खेतमा धाँजा फाट्यो, किसानलाई बाली जोगाउने चिन्ता

श्रावण ५, २०८२

शंकर आचार्य

Dhanja broke in the field, farmers worry about saving the crop

What you should know

पर्सा — वीरगन्ज–१७ अलौंका किसान वृजेश्वर साह कानुलाई अहिले धान बाली जोगाउने चिन्ता छ । दुई साताअघि रोपाइँ गरेका उनको खेतमा अहिले पानी सुकेर धाँजा फाटेको छ । 

आज भोलिमै पानी पर्छ भनेर समाचारमा सुनेको उनले बताए । पानी पर्ने आश गरेर बसेका उनी पानी नपरेपछि निराश छन् । ‘खोई समाचारमा सधैं पानी पर्छ भनेर सुन्छु,’ उनले भने, ‘पानी कहिल्यै पर्ने होइन, यहाँ खेतमा धाँजा फाटिसक्यो ।’

अलौंकै अर्का किसान अम्बिका साहको पनि वृजेश्वरकोजस्तै अवस्था छ । दुई साताअघि उनले पनि रोपाइँ गरेका थिए । बिस्तारै खेतमा जमेको पानी सुक्दै गयो । अनि उनको निधारमा चिन्ताले पसिना बग्दै गयो । ‘खेतको पानी सुक्दै छ, मेरो निधारमा चिन्ताको पसिना बग्दै छ,’ उनले भने, ‘खोइ कहिले पानी पर्छ र हाम्रो पसिना पखालिन्छ ।’ 

जिल्लाको दक्षिणी भेगका अधिकांश किसानको यस्तै अवस्था छ । उत्तरी र पश्चिमी भेगका किसानको धान बाली जोगिएपनि दक्षिणी भेगका किसानलाई भने बाली जोगाउने चिन्ता छ । रोपाइँ गर्न नभ्याएका किसानको धानको बेर्ना खेतमै सुक्न थालेको उनले बताए ।

Dhanja broke in the field, farmers worry about saving the crop

असार महिनामा पर्याप्त वर्षा नभएपछि कतिपय किसानले रोपाइँ गर्न भ्याएका छैनन् भने कतिपयले रोपाइँ गरेपनि बाली जोगाउन सक्ने अवस्था छैन । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले जिल्लामा करीब ८० प्रतिशत रोपाइँ भइसकेको बताए । अब आकाशे खेतीको भरमा रहेका किसानको मात्र खेतमा रोपाइँ गर्न बाँकी रहेको उनले बताए । एक दिन पनि राम्रोसँग वर्षा भए ती किसानले पनि रोपाइँ गर्न भ्याउने ठाकुर बताउँछन् । संघीय कृषि मन्त्रालयबाट आइतबार दुई अधिकृतहरु जिल्लामा आएर आइतबार नै स्थलगत निरीक्षणमा गएको उनले बताए । ‘उहाँहरु भोलि फिल्डबाट फर्केपछि बनाउने प्रतिवेदनले संघीय सरकारले जिल्लाका किसानलाई दिने राहतबारे केही निर्णय गर्न सक्छ,’ उनले भने, ‘तत्काल पानी परी हाले अधिकांश किसानको समस्या समाधान हुन्छ ।’

 

 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully