धर्मको मार्ग, व्यापारको बाटो 

हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्था, ‘प्राचीन रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’ का रूपमा परिचित कालीगण्डकी नदी भोट–तिब्बतको प्रमुख व्यापारिक मार्ग हो

माघ ९, २०८१

घनश्याम खड्का, नारायण शर्मा, हरिराम उप्रेती

The path of religion, the path of business

काठमाडौँ — नेपालको पर्यटन क्षेत्रमा मुस्ताङदेखि त्रिवेणीसम्मको यात्रा एक अनुपम अनुभव हुन सक्छ । चीनसँग जोडिएको मुस्ताङदेखि भारतसँग जोडिएको त्रिवेणीसम्मको विविधता यात्रामा रुचि राख्नेका लागि आफैंमा अलौकिक अनुभवको भण्डार हो । 

मुस्ताङको प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्त्वले पर्यटकलाई आकर्षित गर्दछ । कालीगण्डकी नदीले बगाएका शालिग्राम ढुंगा र ऐतिहासिक मध्ययुगीन सभ्यता, गुफा र गुम्बाहरू यहाँका मुख्य आकर्षण हुन् । दामोदर कुण्ड, मुक्तिनाथ मन्दिर र उपल्लो मुस्ताङका गुम्बाले हिन्दु र बौद्ध दुवै धर्मावलम्बीलाई आकर्षित गर्छन् ।

चीन सीमावर्ती लोमन्थाङ गाउँपालिकाको पश्चिममा पर्ने मुस्ताङ हिमशृंखलाअन्तर्गतका छुआमा पिक चुङ्गेन चाङ्गा र घ्युन हिमालको ग्लेसियरबाट निक्लने न्हेचुङ खोला नै कालीगण्डकी नदीको उद्गमस्थल हो । दामोदरकुण्डबाट आउने खोला घमी गाउँको पुछारको थामसुङ क्षेत्रमा मिसिएपछि खोला कालो हुन्छ अनि कालीखोला भनिन्छ । तल मुक्तिनाथबाट झर्ने झोङखोला कागबेनीमा मिसिएपछि कालीखोला अब कालीगण्डकी नदी नामबाट चिनिन्छ । कालीगण्डकी नदीको लम्बाइ ८१४ किलोमिटरमध्ये नेपालमा ६३० किमि र बाँकी भारतमा बग्छ । 

नेपालको प्रमुख हिमनदीमध्ये एक कालीगण्डकी नदी पनि एक हो । कालीगण्डकी नदी मात्र होइन, यो धार्मिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय सभ्यता पनि हो । कालीगण्डकी नदी सभ्यता हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्था पनि हो । प्राचीन ‘रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’ का रूपमा परिचित कालीगण्डकी नदी भोट–तिव्बतको प्रमुख व्यापारिक मार्ग पनि हो ।

यही कालीगण्डकी मार्गबाट हुने प्राचीन ‘साल्ट ट्रेड रुट’ पछ्याउँदै गण्डकी प्रदेशको लाइफ लाइन मानिएको नवलपरासीको गैंडाकोटबाट ४ सय ३५ किमि लामो कालीगण्डकी करिडोर सडक कोरोला नाकामा पुगेर तिब्बतको झोङ्वा काउन्ट्री हुँदै २० किमिपर सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ । 

कालीगण्डकी नदी गण्डकी प्रदेशको शिरदेखि पाउसम्मका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासीसम्म बगेको छ । कालीगण्डकी नदीको उद्गम थलो उपल्लो मुस्ताङमा रहेका प्राचीन गुफा, मध्ययुगीन बस्ती र गुम्बामा मौलाएको बौद्ध सभ्यता कालीगण्डकी नदीसँगै तल घाँसासम्म फैलिएको छ ।

