हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्था, ‘प्राचीन रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’ का रूपमा परिचित कालीगण्डकी नदी भोट–तिब्बतको प्रमुख व्यापारिक मार्ग हो
काठमाडौँ — नेपालको पर्यटन क्षेत्रमा मुस्ताङदेखि त्रिवेणीसम्मको यात्रा एक अनुपम अनुभव हुन सक्छ । चीनसँग जोडिएको मुस्ताङदेखि भारतसँग जोडिएको त्रिवेणीसम्मको विविधता यात्रामा रुचि राख्नेका लागि आफैंमा अलौकिक अनुभवको भण्डार हो ।
मुस्ताङको प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्त्वले पर्यटकलाई आकर्षित गर्दछ । कालीगण्डकी नदीले बगाएका शालिग्राम ढुंगा र ऐतिहासिक मध्ययुगीन सभ्यता, गुफा र गुम्बाहरू यहाँका मुख्य आकर्षण हुन् । दामोदर कुण्ड, मुक्तिनाथ मन्दिर र उपल्लो मुस्ताङका गुम्बाले हिन्दु र बौद्ध दुवै धर्मावलम्बीलाई आकर्षित गर्छन् ।
चीन सीमावर्ती लोमन्थाङ गाउँपालिकाको पश्चिममा पर्ने मुस्ताङ हिमशृंखलाअन्तर्गतका छुआमा पिक चुङ्गेन चाङ्गा र घ्युन हिमालको ग्लेसियरबाट निक्लने न्हेचुङ खोला नै कालीगण्डकी नदीको उद्गमस्थल हो । दामोदरकुण्डबाट आउने खोला घमी गाउँको पुछारको थामसुङ क्षेत्रमा मिसिएपछि खोला कालो हुन्छ अनि कालीखोला भनिन्छ । तल मुक्तिनाथबाट झर्ने झोङखोला कागबेनीमा मिसिएपछि कालीखोला अब कालीगण्डकी नदी नामबाट चिनिन्छ । कालीगण्डकी नदीको लम्बाइ ८१४ किलोमिटरमध्ये नेपालमा ६३० किमि र बाँकी भारतमा बग्छ ।
नेपालको प्रमुख हिमनदीमध्ये एक कालीगण्डकी नदी पनि एक हो । कालीगण्डकी नदी मात्र होइन, यो धार्मिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय सभ्यता पनि हो । कालीगण्डकी नदी सभ्यता हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्था पनि हो । प्राचीन ‘रेशमी उपमार्ग’ र ‘साल्ट ट्रेड रुट’ का रूपमा परिचित कालीगण्डकी नदी भोट–तिव्बतको प्रमुख व्यापारिक मार्ग पनि हो ।
यही कालीगण्डकी मार्गबाट हुने प्राचीन ‘साल्ट ट्रेड रुट’ पछ्याउँदै गण्डकी प्रदेशको लाइफ लाइन मानिएको नवलपरासीको गैंडाकोटबाट ४ सय ३५ किमि लामो कालीगण्डकी करिडोर सडक कोरोला नाकामा पुगेर तिब्बतको झोङ्वा काउन्ट्री हुँदै २० किमिपर सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ ।
कालीगण्डकी नदी गण्डकी प्रदेशको शिरदेखि पाउसम्मका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासीसम्म बगेको छ । कालीगण्डकी नदीको उद्गम थलो उपल्लो मुस्ताङमा रहेका प्राचीन गुफा, मध्ययुगीन बस्ती र गुम्बामा मौलाएको बौद्ध सभ्यता कालीगण्डकी नदीसँगै तल घाँसासम्म फैलिएको छ ।
