ब्रिटिस इन्डियाले सन् १८१६ देखि गोर्खालीलाई आफ्नो सेनामा लिन थालेपछि नै यस क्षेत्रका मतवालीहरू खासगरी गुरुङ, मगर, ठकुरी र केही संख्यामा तामाङले बेलायती सेनामा जाने परम्परालाई निरन्तरता दिएको देखिन्छ, जसमा सन् १९०० वरपरबाट क्षेत्रीहरूले प्रवेश पाएका थिए
गण्डकी प्रदेशको कुरा गर्दा यहाँको लाहुरे संस्कृति र लाहुरेहरूले समाज र अर्थतन्त्रमा गरेको योगदान तथा पारेको प्रभावलाई नसम्झे सम्पूर्ण विषय नै अधुरो रहन्छ । गण्डकीका मनाङ र मुस्ताङ जिल्लाका मुख्य स्थानबाहेक त्यस्तो कुनै गाउँ छैनन्, जहाँ लाहुरेको प्रभाव नहोस् ।
यहाँ लाहुरेको कुरा गर्दा दुई थरी लाहुरे बुझ्नु जरुरी छ । परम्परागत रूपमा भारतीय या बेलायती सेनामा सेवा गरेका फौजीहरू र भारतका सहरहरूमा गैरसैनिक क्षेत्रमा सेवा गरेकाहरू पहिलो पंक्तिमा पर्छन् । दोस्रो पंक्तिमा सन् १९९० यता सरकारको नीतिगत प्राथमिकतामा परेपछि श्रम आप्रवासनमा अरब देशहरू, इजरायल, मलेसिया र कोरियालगायत देश जाने र बेलायतले हङकङ छाड्ने बेलामा लिएका नीतिका कारण त्यता पुग्नेहरू पर्छन्, जसले आजको पोखराको जनसांख्यिक, आर्थिक र सांस्कृतिक जीवनलाई प्रभावित गरिरहेका छन् । पछिल्लो समय अमेरिका, क्यानडा, युरोपका विभिन्न देश र अस्ट्रेलिया पुगेर रेमिट्यान्स पठाउनेहरू पनि देशका अरू धेरै भागमा जस्तै यहाँको जीवनलाई प्रभावित गर्नेमा पर्छन् ।
इतिहासतिर फर्कंदा
गण्डकी क्षेत्रको अर्थतन्त्र र समाजशास्त्रलाई नयाँ रूप परम्परागत लाहुरेहरूले नै दिएका हुन् । यस क्षेत्रका कर्णबहादुर राना मगर, लालबहादुर थापा (बागलुङ), तुलबहादुर पुन (म्याग्दी), थमन गुरुङ, भानुभक्त गुरुङ र गजे घले (गोरखा), नेत्रबहादुर थापा र शेरबहादुर थापा तनहुँ गरी ८ जना ब्रिटिस गोर्खाहरूले भिक्टोरिया क्रस पाएका थिए । जम्मा १३ नेपालीले यो सम्मान पाएकोमा ८ जना गण्डकी क्षेत्रका हुनुले नै यस क्षेत्रमा लाहुरे परम्परा के कस्तो थियो भन्ने संकेत गर्छ ।
गण्डकी गुरुङको आदि थलो र मुख्य बसोबासको क्षेत्र हो । मगर पनि यस क्षेत्रका आदिवासीमा पर्छन् । बेलायतले आरम्भमा क्षेत्रीलाई भर्ती नलिने गरी बनाएका मार्सल रेस आधारित नीतिको प्रभावले पनि गुरुङ र मगरहरू भर्ती परम्परामा अगाडि रहेका हुन सक्छन् र यसको प्रभाव पनि यी जनजातिमा बढी छ । पछिल्लो समय पोखरास्थित भारतीय पेन्सन क्याम्प र जिल्लामा हुने अस्थायी पेन्सन वितरण शिविरमा पेन्सन बुझ्ने समयतिर गयो भने यस क्षेत्रका क्षेत्रीको भारतीय सेनामा वर्चस्व देखिन्छ ।
