छौं : प्रकाश मल्ल कन्सुलर, दिल्लीस्थित नेपाली दूतावासउत्तराखण्ड आपदा केन्द्र देहरादुनका अनुसार ३० देखि ४० घर तथा होटल बाढीमा पुरिनुका साथै बगेको अनुमान छ । ‘दिउँसो भएकाले मानवीय क्षति कम भएको हुन सक्छ,’ आपदा केन्द्रका एक अधिकारीले भने, ‘तर गंगोत्री जाने मार्ग भएकाले यात्रीहरू बाढीमा परेको हुन सक्छ ।’
बाढीग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि सेना, प्रहरी र एसडीआरएफको टिम परिचालन भएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले खोज तथा उद्धारमा कमी हुन नदिन निर्देशन दिएका छन् । मौसम पूर्वानुमान शाखाले अझै भारी वर्षा हुने अनुमान गरेका कारण त्यस क्षेत्रमा जोखिम रहेकाले सतर्कता अपनाउन आपदा केन्द्रले आग्रह गरेको छ ।
धराली क्षेत्रमा बाढीलगत्तै विद्युत् र फोन सेवा अवरुद्ध भएको छ, जसका कारण खोज र उद्धारमा समेत समस्या भएको छ । बाढीका कारण त्यस क्षेत्रमा विद्युत् लाइन काटिएको आपदा केन्द्र देहरादुनले जनाएको छ । धरालीभन्दा १० किलोमिटर दूरीमा रहेको ऋषिकेश–गंगोत्री मार्गकै हर्षिल र सक्की टाँप भन्ने स्थानमा समेत आरिघोप्टे वर्षा भएको छ । ती क्षेत्रमा मानवीय क्षतिको खबर नभए पनि गंगोत्री मार्गका दर्जनौं स्थानमा पहिरो गएर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
धराली क्षेत्रमा बाढीबाट ठूलो क्षति भएको खबर पाएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा खटिन सरोकारवाला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री अमित साहले पनि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर धामीसँग टेलिफोनमा कुराकानी गर्दै केन्द्र सरकारले सम्पूर्ण सहायता उपलब्ध गराउने आश्वासन दिएका छन् ।
भारतको उत्तरी राज्य हिमाचल प्रदेश र उत्तरखण्डमा केही सातायता भीषण वर्षा भइरहेको छ । वर्षाले निम्त्याएको विपद्का कारण हिमाचल प्रदेशमा मात्रै १ सय ३ जनाको मृत्यु भइसकेको छ भने ३६ जना हराइरहेका छन् । सोमबार मात्रै वर्षाका कारण हिमाचलका ३ सय १० सडकमा आवागमन पूर्ण रूपमा बन्द भएको थियो ।