‘माटोको सहर’को उपमा पाएको मध्ययुगीन लोमन्थाङ बस्ती विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो । मुस्ताङका प्रायः पुराना घर माटोको छाना भएको मुन्डे छ । मुन्डे घरका छानाको डिल पानीले माटो बग्न नदिन भनी राखेको दाउराको चौघेरा मुस्ताङवासीको पहिचान र संस्कृति बनेको छ । स्थानीय भाषामा ‘फुग्’ भनिने गुफा मुस्ताङका धार्मिक एवं सामाजिक आकर्षणका केन्द्र हुन् । मुस्ताङका प्रायः सबै बस्ती नजिक भीरमा मानवनिर्मित गुफा पाइन्छन् ।
मुस्ताङको उपल्लो भेग लोमन्थाङ क्षेत्रमा विभिन्न ऐतिहासिक गुम्बा रहेका छन् । बौद्धधर्म संस्कृतिमा गुम्बालाई ‘तपो कुटी’ भनिन्छ । गुम्बाहरू प्रायः सबै पूर्वाभिमुख गरी बनाइएका छन् । गुम्बाका वास्तु शैलीले सबैलाई लोभ्याउँछ । गुम्बैगुम्बाको जिल्ला मुस्ताङको लोमन्थाङस्थित ज्यम्पा गुम्बा नेपालकै महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हो ।
मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर बौद्ध तथा हिन्दुहरूको पवित्र तीर्थस्थल हो । पौराणिक स्रोतहरूका आधारमा मुक्तिनाथको प्राचीनता २००० वर्षसम्म भएको मानिन्छ । थोरङ्ला हिमालको फेदीको ३७१० मिटर अग्लो स्थानमा अवस्थित मुक्तिनाथलाई हिन्दुहरूले मुक्ति क्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा ‘छुमङ ग्यात्सा’ अर्थात् ‘सय पानी’ भनेर पुज्छन् । हिन्दुका प्रमुख धाममध्ये मुक्तिनाथ एक हो भने बौद्धमार्गीका विभिन्न तान्त्रिक स्थानमध्ये पनि मुक्तिनाथ एक हो ।
कालीगण्डकी नदी किनारामा अवस्थित भुरुङ तातोपानी अन्नपूर्ण र धौलागिरि पदयात्राको संगमस्थल तथा मुस्ताङ प्रवेश गर्ने एकमात्र भूमार्गमा पर्छ । भुरुङ तातोपानी झोलुङ्गे तरेर कालीगण्डकी नदीपारि अर्कोर् पाउद्वार तातोपानी छ । दुई किलोमिटर तल रातोपानीमा पनि तातोपानी छ । तीन वटै तातोपानीका मुहान बेनी–जोमसोम सडक किनारामा अवस्थित छन् । तातोपानीमा आनन्द लिने बाह्य तथा आन्तरिक पर्यटकले पोखरी भरिभराउ हुन्छन् ।
यही बाटो हुँदै सन् १९०३ मा जापानका भिक्षु इकाई कावागुचीको तिब्बत यात्रापछि पर्यटकको आवागमन सुरु भएको र टोनी हेगनले गरेको प्रचारले व्यवस्थित रूपमा पर्यटकलाई आकर्षित गर्न सघाएका थिए । यात्रा अघि बढ्दै जाँदा म्याग्दीको बेनी बजार पुगिन्छ, जहाँ प्राचीन सहरको झल्को मिल्छ । यहाँ कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित बेनी शिवालय मन्दिरले ऐतिहासिक महत्त्व बोकेको छ ।
बेनी एक समयमा भारत–भोट व्यापार केन्द्र मात्र थिएन, समृद्ध चौबिसे राज्य पर्वतको राजधानी थियो । प्राचीन समयमा ‘साल्ट ट्रेड रुट’ का रूपमा परिचित बेनी, भोट–तिब्बतको सहायक व्यापारिक नाका मुस्ताङबाट तिब्बती सामान र पाल्पाबाट भारतीय सामान ल्याई विनिमय गर्ने व्यापारिक केन्द्र रहेको इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँ बताउँछन् । गोर्खाली सेनाले १८४३ असोज १४ मा पर्वतको राजधानी कब्जा गरेपछि बेनीको ‘राजधानी’ गुमेको थियो । बागलुङको कालिका मन्दिर र पर्वतको गुप्तेश्वर गुफा पनि यात्रीहरूको रोजाइमा पर्छन् ।
पोखरा त आफैंमा पर्यटनको राजधानी हो । त्यहाँ रहेका सुन्दर तालहरू, साहसिक पर्यटनका अवसर र विभिन्न मन्दिरले गर्दा पोखरामा घुम्न र हेर्न धेरै विषय छन् । पोखरा गण्डकी क्षेत्रमा रहेका पर्यटकीयस्थलमा जान वा घुमेपछि सुस्ताउन प्रमुख स्थल हो भन्दा पनि हुन्छ । पोखराले कुनै पनि उमेर समूहका पर्यटकलाई छुट्टै प्रकारको रमाइलो गर्न सधैं आकर्षित गरिरहन्छ । बन्दीपुरबाट गोरखा दरबार हेर्दै नवलपरासीको पूर्वी भागमा अवस्थित त्रिवेणीधाम पुग्दा एउटा उतारचढाव पूर्ण यात्रा शान्त वातावरणमा सकिन्छ ।
द्रव्य शाहबाट सुरु भएको नेपालको राजसंस्थाको इतिहास गोरखाबाटै सुरु भयो । गोरखा राज्यबाट राजकाज गरेका तत्कालीन राजाहरूले देशकाल सुहाउँदा बाँधेको थितिहरू अहिले पनि सुप्रसिद्ध छन् । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका १० पुस्ताले राजकाज सञ्चालन गरेका पुरानो राजधानी गोरखाले ऐतिहासिक जिल्लाका रूपमा महत्त्व स्थापित गरेको छ । यो ऐतिहासिक कालखण्डलाई पछ्याउँदै घुम्नुको अनुभव अतुलनीय हुन्छ ।
पुरानो राजनीतिको विरासतसँगै लिगलिगकोट, गोरखा दरबार, गोरखा संग्रहालय, गढी, किल्लासँगै पुरातात्त्विक सम्पदाको भरिपूर्णताले महत्त्व स्थापित गरेको छ । तत्कालीन मुख्तियार भीमसेन थापाले पुर्ख्यौली थलो बुंकोटघाटमा निर्माण गरेको सत्तलदेखि राणाशासनविरुद्ध पहिलो विद्रोह गर्ने लखन थापा र उनका सहयोद्धा जयहसिंह चुमी मगरको विद्रोही किल्ला परिसरसम्मका अवशेषहरूले पर्यटक लोभिन्छन् ।
२०७२ वैशाख १२ को भूकम्पले गोरखा झनै विश्वभर परिचिति बन्यो । एकनासका घर रहेको भूकम्पको केन्द्रविन्दु बारपाकले पुरानो अस्तित्व मेटाए पनि आन्तरिक पर्यटक प्रवर्द्धनमा फड्को मारेको छ । भूकम्पपछि बनेको लाप्राक एकीकृत नमुना बस्ती पुग्ने आन्तरिक पर्यटकको संख्या पनि वर्षैपिच्छे बढ्दै गएको छ । नेपालकै प्रसिद्ध मनकामना मन्दिर, मनास्लु हिमाल, अहिंसा क्षेत्रका रूपमा परिचित चुम उपत्यका, मनास्लु संरक्षण क्षेत्र जस्ता धार्मिक र पर्यटकीय दृष्टिकोणले गोरखा सुपरिचित छ । गोरखाको उत्तरी चुम उपत्यकालाई १९७७ को बुद्धजयन्ती (साका दाबा) को अवसरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो ।
नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा वार्षिक १० लाखभन्दा बढी धार्मिक पर्यटक आउँछन् । २०७२ सालको भूकम्पपछि मनकामना मन्दिरको पुनर्निर्माण पनि भइसकेको छ । त्रिवेणीधामबाट नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज, अमलटारी क्षेत्रको गैंडा हेर्ने थलो, शाश्वतधाम र मौलाकालिका मन्दिर जस्ता ठाउँले पर्यटकीय चहलपहल बढाएको छ ।
पूर्वी नवलपरासीमा भारतीय सीमा नजिकमा पर्ने त्रिवेणीधाम, महेन्द्र राजमार्गको सबैभन्दा अग्लो स्थानमा रहेको दाउन्ने पहाड, रुद्रपुरगढी, घुमाउरीघाट, अमलटारी र पिप्रहर पनि पर्यटकको बढ्दो चहलपहल भइरहने स्थल हुन् । पछिल्लो पटक यहाँको अमलटारी क्षेत्र गैंडा हेर्ने थलो भनेर चिनिन्छ । चितवनको सौराहमा कोलाहल बढ्दै गएका कारण चितवन निकुञ्ज र त्यस आसपासको मध्यवर्ती क्षेत्रका स्थलमा गैंडा, हरिण, बाघ र बँदेल अमलटारी आसपासका क्षेत्रमा केन्द्रित छन् ।
चितवन निकुञ्जको पश्चिमी सेक्टर अमलटारी क्षेत्रमा गैंडाको संख्या बाक्लिएका कारण निकुञ्जले पूर्वी क्षेत्रमा गत वर्षदेखि नै गैंडा स्थानान्तरण सुरु गरेको छ । पर्यटन व्यवसायी तथा संरक्षणकर्मी प्रेमशंकर मर्दनियाका अनुसार अमलटारी क्षेत्रबाट जंगल सफारीमा जाँदा गैंडा हेर्ने रहर पूरा हुने गरेको छ । दुम्कौलीमा चौधरी ग्रुपले सञ्चालन गरेको शाश्वतधाम नेपाली र भारतीय पर्यटकको रोजाइमा परेको छ ।
सर्वसाधारणका लागि खुला गरिएको ७ वर्षमा यहाँ ५० लाख पर्यटकको आवागमन भएको शाश्वतधामको भनाइ छ । गैंडाकोटस्थित मौलाकालिका मन्दिर पनि यहाँको अर्को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो । यहाँ बर्सेनि ६ लाखभन्दा बढी श्रद्धालु आउने मौलाकालिका मन्दिरको धार्मिक सेवा समितिका पूर्वअध्यक्ष विष्णुहरि रिमालले जनाए । श्रद्धालुहरूको घुइँचोलाई दृष्टिगत गरी नेपालका पर्यटन क्षेत्रका उद्यमी चन्द्र ढकालले करिब डेढ अर्बको लगानीमा यहाँ केबलकार निर्माण गरेका छन् ।
नेपालमै धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण तीर्थस्थल त्रिवेणीधाम पनि हो । त्रिवेणीदेखि पारि चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रमसमेत यहीं रहेका कारण यसको धार्मिक महत्त्व छ । त्रिवेणीधाममा ४० भन्दा धेरै मठमन्दिर छन् । भारतको उत्तर प्रदेश र बिहार नजिक परेका कारण पर्यटक एवं तीर्थालु नेपाल घुम्न आउने पहिलो स्थान त्रिवेणीधाम बनेको छ ।
त्रिवेणीमा बर्सेनि ५ लाखभन्दा धेरै धार्मिक पर्यटक आउने गरेको त्रिवेणी गजेन्द्रमोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले जनाए । नवलपरासी, तनहँ र चितवनको संगमस्थल देवघाटधाम वर्षौंअघिदेखि पर्यटकको प्राथमिकतामा छ । कालीगण्डकी र त्रिशूलीको संगमस्थल देवघाटमा ऐतिहासिक मठमन्दिर छन् । यी सबै स्थानले नेपालको बहुलतायुक्त संस्कृति, धार्मिक विविधता र प्राकृतिक सौन्दर्यलाई प्रदर्शन गर्दछन् । जसले पर्यटकलाई अविस्मरणीय अनुभव प्रदान गर्छन् ।