ब्रिटिस गोर्खा ब्रिगेडमा अंग्रेजहरूले गुरुङ, मगर, राई र लिम्बूलाई प्राथमिकता दिने ब्रिगेडहरू नै बनाएकाले त्यता क्षेत्रीहरू निकै कम भर्ती हुन पाएका छन् । ब्रिटिस इन्डियाले सन् १८१६ देखि गोर्खालीलाई आफ्नो सेनामा लिन थालेपछि नै यस क्षेत्रका मतवालीहरू खासगरी गुरुङ, मगर, ठकुरी र केही संख्यामा तामाङले बेलायती सेनामा जाने परम्परालाई निरन्तरता दिएको देखिन्छ, जसमा सन् १९०० वरपरबाट क्षेत्रीहरूले प्रवेश पाएका थिए ।
सन् १९४७ पछि ब्रिटिस र भारतीय फौज दुवैतिर सेवा गर्दै आएका गोर्खाहरू अहिले ब्रिटिस सेनामा ३५ सय जति, भारतीय फौजमा ३५ हजार जति र सिंगापुर पुलिसमा २५ सय जतिले नियमित सेवा गरिरहेका छन् । त्यसको मुख्य आपूर्ति गण्डकी क्षेत्रबाटै भएको छ तर गण्डकीमै कति लाहुरे छन् या थिए भन्ने तथ्यांक उपलब्ध छैन । पोखरास्थित भारतीय पेन्सन क्याम्पको आकार र नेपालमा ब्रिटिस गोर्खा रिक्रुट गर्ने एउटा मात्र डिपो पोखरामै रहनुले पुष्टि गर्छ कि गण्डकी लाहुरेहरूको मूल थलो हो ।
रेकर्डेड इतिहास हेर्दा आदि लाहुरे मानिने भूपालसिंह थापा (बडाकाजी अमरसिंह थापाका छोरा) गोर्खाकै थिए जसले आफ्ना भान्जा बलभद्र कुँवरलाई पनि पञ्जाबी राजा रणजित सिंहको सेनामा सामेल हुन लाहोर जान प्रेरित गरेका थिए । पञ्जाबको सेनामा सेवा गर्न लाहुर जाने र पछि ब्रिटिस इन्डिया, स्वतन्त्र भारत र ब्रिटिस साम्राज्यको सैन्य सेवामा जानेहरूले लाहुरे परम्परा बनाएका हुन् ।
भारतमा ब्रिटिसहरूले रेलसेवाको विस्तार गरेसँगै त्यता विकास भएका कलकत्ता, बम्बै र दिल्ली जस्ता महानगरहरूमा गैरसैनिक क्षेत्रमा श्रम गर्न जाने नेपालीहरू पनि लाहुरे परम्पराका अभिन्न अंग बने । लाहुरे शब्दले खासमा यिनीहरूलाई नै चिनाउँछ ।
प्रभाव
सिद्धार्थ राजमार्ग बन्नुअघि पोखरा, भैरहवा नियमित उडान हुने गरेको थियो जसलाई भर्तीवाल लाहुरेले थेगेका थिए । भारतले सुनौली–पोखरा राजमार्ग बनाइदिएको पनि यस क्षेत्रबाट भारतीय सेनामा जानेहरूको संख्याकै कारणले हो । राजमार्ग बनेसँगै बटौली खस्यौलीसम्म नुनतेल गर्न जानेहरू मात्र होइन हिँडेर भर्ती जानेहरू र फर्कनेहरूले सहज यात्रा गर्न पाएका थिए । यो सडकले गल्याङ, वालिङ, पुतलीबजार जस्ता अर्ध सहरी इलाकाको विकासमा योगदान दिएको छ ।
लाहुरेहरूको योगदान विशिष्ट प्रकृतिको छ । यस भेगबाट लाहुरे भएर विश्वका अरू देशको विकास र सामाजिक सांस्कृतिक रहनसहन देखेर प्रभावित हुनेहरूले फर्कंदा अनेक संस्कृति भित्र्याए । सयौंले गाउँमा फर्केपछि विद्यालय खोल्ने, शिक्षकका रूपमा काम गर्ने, गाउँको बाटोघाटो र सामाजिक कार्यमा सक्रियता देखाउने गरेका थिए ।