‘माटोको सहर’को उपमा पाएको मध्ययुगीन लोमन्थाङ बस्ती विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो । मुस्ताङका प्रायः पुराना घर माटोको छाना भएको मुन्डे छ । मुन्डे घरका छानाको डिल पानीले माटो बग्न नदिन भनी राखेको दाउराको चौघेरा मुस्ताङवासीको पहिचान र संस्कृति बनेको छ । स्थानीय भाषामा ‘फुग्’ भनिने गुफा मुस्ताङका धार्मिक एवं सामाजिक आकर्षणका केन्द्र हुन् । मुस्ताङका प्रायः सबै बस्ती नजिक भीरमा मानवनिर्मित गुफा पाइन्छन् ।  

मुस्ताङको उपल्लो भेग लोमन्थाङ क्षेत्रमा विभिन्न ऐतिहासिक गुम्बा रहेका छन् । बौद्धधर्म संस्कृतिमा गुम्बालाई ‘तपो कुटी’ भनिन्छ । गुम्बाहरू प्रायः सबै पूर्वाभिमुख गरी बनाइएका छन् । गुम्बाका वास्तु शैलीले सबैलाई लोभ्याउँछ । गुम्बैगुम्बाको जिल्ला मुस्ताङको लोमन्थाङस्थित ज्यम्पा गुम्बा नेपालकै महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हो ।

मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर बौद्ध तथा हिन्दुहरूको पवित्र तीर्थस्थल हो । पौराणिक स्रोतहरूका आधारमा मुक्तिनाथको प्राचीनता २००० वर्षसम्म भएको मानिन्छ । थोरङ्ला हिमालको फेदीको ३७१० मिटर अग्लो स्थानमा अवस्थित मुक्तिनाथलाई हिन्दुहरूले मुक्ति क्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा ‘छुमङ ग्यात्सा’ अर्थात् ‘सय पानी’ भनेर पुज्छन् । हिन्दुका प्रमुख धाममध्ये मुक्तिनाथ एक हो भने बौद्धमार्गीका विभिन्न तान्त्रिक स्थानमध्ये पनि मुक्तिनाथ एक हो । 

कालीगण्डकी नदी किनारामा अवस्थित भुरुङ तातोपानी अन्नपूर्ण र धौलागिरि पदयात्राको संगमस्थल तथा मुस्ताङ प्रवेश गर्ने एकमात्र भूमार्गमा पर्छ । भुरुङ तातोपानी झोलुङ्गे तरेर कालीगण्डकी नदीपारि अर्कोर् पाउद्वार तातोपानी छ । दुई किलोमिटर तल रातोपानीमा पनि तातोपानी छ । तीन वटै तातोपानीका मुहान बेनी–जोमसोम सडक किनारामा अवस्थित छन् । तातोपानीमा आनन्द लिने बाह्य तथा आन्तरिक पर्यटकले पोखरी भरिभराउ हुन्छन् ।

यही बाटो हुँदै सन् १९०३ मा जापानका भिक्षु इकाई कावागुचीको तिब्बत यात्रापछि पर्यटकको आवागमन सुरु भएको र टोनी हेगनले गरेको प्रचारले व्यवस्थित रूपमा पर्यटकलाई आकर्षित गर्न सघाएका थिए । यात्रा अघि बढ्दै जाँदा म्याग्दीको बेनी बजार पुगिन्छ, जहाँ प्राचीन सहरको झल्को मिल्छ । यहाँ कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित बेनी शिवालय मन्दिरले ऐतिहासिक महत्त्व बोकेको छ ।   

बेनी एक समयमा भारत–भोट व्यापार केन्द्र मात्र थिएन, समृद्ध चौबिसे राज्य पर्वतको राजधानी थियो । प्राचीन समयमा ‘साल्ट ट्रेड रुट’ का रूपमा परिचित बेनी, भोट–तिब्बतको सहायक व्यापारिक नाका मुस्ताङबाट तिब्बती सामान र पाल्पाबाट भारतीय सामान ल्याई विनिमय गर्ने व्यापारिक केन्द्र रहेको इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँ बताउँछन् । गोर्खाली सेनाले १८४३ असोज १४ मा पर्वतको राजधानी कब्जा गरेपछि बेनीको ‘राजधानी’ गुमेको थियो । बागलुङको कालिका मन्दिर र पर्वतको गुप्तेश्वर गुफा पनि यात्रीहरूको रोजाइमा पर्छन् ।

