बर्खामा पनि मधेश सुक्खा : चापाकल सुके, खेतमा धाँजा

श्रावण ६, २०८२

दीपेन्द्र बडुवाल, अजित तिवारी

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

What you should know

जनकपुर,भैरहवा — साउनको पहिलो साता भइसक्दा पनि तराई क्षेत्रमा पर्याप्त वर्षा हुन सकेको छैन, जसले खोलानाला मात्र सुक्खा भएका छैनन्, भूमिगत जलस्रोत सुकेर खानेपानीकै अभाव हुन थालेको छ । वर्षा र सिँचाइ अभावका कारण तराईमा उल्लेख्य रूपमा रोपाइँ हुन सकेको छैन । रोपाइँ भएको स्थानमा पनि पानी अभावले खेतमा धाँजा फाट्न थालेको छ ।

तराईमा पानीका स्रोत हुन् कुवा, इनार र चापाकल । यी तीन वटै परम्परागत प्रणाली अहिले बेकामे बनेका छन् । वैशाखपछि पानीका लागि खानेपानी संस्थानको एउटै प्रणालीमा भर परेको मधेश प्रदेशमा गत असारयता जलसंकट झन् गहिरिएको छ । मध्य वर्षायाममा पनि पानी नपर्दा खडेरी र जलसंकट निम्तिएपछि मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । साथै, खानेपानीको संकट टार्न प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्तीबस्तीमा पानी बाँड्न थालेको छ ।

जनकपुर–२ का ६८ वर्षीय अमरेन्द्र महतो ६० फिटमा गाडिएको चापाकलबाट सहजै पानी आउने गरेको विगत सम्झन्छन् । ‘त्यतिबेला घरघरै चापाकल पनि थिएन । टोल–बस्तीमा गाडिएको एउटै चापाकलको पानी सबैलाई पुग्थ्यो,’ उनी ४० को दशक सम्झँदै भन्छन्, ‘न लाइन बस्नुपर्थ्यो, न त पालो कुर्नुपर्थ्यो ।’ ४० देखि ६० फिटसम्म गाडिएका चापाकल बिस्तारै ८० फिट हुँदै १ सय २० फिटसम्म गाड्नुपर्ने अवस्था आयो । 

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

कम फिटमा गाडिएका चापाकलबाट निस्कने पानीमा आर्सेनिकको मात्रा अत्यधिक हुन्थ्यो । ‘४०–६० फिटमा गाडिएको चापाकलबाट धमिलो र पहेँलो पानी आउन थाल्यो । आर्सेनिकले स्वास्थ्यमा असर पर्ने भएपछि १ सय २० फिटमा राम्रो पानी आउँछ भनेर गाडियो,’ महतोले भने, ‘अहिले त ४ सय ५० फिटमुनि गाडिएको चापाकल त सुकिसक्यो ।’सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनीमा १ सय ५० परिवारको बसोबास छ । 

नगरपालिकाको दुई बोरिङको पानी बस्तीले उपभोग गर्दै आएको छ । तर, असार अन्तिम सातादेखि दुवै बोरिङले कम पानी दिन थालेपछि स्थानीयले समस्या भोग्नुपरेको छ । स्थानीय देवकी मोची धारामा पानी आउन छाडेपछि बोरिङ भएकै ठाउँमा जाने गरेको बताउँछिन् । ‘तैपनि पानी लिन सहज छैन, लाइन बसेरै आधा एक घण्टा बित्छ,’ उनले भनिन्, ‘अहिले त बिहानबेलुकै पानीको चिन्ता हुन्छ ।’

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the fieldजनकपुरमा खानेपानी वितरणका लागि निस्किएका दमकल ।

यस क्षेत्रमा पानीको सतह तल पुगेको र पछिल्ला वर्षमा खडेरी परेको बेला यस्तै समस्या दोहोरिने गरेको स्थानीय सुरज महराको भनाइ छ । ‘हाम्रा लागि पछिल्लो समय पानी प्रमुख समस्या बनेको छ,’ उनले भने, ‘नेताहरू त वाचा प्रतिबद्धता गरिरहन्छन्, तर समस्या समाधान भएको छैन ।’ धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले यस क्षेत्रमा ओभरट्यांकी निर्माण भइसकेको र अब पाइपलाइन विस्तार बाँकी रहेको बताए । 

चुरे दोहन, वन विनाश, खोला–नदीको चरम उत्खनन, सिँचाइ प्रणाली भद्रगोलले गर्दा मधेशमा खडेरी र जलसंकट गहिरिएको विश्लेषक चन्द्रकिशोर बताउँछन् । खानेपानी मन्त्रालयले बोरिङ गाडेर, खानेपानी संस्थानले पाइपलाइन बिस्तार गरेर र चापाकल अझै गहिरो गाडेर जलसंकट समाधान नहुने उनको भनाइ छ । ‘मधेशको खडेरी र जलसंकट दमकल वा ट्यांकरमा पानी बाँडेर हल हुन्न,’ उनले भने, ‘दुवै समस्या मानिसको जीवन चक्रसँग जोडिएको छ । यसमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले प्याकेजमै काम गर्नुपर्ने देखिन्छ ।’ 

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशमा खडेरी र जलसंकट आउनु धेरै वर्षदेखि चुरे क्षेत्र, वन र खोलानालासँग गरिएको बदमासीको परिणाम रहेको बताउँछन् । ‘खडेरी र जलसंकट समाधान गर्न तत्कालीन र दीर्घकालीन योजनामा जानैपर्छ,’ उनले भने, ‘त्यसअनुसार प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर काम अगाडि बढाएको छ ।’ उनले संघीय सरकारको साथ र सहयोगबिना मधेश प्रदेशमा देखिएको खडेरी र खानेपानीको हाहाकारसँग जुध्न नसकिने बताए ।

‘पानी रिजर्भ ट्यांकहरू बनाउने र स्थानीय तहले नक्सापास गर्दा वर्षाको पानी सञ्चित गर्ने अवधारणा ल्याउन पहल गरिरहेका छौं,’ मुख्यमन्त्री सिंहले भने, ‘वाटर रिचार्ज गर्ने प्रक्रियामा पनि कार्यक्रम तयार भइरहेको छ । योसँग सम्बन्धित २/४ वटा ठूलो प्याकेज योजना पनि संघीय सरकारसँग मागिरहेका छौं । छिटै योजना कार्यान्वयनमा पनि जान्छौं ।’ ‘ग्राउन्डवाटर रिचार्ज’ गर्न नसकिए अझै ठूलो समस्या आउने उनले बताए । 

खेतमा धाँजा, बाली जोगाउने चिन्ता 

वीरगन्ज महानगर–१७ अलौंका किसान बृजेश्वर साह कानुलाई अहिले धान बाली जोगाउने चिन्ता छ । दुई साताअघि रोपाइँ गरेका उनको खेतमा पानी सुकेर धाँजा फाटेको छ । ‘खोइ कहिले पानी पर्ला र हाम्रो चिन्ता सकिएला,’ उनले भने । पर्साको दक्षिणी भेगका अधिकांश किसानको यस्तै अवस्था छ । रोपाइँ गर्न नभ्याएका किसानको धानको बेर्ना खेतमै सुक्न थालेको छ । 

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

असारमा पर्याप्त वर्षा नभएपछि कतिपय किसानले रोपाइँ भ्याएका छैनन् भने रोपाइँ गरेकाले बाली जोगाउन सक्ने अवस्था छैन । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले जिल्लामा ८० प्रतिशत मात्रै रोपाइँ भएको बताए । संघीय कृषि मन्त्रालयबाट आइतबार दुई जना निरीक्षणमा आएको उनले जानकारी दिए । ‘उहाँहरूको प्रतिवेदनले संघीय सरकारले यहाँका किसानलाई दिने राहतबारे केही निर्णय गर्न सक्छ,’ उनले भने, ‘तत्काल पानी परिहाले अधिकांश किसानको समस्या समाधान हुन्छ ।’ 

पश्चिम तराईमा पनि भूमिगत जलस्रोतको समस्या

पश्चिम तराईमा पनि खडेरीको समस्या बढेको छ । लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा पानीको संकट बढ्दो छ । चापाकलमा पानी नआएपछि गाउँ डुलेर बटुल्नु परिरहेको रूपन्देहीको मर्चवारी–६ पिपरहवाका प्रल्हाद चौधरीले बताए । एक दशकअघिसम्म भूमिगत जल निकालेर खेतीपाती र खानेपानीमा प्रयोग गर्दै आएका उनी अहिले गर्मीयाम सुरु भएपछि तनावमा पर्छन् । ‘पहिले एक सय फिट गाड्दा पानी निस्किन्थ्यो, अहिले ५ सय फिट गहिराइमा पुर्‍याउँदासमेत आउने गरेको छैन,’ चौधरीले भने । 

लुम्बिनी सांस्कृतिक नगरपालिका–१ का अर्जुन कुर्मीका अनुसार गाउँका घरैपिच्छे चापाकल भए पनि सबैबाट पानी आउने गरेको छैन । ‘अहिले पानी आउने धारामा गाउँलेको लाइन लाग्ने गरेको,’ उनले भने, ‘गाउँमा ४/५ वर्षदेखि यस्तो समस्या छ ।’ 

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the fieldबर्दियामा अधिकांश क्षेत्रमा अहिले पानीकै समस्या छ, जसले जिल्लाका धेरै भूभागमा रोपाइँ हुन सकेको छैन । साउन पहिलो साता पुग्दा छिटफुट मात्र वर्षा भएको छ । वर्षा नहुँदा सिँचाइ सुविधा नभएको क्षेत्रमा पहिला रोपाइँ गरेको धानसमेत सुक्ने अवस्थामा पुगेको छ । पहिले २० देखि ३५ फिट गाड्दा पनि चापाकलमा मज्जाले पानी आउने गरेको गुलरिया नगरपालिका–८ का धारा मिस्त्री अकबर अली धोबीले बताए । ‘आजकाल ३५ फिटभन्दा धेरै गाड्नुपर्छ,’ उनले भने, ‘गर्मीमा धाराको पानी सुक्ने गर्छ ।’ जिल्लास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा बर्खे धान खेती हुन्छ । हालसम्म ९२ प्रतिशत मात्र रोपाइँ सकिएको छ । वर्षात् नभएरै रोपाइँमा समस्या भइरहेको कार्यालय प्रमुख सागर ढकालले बताए । 

संरक्षणविद् डा. हेमसागर बरालले सन् २००५ मा लुम्बिनी बुद्ध गार्डेन रिसोर्टमा एक सय फिट पाइप गाडेपछि ट्युबवेलमा पानी निस्किएको सम्झना गरे । ‘५ सय फिट पाइप गाडेर पानी निकालेको चापाकल पनि यस पटक सुक्यो,’ उनले भने, ‘जमिनमुनि पानी रिचार्ज भएन । भूमिगत जलको सतह घटेपछि यस्तो समस्या आएको हो ।’

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

उनका अनुसार रूपन्देहीलगायत तराईका जिल्लामा वन क्षेत्र नासिँदै गयो । कंक्रिटका संरचना वृद्धि भए । साथै चुरे क्षेत्रमा समेत विकास निर्माणले गति लिएपछि यस्तो समस्या आएको हो । ‘रुख नभएको ठाउँमा वर्षा कम हुन्छ,’ बरालले भने, ‘जति मरुभूमीकरण हुन्छ, त्यति वर्षा हुँदैन ।’ जंगल क्षेत्रमा तातो हावा कम चल्ने भएकाले धेरै वर्षा हुने गरेको उनले बताए । रूपन्देहीमा तिनाउ, दानव नदी र खोला आसपास वृक्षरोपण गरेर भए पनि वन हुर्काउनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम बुटवलका प्रमुख अणनाथ बरालले चुरे क्षेत्र अतिक्रमणका कारण पानी थिग्रिन नपाएकाले सुक्खा बढेको बताए । यससँगै वन विनाश भएकाले पानी रिचार्ज हुन नपाएको उनको भनाइ छ । ‘डोजर लगाएर चुरे भत्काउने क्रम जारी छ,’ उनले भने, ‘यसले पानीका स्रोत सुक्नुका साथै डाइभर्ट भए, पानी बग्ने ठाउँमा सडक बनाइयो ।’

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

यस्तो समस्या समाधानका लागि चुरे क्षेत्रमा पानीका स्रोत संरक्षणसँगै पोखरी निर्माणमा जोड दिइएको बरालले बताए । उनका अनुसार दाङका तुलसीपुर, घोराही उपमहानगर र लमही नगरपालिका, रूपन्देहीको सैनामैना, कपिलवस्तुको वाणगंगा, पश्चिम नवलपरासीको सुनवल र सल्यानको कालीमाटीलगायत क्षेत्रमा यस्ता पोखरी निर्माण गरिएको छ । 

कञ्चनपुरमा पनि पानीको भूमिगत सतह सुक्खायाममा निकै कम हुनेछ । केही वर्षअघिसम्म १५/२० फिटमै पानी आउने ठाउँमा अहिले २०/२५ फिटसम्म चापाकल गाड्नुपरेको स्थानीयको भनाइ छ । ‘धेरै फरक त परेको छैन, तर केही ठाउँमा दुई/चार फिटसम्म पानीको सतह घटेको छ,’ तीन दशकदेखि नक्ला र बोरिङ ठोक्ने काम गरिरहेका तेज पहरीले भने, ‘चुरे फेदमा पानीको सतह धेरै घटिरहेको छ ।’ 

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

पहरीका अनुसार अहिले चुरे फेदीमा चापाकलका लागि ४० देखि ६० फिटसम्म गहिराइमा पाइप ठोक्नुपर्छ । चुरेबाट दक्षिणतर्फ सर्दै गएपछि भने २०/२५ फिट मात्रै पाइप ठोक्दा पनि पानी आउने गरेको छ । यसैगरी सेलो ट्युबवेलका लागि पनि ४०/५० फिटसम्म पाइप ठोक्नुपर्ने पहरी बताउँछन् । ‘अरू समयमा त पानीको स्रोत धेरै घटेको छैन, पर्याप्त नै छ,’ नेपाल खानेपानी संस्थान महेन्द्रनगरका प्रमुख विवेक विष्टले भने, ‘सुक्खायाममा भने केही ठाउँबाट पानी कम आएको वा सेलो ट्युबवेलहरू सुकेको खबर आउँछ ।’ उनले बर्खायाममा भने कतै पनि पानीको अभाव वा सेलो र डिप ट्युबवेलमा पानी नआउने समस्या अहिलेसम्म नदेखिएको बताए । 

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

उनका अनुसार डिप ट्युबवेलका लागि एक सयदेखि दुई सय फिटसम्म र सेलो ट्युबवेलका लागि ४०/५० फिटसम्म पाइप ठोक्नुपरेको छ । तर पानीको सतह कसरी घटबढ भइरहेको छ भन्ने विषयमा भने अध्ययन नभएको उनले बताए । खानेपानी संस्थानले भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रका वडामा पाइपबाट खानेपानी वितरण भइरहेको छ । 

Even in drought, Madhesh is dry: chapakal is dry, rice is in the field

दीपेन्द्र बडुवाल

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully