बाढीबाट पीडित छोलामा तामाङ भन्छिन् : अहिले हामीहरू धादिङका ७ जना सँगै छौँ, दिनभरि धरालीको बगरमा डुलेर साँझ कहिले मेसमा त कहिले आफैँ पकाएर खाना पकाएर स्याउ राख्ने छाप्रोमा सुत्छौँ। अब हामीसँग न काम छ, न घर जाने पैसा।
What you should know
कञ्चनपुर — भारत उत्तराखण्ड उत्तरकाशीको धरालीमा ‘क्लाउड ब्रस्ट’ पछि खीरगंगा नदीमा बाढी आउँदा धादिङको ज्वालामुखी गाउँपालिका-२ काफलपानीका ६५ वर्षीय छोलामा तामाङ नदी किनारमै थिए। उनको कोठा नदी छेउमै थियो ।
खाना खाएर कोठा बाहिर बसेका उनले माथिबाटै नदी गड्याङ गुडुङ गर्दै उर्लेर आएको देखेर भागिहाले । आफूसँगै कोठामा बस्ने लालबहादुर तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङलाई पनि बोलाए ।
छोलामासहित उनका चारै जना साथीहरूले कोठाबाट २०/२५ मिटर अग्लो डाँडामा उक्लेर ज्यान जोगाए । नदी पारी रहेका उनकै दुई/तीन जना साथी केही पर सेनाको क्याम्पमा गएर जोगिए।
‘मोबाइलदेखि फोन नम्बर लेखेका डायरी सबै कोठामै छुट्यो, त्यति मात्रै होइन, लुगा कपडादेखि ज्याला मजदुरी गरेर कमाएको रकम समेत कोठामै छुट्यो,’ छोलामाले भने, ‘यता सबैले बेपत्ता भनिरहेका रहेछन्, हामीलाई त ज्यान जोगाउनु नै ठुलो कुरा थियो, घर परिवारमा सम्पर्क गर्ने कुरा त सोच्नै सकेनौँ ।’
बाढीले धराली बजार बगरमा परिणत भएको दुई/तिन दिनपछि जब फोन सेवा सुरु भयो । त्यसपछि सबैका फोन आउन थाले । घरमा फोन गर्न थाले । त्यसपछि छोलामाको टिमलाई पनि घरमा सम्पर्क गर्नुपर्छ भन्ने लाग्यो । तर उनीहरूसँग नत मोबाइल छ, न घरको फोन नम्बर नै।
‘दुई/तिन दिन त फोन नै लागेन, फेसबुक चल्ने त कुरै भएन,’ तामाङले भने, ‘जब फोन लाग्न थाल्यो, इन्टरनेट पनि चल्न थाल्यो, त्यसपछि सँगै रहेका लालबहादुरले प्यासेन्जरबाट सम्पर्क गरेर घरमा जानकारी दिए ।
‘घर परिवार निकै चिन्तित थिए, गाउँपालिकाका अध्यक्षज्यूले पनि प्यासेन्जरमै सम्पर्क गर्नुभयो,’ तामाङले भने, ‘अहिले हामीहरू धादिङका ७ जना सँगै छौँ, दिनभरि धरालीको बगरमा डुलेर साँझ कहिले मेसमा त कहिले आफै पकाएर खाना पकाएर स्याउ राख्ने छाप्रोमा सुत्छौँ।’
चैत १० गते ज्याला मजदुरीका लागि उनीहरू धराली पुगेका हुन् । विभिन्न किसिमका निर्माण कार्यदेखि स्याउ टिप्ने, बोक्ने, गोडमेल गर्ने लगायतका काम गर्दै आएका थिए । तर अहिले स्याउ बगैँचाहरू नै तहस नहस भएपछि त्यो काम नै सकियो । यहाँ सडक अवरुद्ध भएका कारण अरु काम पनि बन्द छ ।
‘अहिले खाना बस्नकै समस्या छ, कामको त ठेगान छैन,’ छोलामाले भने, ‘सबै दिनभरि त्यही खोजी भइरहेको स्थानमा जान्छौँ, साँझ परेपछि छाप्रोमा बास खोज्छौँ ।’ तत्काल काम पाउने सम्भावना केही नभएकाले घर फर्किने योजना बनाएका छन् । तर घर फर्किन आफूहरूसँग एक रुपैयाँ समेत नभएकाले समस्या भएको उनी बत्ताउँछन् ।