मैले चिनेका दर्जनौं भारतीय लाहुरेहरूले गाउँमा प्रधानपञ्च या गाविस अध्यक्ष भएर सक्रियतापूर्वक राजनीतिक सामाजिक कामको नेतृत्व गरेका थिए, अझै गर्दैछन् । सरदार भीमबहादुर पाँडेको संस्मरणात्मक पुस्तकअनुसार नेपालका पहाडमा रक्सी र तासको संस्कृति लाहुरेहरूले हुलेका हुन् । चिया पिउने चलन गाउँमा पुग्नुमा उनीहरूको योगदान छ । सिंगापुरे लुंगी लगाउन गण्डकीका मगर, गुरुङ र तामाङ महिलाले मलाया जान थालेपछि सिकेका हुन् ।
पोखरामा सन् १९५५ देखि पेन्सन वितरण सुरु भएपछि लाहुरेहरूले पोखरालाई आफ्नो स्थायी बासस्थानमा बदल्ने क्रम आरम्भ भएको हो । १९६० देखि पेन्सन वितरण क्याम्प रामबजारमा स्थायी रूपमा सञ्चालन भएपछि भारतीय सेनाका कर्णेल या लेफ्टिनेन्ट कर्णेलले नेतृत्व गर्ने गरी सैन्य क्याम्प बस्न थाल्यो । यसले यहाँको सहरीकरणलाई प्रभाव पारेको थियो । क्याम्प बसेसँगै परोपकारका काममा पनि भारतीय सरकारका कार्यक्रम लागू गरियो । २०१३ सालमा स्थापित सोल्जरबोर्ड हाईस्कुल, अहिलेको अमरसिंह स्कुलको थालनी त्यही क्रममा भएको हो । अहिले पनि भारतीय पेन्सन क्याम्पको प्रत्यक्ष लगानी र सञ्चालनमा नेपाल–भारतमैत्री विद्यालय पोखरामा सञ्चालित छ ।
पहिले पक्लिहवामा रहेको ब्रिटिस रिक्रुट डिपो पोखरा सरेपछि यसले अर्को चरणको सहरीकरणमा प्रभाव पारेको थियो । धरानको ब्रिटिस डिपो पनि पोखरामै गाभिएपछि देशभरका ब्रिटिस गोर्खामा रिक्रुट हुन चाहनेहरू पोखरा नआई भएन । पेन्सनरहरूको सुविधाका लागि बनेका सानासाना भट्टीहरू अहिलेको रामबजारको पूर्वरूप थिए ।
म २०३० सालतिर पोखरा गएको बेला बाले रामबजारमा गाउँकी मंगली तामाङको भट्टीमा साँझ बास बस्न लिएर जानुभएको सम्झन्छु । अहिलेको पोखरा बसपार्कको सुकुम्बासी बस्ती पहिले जहाजबाट र पछि बसबाट भैरहवा हुँदै आउने लाहुरेहरूलाई लक्षित गरेर बसेका भट्टी र खाजा पसल या होटलहरूको विस्तारित रूप हो । भारतीय सरकारको सहयोगमा बनेको सोल्जरबोर्ड स्कुलले शिक्षाका लागि गाउँबाट सहर झर्नेहरूको एउटा ठूलो हिस्सालाई आकर्षित गर्थ्यो ।
२०७९ पछि दोस्रो करियरका रूपमा ब्रुनाईको सुल्तानको सेवामा जान पाएका ब्रिटिस लाहुरेहरूले हो, पोखरा भरिभराउ बनाएको । अहिलेको बगर, दीप, नदीपुर, बाँझापाटन, माटेपानी, भद्रकाली, लालीगुराँस टोल, अर्चलबोट, रामबजार, बिरौटा, छोरेपाटन, रामघाट, रानीपौवा, फूलबारीलगायत क्षेत्रको बस्ती विस्तार र विकासमा लाहुरेको ठूलो भूमिका छ । यस्तो प्रभाव बेनी, बागलुङ, दमौली, खैरेनी, वालिङ, बेसीसहर, पुतलीबजार, गोरखालगायत सहर बजारको विस्तारमा पनि परेको छ ।
१९९० अगाडि पोखराका बोर्डिङ स्कुलहरूको मुख्य स्रोत लाहुरेका सन्तान नै थिए । ब्रिटिस आर्मीबाट रिटायर्ड क्या. टेकनसिंह गुरुङले पोखरा भद्रकालीमा बोर्डिङ स्कुल खोलेका थिए । भद्रकाली स्कुल/कलेजको अहिलेको रूप बन्नुमा क्याप्टेन गुरुङको महत्त्वपूर्ण योगदान छ । उनको एउटा छोरा लागूपदार्थ कुलतमा फसेपछि क्याप्टेनको एकप्रकारको दुखान्त भयो । यो यहाँ किन अर्थपूर्ण छ भने नब्बेको दशकमा पोखरामा कुलतमा फस्ने युवाको स्रोतका रूपमा पनि लाहुरेका परिवारलाई लिइन्थ्यो ।
भारतीय सेनाबाट निवृत्त स्याङ्जा सिरुबारीका क्या. रुद्रमान गुरुङ (जो ०४८ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद पनि थिए) लाई नेपालमा ग्रामीण पर्यटनको विकासको जग हालेको जस जान्छ । उनले नै सिरुबारीलाई होमस्टे गाउँका रूपमा स्थापित गरेका थिए, जसलाई नेपालको होमस्टे पर्यटनको पायनियर मानिन्छ । सिरुबारीबाटै प्रभावित भएर अहिले घलेगाउँ अर्को महत्त्वपूर्ण होमस्टे गन्तव्य बनेको छ र गण्डकीका सबै भेगमा होमस्टे ग्रामीण पर्यटनको एउटा माध्यम बनेको छ ।
पोखराको सांस्कृतिक क्षेत्रमा उल्लेख्य र ऐतिहासिक भूमिका खेलेको डाँफेकला मन्दिर पनि पूर्वलाहुरे मीनबहादुर गुरुङले स्थापना र सञ्चालन गरेका हुन् । नियमित रूपमा टिकटमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने र लामा छोटा नाटकहरू व्यावसायिक रूपमा मञ्चन गर्ने जस उनैलाई जान्छ । मलाई डाँफेकला मन्दिरमा २०३५ तिर केही नाटक हेरेको सम्झना छ । यो संस्थाले धेरै संस्कृतिकर्मीहरू उत्पादन गरेको थियो । पछि गुरुङ सिनेमा निर्माणमा पनि यसको अग्रणी भूमिका थियो ।
लाहुरे नै हुन्, २००७ सालको क्रान्तिका एक कमान्डर पर्वतका चित्रबहादुर गुरुङ । उनले पछि कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भएर जीवन पर्यन्त योगदान गरे । यी केही उदाहरणमात्र हुन्, जसले गण्डकीमा लाहुरेहरूको सामाजिक भूमिका उजागर गर्छन् ।
लाहुर र लाहुरेले यहाँको लोकसंस्कृति र लोकगीतमा पारेका प्रभाव जबर्जस्त छन् । झलकमान गन्धर्बको हे बरै.... गीतदेखि हरिदेवी कोइराला, पुरुषोत्तम न्यौपाने, बिमाकुमारी दुरासम्म धेरैले लाहुरे बिम्बलाई आधार बनाएर गाएका अनेकौं गीत छन्, जसले यहाँको माटोको सुगन्ध बोक्छन् जहाँ लाहुरेको प्रभाव छ । पछिल्लो लाहुरे बिम्बको धारिलो भाव प्रकाश सपुतको बोल माया एकफेर बोल.. भन्ने गीतमा अभिव्यक्त छ । गीतकार चेतन कार्की र पोखरास्थित पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा. वीरेन्द्र गुरुङ पनि गोर्खा भर्तीले उपलब्ध गराएको अध्ययनका अवसरका उपजहरू हुन् ।