पोखरा त आफैंमा पर्यटनको राजधानी हो । त्यहाँ रहेका सुन्दर तालहरू, साहसिक पर्यटनका अवसर र विभिन्न मन्दिरले गर्दा पोखरामा घुम्न र हेर्न धेरै विषय छन् । पोखरा गण्डकी क्षेत्रमा रहेका पर्यटकीयस्थलमा जान वा घुमेपछि सुस्ताउन प्रमुख स्थल हो भन्दा पनि हुन्छ । पोखराले कुनै पनि उमेर समूहका पर्यटकलाई छुट्टै प्रकारको रमाइलो गर्न सधैं आकर्षित गरिरहन्छ । बन्दीपुरबाट गोरखा दरबार हेर्दै नवलपरासीको पूर्वी भागमा अवस्थित त्रिवेणीधाम पुग्दा एउटा उतारचढाव पूर्ण यात्रा शान्त वातावरणमा सकिन्छ । 

द्रव्य शाहबाट सुरु भएको नेपालको राजसंस्थाको इतिहास गोरखाबाटै सुरु भयो । गोरखा राज्यबाट राजकाज गरेका तत्कालीन राजाहरूले देशकाल सुहाउँदा बाँधेको थितिहरू अहिले पनि सुप्रसिद्ध छन् । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका १० पुस्ताले राजकाज सञ्चालन गरेका पुरानो राजधानी गोरखाले ऐतिहासिक जिल्लाका रूपमा महत्त्व स्थापित गरेको छ । यो ऐतिहासिक कालखण्डलाई पछ्याउँदै घुम्नुको अनुभव अतुलनीय हुन्छ ।

पुरानो राजनीतिको विरासतसँगै लिगलिगकोट, गोरखा दरबार, गोरखा संग्रहालय, गढी, किल्लासँगै पुरातात्त्विक सम्पदाको भरिपूर्णताले महत्त्व स्थापित गरेको छ । तत्कालीन मुख्तियार भीमसेन थापाले पुर्ख्यौली थलो बुंकोटघाटमा निर्माण गरेको सत्तलदेखि राणाशासनविरुद्ध पहिलो विद्रोह गर्ने लखन थापा र उनका सहयोद्धा जयहसिंह चुमी मगरको विद्रोही किल्ला परिसरसम्मका अवशेषहरूले पर्यटक लोभिन्छन् ।

२०७२ वैशाख १२ को भूकम्पले गोरखा झनै विश्वभर परिचिति बन्यो । एकनासका घर रहेको भूकम्पको केन्द्रविन्दु बारपाकले पुरानो अस्तित्व मेटाए पनि आन्तरिक पर्यटक प्रवर्द्धनमा फड्को मारेको छ । भूकम्पपछि बनेको लाप्राक एकीकृत नमुना बस्ती पुग्ने आन्तरिक पर्यटकको संख्या पनि वर्षैपिच्छे बढ्दै गएको छ । नेपालकै प्रसिद्ध मनकामना मन्दिर, मनास्लु हिमाल, अहिंसा क्षेत्रका रूपमा परिचित चुम उपत्यका, मनास्लु संरक्षण क्षेत्र जस्ता धार्मिक र पर्यटकीय दृष्टिकोणले गोरखा सुपरिचित छ । गोरखाको उत्तरी चुम उपत्यकालाई १९७७ को बुद्धजयन्ती (साका दाबा) को अवसरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो ।  

नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा वार्षिक १० लाखभन्दा बढी धार्मिक पर्यटक आउँछन् । २०७२ सालको भूकम्पपछि मनकामना मन्दिरको पुनर्निर्माण पनि भइसकेको छ । त्रिवेणीधामबाट नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज, अमलटारी क्षेत्रको गैंडा हेर्ने थलो, शाश्वतधाम र मौलाकालिका मन्दिर जस्ता ठाउँले पर्यटकीय चहलपहल बढाएको छ । 