हर्क गुरुङले १९६० को दशकको आरम्भमा गरेको सिक्लेसका घरहरूको बयान र त्यसको २० वर्षजति पछि मैले हेरेको/देखेको लेकाली गुरुङ गाउँहरूको तुलना गर्दा भारतीय सेनामा कार्यरत लाहुरेहरूले ल्याउन थालेको पैसाले यी गाउँमा साना झुपडीबाट ढुंगे छाना भएका दुईपाखे चिटिक्कका घरहरू बन्न थालेका हुन् । ब्रिटिस लाहुरेहरूले पनि पहिले कमाएको धन जे जति छ गाउँमै लान्थे र घरजग्गा जोड्थे । पहिलो विश्वयुद्धबाट फर्केकाहरूले जग्गा किन्न थालेपछि बेसीका खेतहरू पनि गुरुङ मगरहरूको हातमा जान थालेको भनेर खगेन्द्रजंग गुरुङले मसँग बताएका थिए । यो त्यस भेगको अर्थ–राजनीतिक परिवर्तनको एउटा कारण बनेको थियो ।
पोखरामा घरहरूको परम्परागत आर्किटेक्टमा पहिलो सघन हस्तक्षेप लाहुरेहरूले गरेका थिए । पोखराको रेस्टुरेन्ट कल्चर, रात्रि जीवनका अनेक क्षेत्रहरू, डिपार्टमेन्टल पसलको कल्चर प्रचलित गराउनमा पनि लाहुरेको भूमिका छ । संस्थागत व्यवसायका क्षेत्रमा पनि भूपू यातायातका बस सेवा, भूपू पेट्रोलपम्प सञ्चालनमा आएका थिए । ब्रिटिसहरूले बनाइदिएको लुम्ले कृषिकेन्द्र यस क्षेत्रको कृषिमा आधुनिक ज्ञान भित्र्याउने एउटा महत्त्वपूर्ण संस्था हो ।
बसाइँ सराइलाई प्रभावित गरेको लाहुरेहरूको यो प्रभाव पोखराको सामाजिक आर्थिक जनजीवन, राजनीतिक शक्ति सन्तुलनमा पनि देख्न सकिन्छ । पछिल्लो समय भने ब्रिटिस लाहुरेहरू बेलायततिरै बस्न थालेकाले अत्यधिक पैसावाल लाहुरेहरू कम भएका छन् । यसैगरी जापान, कोरिया, जर्मन गएर (बीचमा इराक र अफगानिस्तान गएर फर्केकाहरूसमेत) पैसा कमाउनेहरूले सहरका मुख्य बस्तीमा प्रभाव जमाएका छन् भने अरब, मलेसिया जाने लाहुरेहरूले चाहिँ पेरिफेरीका बस्ती विस्तारमा योगदान गरेका छन् ।
तीन वर्षयता भारतले लागू गरेको अग्निपथ योजनापछि भारतीय फौजमा नेपाली भर्ती हुने परम्परामा ब्रेक लागेको छ । तर भारत पुगेर सिधा सम्पर्कमा जाने र भर्ती हुने चलन रोकिएको छैन । पोखरामा अहिले पनि धेरै ब्रिटिस सेनामा भर्ती हुन चाहनेका लागि रिक्रुट तालिम केन्द्रहरू देखिन्छन् । बिहानबिहान डोकोमा गहुँगो सामान बोकेर भर्तीका लागि दौडिरहेका सयौं युवा देखिन्छन् । यसले प्रत्यक्ष रूपमा लाहुरको प्रभाव या संस्कृति झल्काउँछ । कम्तीमा आउने सय वर्ष गण्डकीलाई लाहुर, लाहुरे संस्कृति र त्यसको अर्थ–सामाजिक प्रभावबाट अलग्याएर हेर्न सक्नु हुने छैन ।
(सुवेदीकाे 'ब्रिटिस साम्राज्यका नेपाली मोहरा, गाेर्खा भर्तीको नालीबेली' पुस्तक प्रकाशित छ ।)