पूर्वी नवलपरासीमा भारतीय सीमा नजिकमा पर्ने त्रिवेणीधाम, महेन्द्र राजमार्गको सबैभन्दा अग्लो स्थानमा रहेको दाउन्ने पहाड, रुद्रपुरगढी, घुमाउरीघाट, अमलटारी र पिप्रहर पनि पर्यटकको बढ्दो चहलपहल भइरहने स्थल हुन् । पछिल्लो पटक यहाँको अमलटारी क्षेत्र गैंडा हेर्ने थलो भनेर चिनिन्छ । चितवनको सौराहमा कोलाहल बढ्दै गएका कारण चितवन निकुञ्ज र त्यस आसपासको मध्यवर्ती क्षेत्रका स्थलमा गैंडा, हरिण, बाघ र बँदेल अमलटारी आसपासका क्षेत्रमा केन्द्रित छन् । 

चितवन निकुञ्जको पश्चिमी सेक्टर अमलटारी क्षेत्रमा गैंडाको संख्या बाक्लिएका कारण निकुञ्जले पूर्वी क्षेत्रमा गत वर्षदेखि नै गैंडा स्थानान्तरण सुरु गरेको छ । पर्यटन व्यवसायी तथा संरक्षणकर्मी प्रेमशंकर मर्दनियाका अनुसार अमलटारी क्षेत्रबाट जंगल सफारीमा जाँदा गैंडा हेर्ने रहर पूरा हुने गरेको छ । दुम्कौलीमा चौधरी ग्रुपले सञ्चालन गरेको शाश्वतधाम नेपाली र भारतीय पर्यटकको रोजाइमा परेको छ ।

सर्वसाधारणका लागि खुला गरिएको ७ वर्षमा यहाँ ५० लाख पर्यटकको आवागमन भएको शाश्वतधामको भनाइ छ । गैंडाकोटस्थित मौलाकालिका मन्दिर पनि यहाँको अर्को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । यहाँ बर्सेनि ६ लाखभन्दा बढी श्रद्धालु आउने मौलाकालिका मन्दिरको धार्मिक सेवा समितिका पूर्वअध्यक्ष विष्णुहरि रिमालले जनाए । श्रद्धालुहरूको घुइँचोलाई दृष्टिगत गरी नेपालका पर्यटन क्षेत्रका उद्यमी चन्द्र ढकालले करिब डेढ अर्बको लगानीमा यहाँ केबलकार निर्माण गरेका छन् । 

नेपालमै धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण तीर्थस्थल त्रिवेणीधाम पनि हो । त्रिवेणीदेखि पारि चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रमसमेत यहीं रहेका कारण यसको धार्मिक महत्त्व छ । त्रिवेणीधाममा ४० भन्दा धेरै मठमन्दिर छन् । भारतको उत्तर प्रदेश र बिहार नजिक परेका कारण पर्यटक एवं तीर्थालु नेपाल घुम्न आउने पहिलो स्थान त्रिवेणीधाम बनेको छ । 

त्रिवेणीमा बर्सेनि ५ लाखभन्दा धेरै धार्मिक पर्यटक आउने गरेको त्रिवेणी गजेन्द्रमोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले जनाए । नवलपरासी, तनहँ र चितवनको संगमस्थल देवघाटधाम वर्षौंअघिदेखि पर्यटकको प्राथमिकतामा छ । कालीगण्डकी र त्रिशूलीको संगमस्थल देवघाटमा ऐतिहासिक मठमन्दिर छन् । यी सबै स्थानले नेपालको बहुलतायुक्त संस्कृति, धार्मिक विविधता र प्राकृतिक सौन्दर्यलाई प्रदर्शन गर्दछन् । जसले पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्छन् ।

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully